April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रिय कविता महोत्सव–२०७९ सम्पन्न

2.2K

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आफ्नो ६५ औँ वार्षिकोत्वका अवसरमा राष्ट्रिय कविता महोत्सव–२०७९ आयोजना गरिएकोछ । कमलादीस्थित प्रज्ञा भवनको प्रज्ञा सम प्रेक्षालयमा आयोजित भव्य समारोहकाबीच प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठनका प्रमुख संरक्षक श्री शेरबहादुर देउवाले पानसमा दीप प्रज्वलन गरेर राष्ट्रिय कविता महोत्सव–२०७९ को समुद्घाटन गरेका थिए ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा आएको परिवर्तनसँगै बहुजातीय तथा बहुभाषिक समुदायलाई सम्बोधन गर्ने गरी प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक कार्यहरू गरिरहेकामा प्रशन्नता व्यक्त गर्नु गरे । उनले प्रचलित भाषा, साहित्य, संस्कृति, दर्शनका माध्यमबाट ती समुदायमा एकता बढाउन सिर्जनशील कार्यक्रम गरिरहेको विचार व्यक्त गरे । उनले भने— “देशका सबै समुदायका भाषा एवम् सांस्कृतिक दर्शनको प्रवद्र्धनमा योगदान पु¥याउन नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा काठमाडौँको मैतीदेवीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण गरिनु खुसीको कुरा हो ।” उनले ‘नेपाली बृहत् शब्दकोश’लाई मोबाइल एपका माध्यमबाट संसारभरि रहेका नेपाली भाषीलाई निःशुल्क उपलब्ध गराउनु सराहनीय कार्य भएको बताउँदै प्रज्ञा–प्रतिष्ठानको कार्यमा नेपाल सरकारले सधैँ सहयोग गर्ने वचन दिए ।

यस्तै, समारोहलाई सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक प्रेमबहादुर आलेले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र नेपाल प्रज्ञा–प्रतिष्ठानको कार्य क्षेत्र भएको बताए । उनले भने भन्नुभयो– “नेपाल प्रज्ञा–प्रतिष्ठानले ११ ओटा विभागबाट विभिन्न गोष्ठी, अनुसन्धान र प्रकाशनका क्षेत्रमा उल्लेखनीय कार्य गरेको छ । कोभिड महामारीमा पनि आफ्ना काम नरोकी अनुसन्धान र प्रकाशनका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गरेको सुन्दा खुसी लागेको छ । मन्त्रालयका तर्फबाट प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक सहयोग सधैँ रहिरहने छ ।” उहाँले प्रधानमन्त्रीसमक्ष प्रज्ञा–प्रतिष्ठानका महत्त्वपूर्ण प्राज्ञिक कार्यका लागि सरकारबाट बजेट कटौती भएकोमा ध्यानाकर्षण गराउँदै आवश्यक बजेटको व्यवस्था गरिदिनका निम्ति आग्रहसमेत गरेका थिए ।

Advertisement

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले स्थापना कालदेखि नै आफ्नो उद्देश्यअनुरुप नेपाली वाङ्मयका समग्र विकासका लागि उल्लेखनीय कार्यहरू गर्दै आएको उल्लेख गरे । उनले नेपाल प्रज्ञा–प्रतिष्ठान अन्तर्राष्ट्रिय क्षेत्रमा प्राज्ञिक सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने, प्राज्ञिक कार्य आदान प्रदान गर्ने राष्ट्रकै सर्वोच्च प्राज्ञिक संस्था भएको बताए । उनले भने, “नेपालको प्राज्ञिक महत्त्वलाई अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन नेपाल प्रज्ञा–प्रतिष्ठानले निकै महत्त्वपूर्ण कार्यहरू गर्दै आइरहेको छ ।”
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठान राष्ट्रको शिरफूल भएको बताए ।

यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले समारोहलाई सम्बोधन गर्दै पछिल्लो समयमा प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कामहरूको उच्च प्रशंसा गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्रका क्षेत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानले महत्त्वपूर्ण कार्य गरिरहेको उल्लेख गरे । उनले प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक थप सहयोगका लागि आफूले सक्दो सहयोग गर्ने पनि बताए ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाल प्रज्ञा–प्रतिष्ठानका समग्र प्राज्ञिक गतिविधिका बारेमा समेत प्रकाश पार्दै समारोहमा उपस्थित सबै अतिथिप्रति धन्यवाद व्यक्त गरे । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानले बढीभन्दा बढी उपलब्धि हासिल गर्ने गरी काम गरिरहेको बताए ।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, साहित्य (पद्य/काव्य) विभाग प्रमुख एवम् राष्ट्रिय कविता महोत्सव–२०७९ का संयोजक प्रा.डा. हेमनाथ पौडेलले राष्ट्रिय महोत्सवसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राष्ट्रिय कविता महोत्सव–२०७९ को कविता छनोट समितिमा काव्य विभाग प्रमुख प्रा.डा. पौडेलको संयोजक र डा. गीता त्रिपाठी तथा चन्द्रप्रसाद न्यौपाने सदस्य रहेका थिए ।

राष्ट्रिय कविता महोत्सव–२०७९ मा आह्वान गरिएका कविता मध्ये सुनसरीकी टीका आत्रेयको ‘सङ्कल्प’ शीर्षकको कविता प्रथम, धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ द्वितीय, भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरण सिवाको ‘बुबाको सिलाई मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रिन्छ माटोमा’ शीर्षकका कविताहरूले तृतीय स्थान प्राप्त गरेका छन् ।

महोत्सवमा कविता वाचनका लागि ३० ओटा कविता छनोट भएका थिए । जसमा तारानाथ गौतम (धादिङ), निर्मरमण पराजुली (कास्की), यात्रीप्रकाश पाण्डे (धादिङ), कमलराज केसी (अछाम), टहल दाहाल नवकिरण (दोलखा), इन्द्रनारायण सुवेदी (इलाम), सरिता ढकाल (जापान), वीरेन्द्र नेपाल (झापा), प्रकाश पाण्डे (अमेरिका), ज्ञानदीप चाम्लिङ (खोटाङ), नरेन्द्र बुढाथोकी (हुम्ला), किरन सिवा (सुनसरी), नुरज भट्टराई (इलाम), स्पन्दन विनोद (पोर्चुगल), जीविका अश्रु (सिक्किम, भारत), सिर्जना शर्मा (रुकुम पश्चिम), एमपी पाण्डे (अछाम), एलिसा ढुङ्गाना (काभ्रे), सीता तुम्खेवा (भक्तपुर), शम्भुप्रसाद गजुरेल (नुवाकोट), मञ्जिला अनिल (काठमाडौँ), भीष्मराज काफ्ले (तेह्रथुम), प्रकाश बस्नेत (काठमाडौँ), सुन्दर शिरीष (सिन्धुपाल्चोक), बिर्खे अन्जान (मकवानपुर), टीका आत्रेय (सुनसरी), छविलाल आचार्य (कास्की), प्रभा पोखरेल (अमेरिका), जनार्दन अधिकारी (काठमाडौँ) र कृष्ण विष्ट (सल्यान) रहेका थिए ।

महोत्सव समुद्घाटन र कविता वाचन गरी दुई सत्रमा सम्पन्न भएको थियो । कविता वाचन सत्र प्राज्ञ परिषद् सदस्य एवम् सामाजिक शास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तको सभापतित्वमा सम्पन्न भएको थियो । वरिष्ठ कवि बैरागी काइँलाले आफ्नो एउटा कविता वाचन गरी आरम्भ गर्नुभएको कविता महोत्सवमा १५ जना अतिथि कविहरूले कविता वाचन गरेका थिए । कविता महोत्सवमा कविता वाचन गर्नुहुने कविहरूलाई कुलपति गङ्गाप्रसाद उप्रेतीले सहभागिताको प्रमाणपत्र प्रदान गरेका थिए । दुवै सत्रको कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गरेका थिए ।

कार्यक्रमका तस्वीरहरु ।