– जनक कार्की
खुसी भनेको के हो ? यसलाई परिभाषामा खोज्ने हो भने, ‘मनमा हुने सुखद अनुभूति, हर्ष प्रसन्नता’ भन्ने बुझिन्छ । अब मन भनेको के हो ? मनलाई पनि चलनचल्तीको परिभाषामा बाध्ने हो भने, ‘ प्राणीहरूको अनुभव इच्छा, बोध, विचार, सङ्कल्पविकल्प आदिलाई नियन्त्रित गर्ने अन्तकरणको अंश वा वृत्ति, नाक, कान, आँखा वा इन्द्रियबाट थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय, अन्तः करण, चित्त, दिल, हृदय’ भनेर बुझिन्छ । इच्छा, कामना, विचार, अभिलाषा, स्वभाव, प्रकृतिलाई पनि मन मान्न सकिन्छ । मनलाई दिमाग पनि मान्न सकिन्छ र चित्त पनि बुझ्न सकिन्छ । मनको इच्छा प्राप्त हुनु क्षणिक खुसी हो भने मनको इच्छालाई पार गरेर प्राप्त गरिएको खुसी स्थायी खुसी हो । प्राय इन्द्रियद्वारा माग गारिएको खुसीको आयु लामो हुँदैन । इन्द्रियको खुसी नकारात्मक पनि हुन सक्छ । इन्द्रियलाई जितेर उपलब्ध भएको खुसी नै टिकाउ खुसी हो ।
सकारात्मक मनोभाव अथवा भावनात्मक स्थितिलाई व्याख्या गर्नलाई खुसी शब्दको प्रयोग गरिन्छ । जब कसैले सन्तुष्टि र सकारात्मकताको अनुभव गर्दछ भने उसले यो भावनालाई खुसीको माध्यमबाट प्रकट गर्दछ ।
विज्ञानको भाषामा भन्ने हो भने जब मस्तिष्कमा डोपामाइन रसायन उत्पन्न हुन्छ, जो न्युट्रोटान्समिटर र हाइपोथैलेमसद्वारा निर्मित हुन्छ, यसले प्राणीलाई आनन्दित महसुस गराउँछ । जब कुनै पनि प्राणी खुसी हुन्छ तब डोपामाइन रसायन रिलिज हुन्छ ।
डोपामाइन रसायन सँगसँगै सेरोटोनिन, ओक्सिटोनिस, इन्डोर्फिन्स आदि रसायन पनि खुसी बनाउने हर्मोन्स हुन् । सेरोटोनिन हर्मोनले निन्द्रा,पाचन प्रक्रिया, सिक्ने इच्छा, स्मरण शक्तिलाई सञ्चालन गर्दछ । ओक्सिटोनिस रसायनले विश्वास, सम्बन्ध, यन चाहना आदिलाई सन्तुलनमा राख्दछ । इन्डोर्फिन्स हर्मोनले दुखाइलाई कम गर्ने, कुनै पनि काम गर्दा त्यसमा उत्सुकता र इच्छालाई सञ्चालन गर्न मद्दत पुर्याउन सहयोग गर्दछ ।
सन् २००८ मा गरिएको सर्वेक्षणअनुसार घाम ताप्नु, बाहिरी खुल्ला वातावरणमा घुम्न निक्लनु, कसरत गर्नु, पसिना निकाल्नु, दौडिनु आदिले पनि खुसीका रसायनलाई वृद्धि गर्दछ । खुलेर हाँस्नु, गीतसंगीत सुन्नु, ध्यान गर्नु आदिले सकारात्मक रसायनको वृद्धि गर्दछ । केही खानेकुरा जस्तैः स्पाइसी खाना, दही, गेडागुडी, अन्डा, माछामासु, बदाम, ओखर तथा ट्रिप्टोफान धेरै भएका खानाले पनि यी रसायनलाई सक्रिय बनाउन सहयोग गर्छ । मेडिकल साइन्समा यी रसायनलाई बढाउन विभिन्न सप्लिमेन्टको प्रयोग पनि गरिन्छ । यद्यपि सप्लिमेन्टको साइड इफेक्ट पनि हुने गर्दछ ।
अध्यात्ममा खुसीको खोजलाई नै दुःखको कारण मानिन्छ । सुखदुःखको जालबाट निक्लेर प्राप्त गर्न सकिने आनन्दलाई नै वास्तविक खुसी भनिन्छ । सुख दुःखको भुमरीमा अल्झिरहँदा खुसी क्षणिक हुने र त्यसबाट बाहिर निक्लन सके परमानन्द प्राप्त हुने कुरामा विश्वास गरिन्छ ।
