November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बैरागीको ‘साहीमासा’ गृह जिल्लामा विमोचन

1.2K

रोल्पा, थबाङ गाउँपालिका -३ मिरुल, दाइपोमा जन्मिएका कवि समीप बैरागी द्वारा लिखित कविता संग्रह ´साहीमासा` को गृहविमोचन समारोह यही बैशाख १७ गते रोल्पा नगरपालिका लिबाङमा सम्पन्न भएको छ ।

सहिद स्मृति साहित्य प्रतिष्ठान रोल्पाले आयोजना गरेको उक्त गृहविमोचन कार्यक्रममा प्रमुख अतिथिमा कवि डी.बी. टुहुरो थिए भने । वक्ताहरूमा कवि चन्द्र जी.एम., कवि भगवती बुढा मगर, कवि डी.बी. मगर  ´स्वेद` थिए । अन्य आमन्त्रित अतिथिहरूमा रोल्पा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियार, पत्रकार खेम बुढा मगर, पत्रकार काशीराम डाँगी, पत्रकार नवीन लोचन मगर, पत्रकार महेश न्यौपाने , साहित्यकार चन्द्रज्योति सुवेदी, साहित्यकार कृष्णप्रसाद न्यौपाने, पत्रकार खुविना सुनारी मगर, पत्रकार देवी गुरुङ, रेडियो मालश्री, रेडियो जलजला रेडियो रोल्पाका प्रतिनिधिहरू लगायत कवि लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

गृहविमोचन कार्यक्रममा प्रमुख अतिथि डी.बी. टुहुरोले मन्तव्यको क्रममा बोल्दै मगर खाम भाषाबाट साहित्यिक कृतिहरू प्रकाशन गर्दै आएका कवि समीप बैरागी द्वारा लिखित यस साहीमासा कविता कृतिले नेपाली कविता क्षेत्रमा एउटा अलग खालको पहिचान निर्माण गरेको बताएका थिए । वक्तामा रहेका कवि तथा गजलकार डी.बी. मगर ´स्वेद` ले कवि समीप बैरागीको व्यक्तित्व माथि बोलेका थिए भने द्वय वक्ताहरू कवि भगवती बुढा मगर र कवि चन्द्र जी.एम. ले साहीमासा कविता संग्रहको सकारात्मक र नकारात्मक पक्षको चिरफार गर्दै अब रोल्पाले पनि राष्ट्रिय स्तरमा साहित्य क्षेत्रबाट आफ्नो सशक्त उपस्थिति जनाएको बताए ।

Advertisement

समारोहमा कवि बैरागीले बोल्दै रोल्पा माथि निर्माण गरिएको गलत भाष्यलाई अब कवि लेखकहरूले चिर्नुपर्ने बताएका थिए भने पत्रकार खेम बुढा मगरले आफ्ना गहकिला भनाइहरू द्वारा बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा नवीन लोचन मगर, देवी गुरुङ, सम्फा घर्ती, संकर मगर लगायतले साहीमासा कविता संग्रहबाट कविता वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष गजलकार आभाष बेसहाराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई गजलकार हीमा खड्का ´मनसुन` ले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सल्लाहकार तथा कवि गीता निर्दोषीले दिएका थिए ।