November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘सम्झनाको चोमोलुङ्मा’ जनताको कविता: कुलपति राई

1.5K

काठमाडौं । कवि रोशन यक्सोको कवितासंग्रह ‘सम्झनाको चोमोलुङ्मा’ लोकार्पण भएको छ । शनिबार अनामनगरस्थित युनियन हाउसमा आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, विशिष्ट अतिथिहरू संचारिका समूहकी केन्द्रीय अध्यक्ष बिमला तुम्खेवा, साहित्यकार सकुन्तला जोशी र कवि यक्सोको बाहुलीबाट संग्रह लोकार्पण गरिएको हो ।

‘सम्झनाको चोमोलुङ्मा’ माथि बोल्दै प्रमुख अतिथि कुलपति राईले यक्सोको कविता जनताको कविता भएको टिप्पणी गरे । ‘पहिला चाहीँ कस्तो थियो भने कुनै कवि नै स्पुतनिक यात्रा गरेजस्तो, यात्रामा उड्ने कविजस्तो बनाइन्थ्यो के समाजमा । अनि जनताबाट कट्टी हुन्थ्यो । जनताको दुःखबाट पीडाबाट कट्टी हुन्थ्यो । तर कविहरू, साहित्यकारहरू भनेको जनतासँग जोडिनुपर्छ, जनताको भाषा बोल्नुपर्छ । जनताको दुःख पीडा, उत्पीडनहरू बोल्नुपर्छ भन्ने मान्यता विस्तारै स्थापित भयो’, उनले भने,‘अबको कविताको धार भनेको जनता हुन् । मलाई के लाग्छ भने, रोशन यक्सोको जति कविता पढिए, रोशन यक्सोको कविताहरू जनताका कविताहरू हुन् ।’

कुलपति राईले प्रवासमा बसेर कविता लेख्नेहरू, सृजना गर्नेहरुले नेपाललाई झकझकाउने, ब्युँझाउने गरिरहेको उल्लेख गर्दै त्यसमध्ये रोशन यक्सोको कविता पनि रहेको बताए ।

Advertisement

कृतिमाथि संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा र साहित्यकार सकुन्तला जोशीले समिक्षा गरेका थिए । उनीहरुले यक्सोको कवितामा सबै विषयमाथि समानन्तर विचार प्रस्तुत हुनुका साथै समाज रुपान्तरणका लागि भएका बिभिन्न आन्दोलनहरूको प्रतिबिम्ब भएको धारणा राखेका थिए ।

यक्सो पछिल्लो समय हङकङमा रहँदै आएका छन् । हङकङ साहित्यक साझा शृङ्खलाका सहसंयोजक यक्सोको यो प्रकाशित पहिलो कृति हो ।आफ्ना आमाबुबालाई मञ्चमा आसिन गराई संग्रह विमोचन गरेका उनले उपस्थित सबैप्रति आभार प्रकट गर्दै इमान्दार प्रतिक्रियाको अपेक्षा रहेको बताए ।

कार्यक्रममा कवि रीमा केसी र एलिसा एकलासले ‘सम्झनाको चोमोलुङ्मा’बाट कविता वाचन गरेका थिए । आयोजक सम्भव समूहले कृतिकार यक्सो, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र कविता वाचन गर्ने कविहरूलाई सम्मानपत्र प्रदान गरेको थियो ।

कार्यक्रमलाई सम्भव समूहका सदस्य कवि संजीत फलानाले सहजीकरण गरेका थिए ।