अध्यात्ममा जो असीमित एवं अनन्त छ, त्यही खुसीको अर्थ आनन्दको उद्गम स्थान हुन्छ भनेर मानिन्छ । त्यसैले चिरकालीन आनन्द प्रदान गर्छ र हामीलाई दुःखबाट सदाका लागि मुक्ति दिन्छ । हामीहरू अशाश्वत विषयबाट आनन्द प्राप्त गर्ने प्रयत्न गर्छौ । अशाश्वत विषय सीमित अथवा परिवर्तनशील हुन्छ, त्यसैले त्यस्ता कुरामा स्थायी सुख हुँदैन । स्वयं शाश्वत तत्वको ज्ञानबिना अशाश्वत विषयबाट प्राप्त सुख र शान्तिले कुनै लाभ दिँदैन । आनन्द हाम्रै अन्तःकरणमा छ । यदि जीवनको शाश्वत मूल्यको ज्ञात भयो भने अशाश्वत विषयबाट पनि आनन्द प्राप्त गर्न सकिन्छ । शाश्वत मूल्य जान्नको लागि केही पद्धतिमा ध्यान दिनु जरुरी छ ।
धर्मको पालन
समस्त प्राणीहरूको प्रवृत्ति सुख प्राप्तिको लागि नै हुन्छ । धर्मपरायण भएर मात्र अपेक्षित खुसी प्राप्त हुन्छ । धर्माचरणी मनुष्य ज्ञानी अज्ञानी जे भए पनि सुखलाई आत्मसात गर्छ । यदि कसैले पनि अधर्मको व्यवहार नगारेर परस्पर अत्यन्तै प्रेमभाव राख्न सक्यो भने परिणाममा सुख प्राप्त हुन्छ ।
साधना
चित्तमा बसेको वासना, रुचि–अरुचि, स्वभावदोष आदिको संस्कारलाई मेटाएर, अविद्याको नास गर्ने हो भने हामीलाई आफू भित्रको विद्यमान आनन्दको अनुभूति हुनसक्छ । अविद्यालाई नष्ट गर्ने पद्धति र संस्कारलाई नै साधना भनिन्छ ।
सन्तसानिध्य
मनुष्यको वासना जति अल्प हुन्छ, उसको सानिध्य त्यति नै आनन्ददायक हुन्छ । पञ्च पञ्चज्ञानेन्द्रिय मन एवं बुद्धिभन्दा परको सूक्ष्म कुरालाई बुझ्दै जानु नै आनन्दतरङ्गलाई अनुभूति गर्दै जानु हो ।
सुख पाउने इच्छाको त्याग
जीवनमा हामीले जति भौतिक सुखसुविधाको त्याग अधिक गर्न सक्छौँ, त्यति नै दुःखको मात्रा घट्दै जान्छ । त्यसैले भनिन्छ, प्रापणात् सर्व भोगानाम् परित्यागो विशिष्यते ।’, अर्थात्लआनन्द ‘सबै भोगको उपभोगको अपेक्षा, त्यसको त्याग विशेष महत्त्वपूर्ण हुन्छ ।’ भोगको सुख क्षणिक हुन्छ । त्यसकारण जुन शक्ति सुखको इच्छा गर्नमा व्यतीत त हुन्छ, त्यो शक्ति आफैमा आन्नदस्वरुप हुन्छ । यति बुझ्न सकियो भने इच्छा नै उत्पन्न हुँदैन ।
प्रेम रूप बन्नु
व्यक्तिको सुखदुःख कर्मको आधारमा हुन्छ । त्यसैले सबैलाई समान रूपमा सुख कहिल्यै प्राप्त हुन्न । सुखदुःख कर्मानुसार भएपनि प्रेम कर्मजन्य हुँदैन । हामी अन्य व्यक्तिको दुःखमा सहानुभूति दर्साउन सक्छौँ। यसो गर्नाले उसको दुःख सह्य हुनसक्छ । यही हाम्रो धर्मको विशेषता हो । प्रेमपूर्ण व्यवहार गर्नाले मनुष्यको वृत्ति सात्विक एवं त्यागी बन्छ त्यसैगरी उसको आवश्यकता पनि न्यून बन्दै जान्छ । यसले आत्मालाभ गराउन मद्दत गर्दछ ।
अहङ्कारको नष्ट गर्नु
आनन्द अर्थात् स्वलाई भुल्नु। धर्मले भन्छ कि ब्रम्हामा विलीन हुन सकियो भने शाश्वत सुख प्राप्त हुन्छ । यदि यो सत्य हो भने मोक्ष अर्थात आत्माको ब्रम्हामा विलीन हुनु नै परमोच्छ साध्य हो । धर्मले भन्छ, म अस्तित्वलाई भुल्न जरुरी छ । यस्तो स्थितिले हामीलाई आनन्द प्रदान गर्छ ।
