काठमाडौं । अनेरास्ववियू पुस्तकालय विभागको आयोजनामा २ वटा पुस्तक चर्चा कार्यक्रम सम्पन्न भएको छ । विहीबार अनेरास्ववियूको केन्द्रिय कार्यलय अनामनगर काठमाडौँमा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सचिव, अनेरास्ववियूका पूर्व अध्यक्ष तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईको आयु विद्यार्थी आन्दोलनको र मार्क्सको कम्युनिष्ट पार्टीको घोषणापत्र बारेमा चर्चा भएको हो ।
कार्यक्रम पुस्तक चर्चा गर्दै लेखक तथा पार्टीका सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राईले आजको सन्दर्भमा विद्यार्थी आन्दोलनले समसामयिक एजेण्डा बनाएर अघि बढ्नुको विकल्प नभएको बताए ।
अर्का वक्ता नेकपा एकीकृत समाजवादीका नेता तथा विद्यार्थी इञ्चार्ज रामकुमार भट्टराईले पार्टी सम्वद्ध हरेक विभाग र जनसंगठनले यस्ता खालका कार्यक्रमहरु संचालन गर्न निर्देशन दिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेले कम्युनिस्ट घोषणा पत्र माथि चर्चा गर्दै घोषणापत्रले तथ्यका आधारमा स्थापित मान्यतालाई च्यालेञ्ज गर्ने गरेको भन्दै कसैले के ‘भन्छ’ भनेर हैन के ‘गर्छ’ भन्ने आधारमा बुझ्नुपर्ने बताए ।
उनले कम्युनिष्ट घोषणापत्रले वर्ग पक्षधरता लिने, वर्गसंघर्षमा कित्ता क्लियर गर्ने, षड्यन्त्र र छलछाम होइन, पारदर्शिता र खुला खुलस्त हुने, वैज्ञानिक चिन्तन लिने्, बुझ्ने प्रक्रियामा, ज्ञानको प्रक्रियामा सामेल हुने, जो बदल्न लाग्छ उसले बुझ्छ जसले बुझ्छ उसले बदल्छ, क्रान्तिको सफलता वर्गको एकतामा छ भन्ने जस्ता महत्वपूर्ण सन्देश दिएको बताए ।
कार्यक्रममा अनेरास्ववियूका कार्यवाहक अध्यक्ष हिरेन्द्र शाहीले पाठ्य संस्कृतिको विकासका लागि यस्ता खाले कार्यक्रम जरुरी रहेको बताए ।
अनेरास्ववियू पुस्तकालय विभागका प्रमुख प्रकाश श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।