काठमाडौं । हेम-सरिता पाठक फाउन्डेसनले पाँच सर्जकलाई सम्मान गरेको छ । आइतबार प्रज्ञाभवनमा आयोजित कार्यक्रममा पत्रकारिता, गीत र कविता विधाका ५ सर्जकलाई ४ लाख नगदसहित सम्मान गरेको हो।
फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंहले सो पुरस्कारहरु प्रदान गरेका थिए।
जसमा ‘टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कार’बाट पत्रकारहरु मातृका दाहाल र दीपा दाहाल पुरस्कृत भएका थिए ।उक्त पुरस्कार राशी दुई लाख रहेको थियो ।
यसैगरी १ लाख राशिको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगी संयुक्त पुरस्कृत भए । उनीहरूले ‘जनतालाई रुवायो’ गीतका लागि सो पुरस्कार पाएका हुन् ।
यसैगरी नगद १ लाख राशि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत भएका थिए भने उत्कृष्ट २५ कविहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।
कार्यक्रममा ‘भ्रष्टाचार विरुद्धका कविता’ पुस्तक पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. अमरेशकुमार सिंह, हेम–सरिता पाठक फाउन्डेसनकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, पूर्व सांसद नवराज सिलवाल, बाग्मती प्रदेशका पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, राप्रपाका महामन्त्री शरदराज पाठक, पूर्व आइजिपी सर्वेन्द्र खनाल, फाउन्डेसनका प्रमुख सल्लाहकार एंव वरिष्ठ गायक प्रेमराजा महत, सामाजिक अभियन्ता टेकराज पौडेल, चर्चित कलाकार लय संग्रौला, पुरस्कृत पत्रकारहरु मातृका दाहाल र दीपा दाहाल लगायतले आआफ्नो मन्तव्य राखेका थिए।
हेम-सरिता पाठक फाउन्डेसनका महासचिव राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्त्वमाथि प्रकाश पार्दै पुरस्कृतहरुको योगदानबारे बोलेका थिए।
कार्यक्रममा पुरस्कृत कवि तोया भट्ट र सिस्नुपानी नेपालका अध्यक्ष लक्षमण गाम्नाङेले भ्रष्टाचारविरुद्धको कविता वाचन गरेका थिए भने गायक तथा सङ्गीतकारहरू नारायण रायमाझी, वी. वी. अनुरागी, कृष्ण कडेल र नवीन पौडेलले भ्रष्टाचारविरुद्धको गीत गाएका थिए। राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान नेपालको ओमकारेश्वर भजन समूहले भ्रष्टाचारविरुद्धको भजन प्रस्तुत पनि गरेका थिए।
ठाकुर बेलवासेले सहजीकरण गरेको सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल, पूर्व रक्षा सचिव देवेन्द्र सिटौला, फाउन्डेसनकी संरक्षक सरिता पाठक, सल्लाहकारहरु तीर्थ कोइराला, रमेश खरेल (पूर्व डिआइजी), गीतकार एवं समाजसेवी शोभित उप्रेती, समाजसेवी राम सिवाकोटीलगायतको बाक्लो उपस्तिथि रहेको थियो ।