मिस्रको एउटा दन्त्यकथा छ । यदि कोही व्यक्ति स्वर्गमा प्रवेश गर्न चाहन्छ भने स्वर्गको प्रवेशद्वारमा उसलाई दुईवटा प्रश्न सोधिन्छ । यदि दुइटै प्रश्नको जवाफ हो मा दिन सकिएन भने स्वर्ग प्रवेशमा रोक लगाइन्छ । पहिलो प्रश्न हुन्छ, ‘के तिमीले जीवनमा खुसी र आनन्दको अनुभव ग¥यौ ?’ र दोस्रो प्रश्न, ‘के तिमीले आफ्नो सेरोफेरोका मान्छेलाई खुसी बाड्यौ ?’ यो दुबै प्रश्नको जवाफ यदि गरे भन्ने आयो भने यो जायज छ कि तपाईं पहिल्यै स्वर्गमा हुनुहुन्छ ।
ओशोले मानिस कसरी खुसी रहन सक्छ भन्ने शुत्र आफ्ना प्रवचनमा भनेका छन् । उनकाअनुसार ‘जो मान्छे कम अपेक्षा गर्छ ऊ धेरै खुसी हुनसक्छ । जसमा धन्यवादभाव अधिक छ, ऊ नै अत्याधिक सुखी हो ।’ उनले केही केही किस्सा सुनाएर पनि यो कुरालाई प्रष्ट बनाएका छन् ।
‘एकपटक एउटा पुरुषकी श्रीमतीले आएर ओशोलाई भनिन्, ‘मेरा श्रीमानलाई व्यापारमा पाँच लाख फाइदा भयो तर पनि दुःखी छन् । उनको अपेक्षा १० लाख फाइदाको थियो ।’ ओशोले ती महिलाको श्रीमानलाई भेटेर सोधे तिमीलाई पाँच लाख प्राप्त हुँदा पनि तिमी चिन्तित छौ किन ? उसले जवाफ दियो, ‘अपेक्षा १० लाख फाइदाको थियो ।’
यो किस्साबाट के प्रष्ट हुन्छ भने जति धेरै अपेक्षा त्यति धेरै असन्तोष हुन्छ । यदि त्यो मान्छेको अपेक्षा २ लाख लाभको भएको भए ३ लाख अधिक लाभको खुसी मिल्ने थियो । यदि अपेक्षा अझ शून्य भएको भए सन्तुष्टि मात्र रहन्थ्यो । त्यसैले अपेक्षा नै दुःखको कारण हो ।
ओशोले आफ्नो प्रवचनमा अर्को एउटा किसा पनि सुनाएका छन्, ‘एकदिन एउटा फकिर हिँड्दै गर्दा ठेस लागेर रगत बग्न थाल्यो । फकिरले ईश्वरलाई धन्यवाद दियो । यो देखेर फकिरको सहयात्रीले सोध्यो, ‘ठेस लागेर रगत बग्दा पनि धन्यवाद ?’ फकिरले भन्यो, ‘मेरो मृत्यु पनि हुन सक्थ्यो तर यसो नभएर मलाई ठेस मात्र लाग्यो ।’ यसको तात्पर्य यो हुन्छ कि हामीसँग जे घटना घट्छ त्योभन्दा ठूलो घटना घट्न सक्ने सम्भावना ट¥यो भन्ने कुरामा धन्य भाव आउन थाल्यो भने सुखको लागि भौतारिन नै पर्दैन । हामीले जे प्राप्त गरेका छौँ, त्यसको निमित्त कहिल्यै आभार गर्दैनौँ र एउटा सानो चोट, दुःखमा असन्तुष्टि व्यक्त गर्छौँ । यही कारणले नै दुःखको सिर्जना गर्छौँ ।
संसारको सबैभन्दा खुसी मानिस– मैथ्यु रिचर्डस
संसारको सबैभन्दा खुसी व्यक्तिको नाम मैथ्यु रिचर्डस हो । मैथ्यु रिचर्ड्सको जन्म फ्रानन्समा भएको हो । उनी पछिल्लोपटक सन् १९९१ मा दुःखी भएका थिए । त्यसपछि आजसम्म दुःखी भएका छैनन् । उनको खुसी रहने यो बानीबाट प्रभावित भएर अमेरिकी विश्वविद्यालयले एउटा शोध गरेको थियो । उनको खुसीको कारण पत्ता लगाउन १२ वर्ष लामो सर्वेक्षण गरियो । उनको दिमागमा करिब २५६ वटा सेन्सर लगाएर प्रयोग गरियो । जसबाट उनी खुसी छन् भन्ने कुरा प्रमाणित गरियो । रिसर्चको क्रममा उनको मस्तिष्कमा गामा तरङ्गको उपस्थिति पाइयो । वैज्ञानिकका अनुसार गामा तरङ्ग अन्य मान्छेमा निकै कम मात्र पाइन्छ । गामा तरङ्गले खुसीको स्तरलाई बढाउने काम गर्दछ ।सन् २०१६ मा संयुक्त राष्ट्र संघले उनलाई संसारको सबैभन्दा खुसी व्यक्ति भनेर घोषणा ग¥यो । उनको जीवनमा खुसी हिस्सा मात्र होइन आदत बनिसकेको छ ।
