पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक अंग्रेजी भाषामा सार्वजनिक भएका छन्। एमाजन डट् कमले प्रकाशन गरेका वान्डरिङ वड्र्स र थ्री डाइमेन्सन्स अफ बुद्धिजम नामक पुस्तक हालै अमेरिकामा सार्वजनिक भएका हुन् ।
एसिया, युरोप र उत्तर अमेरिकाका विभिन्न दश मुलुकहरूमा लेखकले गरेका यात्राहरू सम्बन्धि १८ रसिला निबन्धहरू वान्डरिङ् वड्सर्् पुस्तकमा समावेश छन्।
तीन महादेशका केही तरङ्ग उपशीर्षक रहेको सो नयाँ पुस्तकका बारेमा लेखक घिमिरेले भनेका छन् ‘करीब आधा संसार ओगट्ने तीन महादेशको भूगोलको यात्रा हो यो । तर, यहाँ भूगोल मात्रै भेटिने छैन,छिचोल्दै जाँदा इतिहास,परम्परा,भाषा,धर्म,संस्कृति,सभ्यता,कला र साहित्य अनेक भेटिएला ।
कतै देवकोटा र घिमिरे भेटिएलान्,कतै सोफोक्लिज,सुकरात र शेक्सपियरहरू ।कतै मोनालिसाको मुस्कानमा लठ्ठ परियो होला,कतै ट्याक्सी चालकका दुखमा तप्त भइयो होला ।जुन जुन दृश्यले छोए आफूलाई,द्रष्टाका रूपमा तिनै दृश्यमा दृष्टि परेको होला । जे जे होला त्यो त यही पुस्तक भित्र होला ,जे यहाँभित्र नहोला सो प्रवुद्ध पाठकले औंल्याउनु होला । मेरा कमी कमजोरी देखाउनु होला ।’
वान्डरिङ वड्र्स शीर्षकमा सो किताब अनलाइन स्टोर एमाजन मार्फत संसारभर उपलब्ध रहेको जनाइएको छ ।
करीब एक दशक नेपालमा पत्रकारिता गरेर अमेरिका गएका घिमिरेको वान्डरिङ वड्र्स दोस्रो कृति हो । सन् २०१३ मा नेपाली भाषामा बुद्धवादका तीन आयाम शीर्षकमा उनको पहिलो पुस्तक प्रकाशित भएको थियो । थ्री डाइमेन्सन्स अफ बुद्धिजम सोही सन् २०१३ मा नेपालीमा प्रकाशित बुद्धवादका तीन आयामको अंग्रेजी संस्करण भएको लेखक घिमिरेले बताएका छन् ।
सो पुस्तक थ्री डाइमेन्सन्स अफ बुद्धिजमले बौद्ध धर्म, दर्शन,इतिहास र साहित्यको बारेमा विस्तारमा चर्चा गरेको छ ।
बौद्ध धर्मको समग्र अध्ययन प्रस्तुत गरेको सो पुस्तकमा यसको दर्शन, इतिहास र बौद्ध धर्मको एसियाभरिको विस्तार समेटिएको छ।
बौद्ध धर्मको उत्पत्ति र आधारभूत शिक्षाहरू,बुद्धको समय अघिको दार्शनिक पृष्ठभूमि, चार आर्य सत्य, अष्टाङ्गिक मार्ग र प्रतीत्यसमुत्पादको सिद्धान्तहरूका बारेमा विस्तृत व्याख्या गरिएको लेखक घिमिरेले बताए ।समथा र विपश्यना ध्यान, चार ब्रह्मविहारहरू, दश अनुस्मृति र आरूप्य आदि ध्यान विधिहरूका वारेमा चर्चा गरिएको सो पुस्तकमा बौद्ध दार्शनिक सम्प्रदायहरू वैभाषिक, सौत्रान्तिक, माध्यमिक (शून्यवाद) र योगाचार (विज्ञानवाद) आदिको विशद विश्लेषण गरिएको छ।
महायान बौद्ध धर्मको बोधिसत्व आदर्श र वज्रयान बौद्ध धर्मका शिक्षाहरू सो पुस्तकमा समेटिएका छन् ।
बौद्ध साहित्य खण्डमा पाली त्रिपिटक र महत्त्वपूर्ण महायान सूत्रहरू लगायत बौद्ध साहित्यको समग्र सिंहावलोकन गरिएको छ ।
बौद्ध इतिहास खण्डले बौद्ध धर्मको ऐतिहासिक विकासक्रमलाई समेटेको छ ।प्राथमिक कालका चार बौद्ध सम्मेलनहरू र एसियाका विभिन्न देशहरूमा बौद्ध धर्मको प्रसारबारे ऐतिहासिक तथ्यसहित विश्लेषण प्रस्तुत गरिएको छ ।
अन्तिम खण्डमा नालन्दा, वल्लभी, विक्रमशिला,जगदला,ओदान्तपुरी लगायतका प्रमुख ऐतिहासिक बौद्ध विश्वविद्यालयहरूको वारेमा उल्लेख गरिएको सो पुस्तक बौद्ध धर्मको दार्शनिक गहिराई, ऐतिहासिक विकास र सांस्कृतिक प्रभाव बुझ्न चाहने सबैका लागि अत्यन्त उपयोगी स्रोत भएको छ ।
नेपाली लेखकले अंग्रेजी भाषामा विश्व साहित्यमा यस्ता गहन कृति प्रस्तुत गर्नु सम्पूर्ण लेखकहरूका निमित्त गर्व र प्रेरणाको विषय हो ।




