पशुपतिनगर, इलाम । कविता राई गाउँलेको कवितासंग्रह ‘फाटकमा घाम’ विमोचन भएको छ । सूर्योदय २ पशुपतिनगर निवासी कवि गाउँलेको संग्रह फिकलमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।
सूर्योदय गजल मञ्चको आयोजना तथा पाथीभरा मिडिया प्रा.लि.को सह–आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भारतका साहित्यकार कवि मनप्रसाद सुब्बा थिए । उक्त कृतिको विमोचन गर्दै सुब्बाले गाउँलेका प्रत्येक कवितामा जनजीविकाका सवाल जोडिएको बताए । उनले नेपाल–भारतबीच साहित्यको गहिरो सम्बन्ध रहेको पनि बताए ।
कार्यक्रममा कृतिकार गाउँलेले आफैंले देखे–भोगेका कुरालाई कवितामा उतारेको जानकारी दिए । ‘समाजका विभिन्न पक्षलाई समेटेर सङ्ग्रहको रूपमा प्रकाशन गरेको हुँ, पाठकले मनपराइदिनु हुन्छ भन्नेमा विश्वस्त छु,’ गाउँलेले बताईन् ।
उक्त सङ्ग्रहमाथि इलामका कवि हाङयुग अज्ञात, सिक्किमका कवि प्रविन खालिङ र प्राज्ञ शशी लुमुम्बुले समीक्षा गरेका थिए । कवि हाङयुग अज्ञातले उक्त सङ्ग्रहमा समेटिएका कविताले नेपाल–भारत सीमा क्षेत्रको यर्थाथलाई चित्रण गरेको बताए ।
विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतष्ठानका भाषा विभाग संयोजक प्राज्ञ राजन मुकारुङ, प्राज्ञ सुमित्रा चेली वाङदेल, साहित्यकार कृष्ण बराल, सूर्योदय नगरपालिका सामाजिक विकास समितका संयोजक डिक बम्जन, पत्रकार केदार शर्मा लगायतले सङ्ग्रहको चर्चा गरेका थिए ।




