November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

युवराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ’ लोकार्पित

570

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष कवि एवम् गीतकार युवराज अधिकारीको नयाँ कवितासंग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ लोकार्पण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यता र अमरेशकुमार सिंह, महेश बस्नेत, वरिष्ठ कवि तुलसी दिवस, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ लगायतको विशिष्ट आतिथ्यतामा कृतिको लोकार्पण गरिएको हो ।

इन्डिगो इन्क प्रा.लि.ले प्रकाशन गरेको ‘युद्ध, युद्ध नै हुन्छ’ कृतिबारे बोल्दै प्रमुख अतिथि पाण्डेले ‘युद्ध, युद्ध नै हुन्छ’ कविताकृतिले समकालीन विश्वको पीडा उजागर गरेको बताए । ‘युद्ध कुनै पनि कोणबाट स्वीकार्य हुँदैन’ भन्ने सन्देश अधिकारीको कविताले दिन खोजेको उनले बताए ।

यसैगरी वरिष्ठ कवि तुलसी दिवसले संग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै कवि अधिकारीको कवितामा समकालीन चेतना र यथार्थको गहिरो अभिव्यक्ति रहेको बताए । निर्देशक तथा लेखक प्रकाश सायमीले अधिकारीको समग्र लेखन यात्राबारे बोलेका थिए ।

Advertisement

लोकार्पित कृतिका सर्जक युवराज अधिकारीले आफ्नो लेखन यात्राको वर्णन गर्दै कविता भनेको माटोको सुगन्ध बोकेर जनमानससम्म पुग्ने माध्यम भएको टिप्पणी गरे । उनले आफ्ना केही थान कविता पनि सुनाएका थिए ।

कार्यक्रममा अभिनेता क्याप्टेन विजय लामाले लोकार्पित कृतिबाट ‘युद्ध, युद्ध नै हुन्छ’ वाचन गरेका थिए भने अभिनेता निखिल उप्रेतीले ‘जिन्दगी यस्तै त हो कान्छा’ वाचन गरेका थिए ।

कवि राजेन्द्र शलभले स्वागत गरेको उक्त कार्यक्रममा कलाकार वीरेन्द्र हमालको निर्देशनमा कवि अधिकारीको कविता ‘जिन्दावाद र मुर्दावादको सहरमा कोही आउने छ’ को नाट्यमञ्चन गरिएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सहजीकरण गरेको सो कार्यक्रम एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा सम्पन्न भएको थियो ।