काठमाडौं । सर्जक डा. सुमन कर्माचार्यको दोस्रो कृति ‘कात्रोमा खल्ती’ (अनाख्यान) लोकार्पण भएको छ । साहित्यिक पत्रकार संघद्वारा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पूर्व महासचिव वरिष्ठ नेता डा. शेखर कोइरालाले सो कृतिको लोकार्पण गरेका हुन् ।
डालो रेस्टुरेन्ट (नयाँ), अनामनगर, काठमाडौंमा आयोजित सो कार्यक्रममा कृतिबारे बोल्दै डा. कोइरालाले डा. सुमन कर्माचार्य प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध हुनुका सार्थ उनले गरीब दुखीहरूको स्वास्थ्योपचारमा दिएको योगदान उल्लेखनीय भएको बताए । डा. कोइरालाले वर्तमान राजनीतिक स्थितिप्रति चिन्ता व्यक्त गर्दै अहिले राज्य संन्यत्र बिचौलियाहरूले चलाइरहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिको समीक्षा गर्दै डा. कर्माचार्यका रचनाहरूले पार्टी, सरकार र नेताहरूमा रहेका विकृति र विसङ्गतिहरूलाई स्पष्ट रूपमा देखाएको धारणा राखेका थिए । यसैगरी कृतिका सम्पादक विमल भौकाजीले लेखक र आफू एउटै गाउँठाउँमा हुर्केको बताउँदै उनी बहुमुखी प्रतिभा भएको व्यक्ति रहेको बताएका थिए ।
कार्यक्रममा कृतिकार डा. कर्माचार्यले बीपी, गणेशमान र किशुनजी आफ्नो आदर्श भएको बताउँदै आफूले सधैं त्यही आदर्श बोकेर अहिलेसम्मको यात्र्रा तय गरेको उल्लेख गरेका थिए ।
अतिथिको आसनबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले आफ्नो विचारप्रति प्रतिबद्ध डा. कर्माचार्यजस्तो व्यक्ति अहिले पाउन गाह्रो भएको बताउँदै बधाई ज्ञापन गरेका थिए ।
कवि एवं चर्चित सन्चारकर्मी ठाकुर बेलवासेले सहजीकरण गरेको सो कार्यक्रमलाई संघका अध्यक्ष राधेश्याम लेकालीले सभापतित्व गरेका थिए ।
अनामनगरस्थित डालो रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा कृतिकार डा. सुमन कर्माचार्यलाई आयोजक संस्थाका तर्फबाट प्रमुख अतिथि डा. कोइरालाले सम्मान पनि गरेका थिए ।
कार्यक्रममा अध्यक्ष लेकालीले प्रमुख अतिथि कोइराला, कथाकार भागीरथी श्रेष्ठ, वरिष्ठ समालोचक प्रमोद प्रधान, सम्पादक विमल भौकाजी, कवि एवं चर्चित सन्चारकर्मी ठाकुर बेलवासेलाई मायाको चिनो प्रदान गरेका थिए ।