मैथ्यु खुसी रहनको लागि नियमित पाँच किसिमको व्यायाम गर्छन् । उनी बिहानै उठेर १–२ मिनेटसम्म आँखा तन्काएर पहेँलो रंगलाई हेर्छन् । त्यसपछि हरेक घन्टा १० सेकेन्ड काइन्डनेस कसरत गर्छन् । अनि जसलाई अधिक प्रेम गर्छन्, उसको मुस्कुराएको तस्बिर एक मिनेटसम्म लगातार हेर्छन् । चकलेट र ओखर नियमित सेवन गर्छन् । दिल खोलेर हाँस्ने सल्लाह पनि दिन्छन् । यसो गरियो भने गामा तरङ्गको सिर्जना हुने कुरामा विश्वास गर्छन् ।
मैथ्यु वैज्ञानिक, लेखक, फोटोग्राफर, अनुवाद थिए । उनी सम्पन्नशाली भएर पनि खुसी हुन नसकेपछि बौद्ध भिक्षु बनेका हुन् । हामी नेपालीलाई खुसी हुने अर्को कारण यो छ कि मैथ्युले नेपालमा शरण लिएका छन् ।
संसारकै खुसी मान्छेको कुरा कोट्याएपछि दक्षिण एसियाको सबैभन्दा खुसी देश नेपालको कुरा पनि गरौँ ।नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२१’मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको हो ।
विश्वका १४९ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल ८७ औं स्थानमा पुग्न सफल भएको हो । नेपालपछि माल्दिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९ र भारत १३९ औं स्थानमा छन् । वर्ल्ड ह्यापिनेस रिपोर्ट सन् २०१२ देखि हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ ।
फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी रहेको पाइएको छ । खुसी नागरिकहरूको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सबैभन्दा अगाडि परेको हो ।
नागरिकलाई खुसी राख्ने देशहरूको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् । सूचीमा रहेका अघिल्ला दश देशमध्ये न्युजल्याण्डबाहेक अरू सबै युरोपेली मुलुक रहेका छन् । न्युजल्याड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औं नम्बरमा परेको छ ।
यदि भौतिक सुखसुविधाले मात्र मान्छे खुसी हुने भए नेपाल दक्षिण एसियाकै खुसी राष्ट्रमा पक्कै पर्ने थिएन । प्राय नेपालीको मुहारमा अभावमा पनि मुस्कान देखिने गरेको छ । वर्तमानमा जिउन जान्ने नेपालीको गुण मान्न सकिन्छ । महत्वाकाङ्क्षी नहुने र अपेक्षा नराख्ने हो भने खुसी हुनबाट कसैले रोक्न सक्दैन ।
सुखदुःखको बन्धनबाट मुक्त भएर आनन्दको खोज गर्ने नै सदा खुसी रहन सक्छ । खुसी भनेको गन्तव्य होइन यो त यात्रा हो । हरेक पलमा खुसी हुन सक्नु र खुसीलाई निमन्त्रणा गर्न सक्नु नै सफल जीवन हो । यदि खुसीलाई गन्तव्य बनाउने हो भने यात्रा दुखमय बन्छ । बुद्धले भनेखै खुसी रहने एउटौ मात्र मन्त्र छ, ‘कुनै कुराको अपेक्षा नगर, सबै कुरामा स्वीकार भाव राख ।’