July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

कथा: असामयिक

4.3K

“कुमारी क्लब, टियू गेट, नयाँ बाटो कोहि हुनुन्छ भने भाडा लिएर अगाडि आउँदै गर्नुस है…!” बल्खुमा सिन्की खाँदे झैँ यात्रु खाँदेर हिँडेको मिनि बसको सहचालक ढोकामा अटिनअटि उभिरहेका अन्य यात्रुहरूको चेपमा एउटा खुट्टा राखी अर्को खुट्टा हावामा झुन्ड्याएर ढोका ढकढक्याउँदै चिच्यायो । झमक्क साँझ पर्दै गरेकोले यात्रुहरूको चाप बढी थियो । टेक्ने ठाउँ नभए नि अटेसमटेस गरेर निस्कनै प¥यो । म भने रत्नपार्कबाट चढेकोले टेकुनिर आईपुग्दा बस्ने सिट पाएर मक्ख थिएँ । बसेको नि के भन्नू, सिटमा मान्छेहरूले किचिएको थिएँ ।

मेरो गन्तव्य किर्तिपुर नयाँबजार, पाँगा दोबाटो हुँदै पाँगा चोकमा उत्रेर दाहिनेपट्टिको अलि साँघुरो बाटोतिर लाग्नु थियो । जहाँ ती अनगिन्ती बिगतहरूको चाङ् थुप्रीएको थियो र लामो समयदेखि केलाउने मन भएर नि सकिरहेको थिईनँ । त्यसैले आज भने त्यो अतृप्ततालाई पूर्णता दिनका लागि अनायासै त्यो यात्राको सुरुवात गरेको थिएँ ।

गोरखाको भुकम्प प्रभावित ग्रामिण वस्तिमा कार्यक्षेत्र, मनसूनको अन्तिम वर्षात हुन सक्छ, अलि चिसो सहितको सिमसिम पानी रातिदेखि नै परिरहेको । गाउँदेखि ठ्याक्कै पारिपट्टी देखिने तनहुँको दम्साईलो गाउँको बिचमा वारपार किराँती महिलाले सेतो पटुकी बाँधे जस्तै भुइँकुहिरो तन्किएको । काठमाडौको धुँवा, धुलो, हिलो, कोलाहल र भद्रगोल सम्झेरै काठमाडौ नगएको निक्कै महिना बितिसकेको थियो । मासिक रिपोर्टिङ्ग र स्टाफ मिटिङ्गमा पनि अरु साथिहरू नै जाने गर्थे । यतैको प्राकृतिक सुन्दरता, ग्रामिण परिवेश, गाउँलेहरूको अबोध र निस्कपट माया, सुनसान वातावरण, यी सब मेरा लागि प्रीय लाग्छन् । तर आज किन–किन आफैलाई काठमाडौ पुगौँ–पुगौँ लाग्यो र अर्को एक जना स्टाफसँगै लाग्यौँं हामी । दिनभर नै सिमसिमे पानीले पच्छ्याईरह्यो । अलि सबेरै काठमाडौ उत्रेर कार्यालयमा उपस्थिती जनाई साथिलाई कार्यालयको आवास मै छाडेर म भने किर्तिपुर ज्याँखामा भएको भाईको डेरा तिर हान्निएको छु ।

Advertisement

काकाको छोरो भाई त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा समाजशास्त्र चौँथो सेमेस्टरको विद्यार्थी । उसँग भेट नभएको नि थुप्रै भएको थियो । पोहोर म घर पुग्दा ऊ काठमाडौतिरै थियो । ऊ भाइभन्दा ज्यादा साथी हो मेरो । म सरासर क्याम्पस पढेँ । ऊ भने लाहुरे हुने सुरले केही समय भुलियो । पोखरा पुगेर फर्किएपछी लाहुरे मोहबाट ब्युँझिएर फेरि पढाईको लिकमा हिँड्न थाल्यो । त्यसैले ऊ मभन्दा अलिकती ढिला भयो । म घर नगएको त बर्षदिन कटिसकेको छ । भाइ भने भर्खर महिनादिन अघि घर पुगेर आएकोले पनि उताको हालखवर बुझ्न पाईने लालसा र ऊसँग निक्कै लामो भलाकुसारी गर्ने चाहनाले डो¥याएको थियो ।

ज्याँखामा बिस्तार हुँदै गरेको बस्तिको बिचमा अधबँैशे उमेरको अढाई तले घर । मुनि तलामा भएका पाँच वटा कोठा । ती सबै कोठा भाडामा लगाएका थिए घरबेटिले । तिनै कोठाहरूमध्ये अगाडिपट्टी फर्किएको झ्यालवाला कोठामा पाँच बर्ष पहिले डेरा बस्न पुगेको थिएँ । त्रिभुवन विश्वविद्यालयमा सेमेस्टर प्रणालिको शुरुवात भएको थिएन । ग्रामिण विकास विभागको पहिलो वर्षको विद्यार्थिको रुपमा विश्वविद्यालयको कम्पाउण्ड प्रवेश गरेको थिएँ त्योबेला । गाउँको सरकारी स्कुलबाट प्रवेशिका उत्तिर्ण गरेर सदरमुकामकै क्याम्पसमा डिप्लोमासम्म पढेँ । आफ्नै जिल्लाभन्दा बाहिर पनि जानुपर्छ, बाहिरफेरको अवस्था बुझ्नुपर्छ भन्ने बाबाको मनसुवा अनुसार सदरमुकाम मै स्नातकोत्तर पढाइ सुरु भए पनि जिल्ला छोड्ने निर्णय भएको थियो । जिल्ला बाहिर जाने भए पछि किन राजधानी नजाने त? राजधानी त देशभरका मान्छेहरू ठोक्किने ठाउँ हो । सिँगो देशको चित्र राजधानिमै भेटिन्छ । मलाई यस्तै लाग्यो । अझ त्रिभुवन विश्वविद्यालय नेपालकै नाम चलेको विश्वविद्यालय । सोही विश्वविद्यालयको क्याम्पसमा पुगेर पढ्नु म जस्तो भुगोलमा भएको मान्छेका लागि आफैमा सफलताको एउटा सिँढी उक्लनु हो । कैयौँ मेरा साथिहरू पवेशिका अघि नै छुटे । त्यसपछि धेरै प्रवेशिकाको गेटबाटै हराए । गेट पार गर्नेहरू पनि थोरैले मात्रै क्याम्पसको यात्रा तय गरे । ती मध्येले पनि एकदम थोरैले मात्रै त्यो यात्रालाई निरन्तरता दिए । ती थोरै मध्ये म पनि थिएँ ।

साँच्चिकै काठमाडौँ आकाशको फल जस्तै थियो । जब म काठमाडौ आईपुगेँ यस्तो लाग्थ्यो, म पृथ्वी बाहेक आकाशमै झुण्डिरहेका कुनै ग्रहहरूमध्ये कुनै ग्रहमा पुगेको छु । मान्छेहरू सबैलाई हतार भएको देखेँ । सबै आफ्नै चिन्तामा दौडिरहेको मात्रै देखेँ । कोहि पनि एकछिन उभिएर अरुलाई हेर्ने फुर्सद भएको मान्छे देखिनँ । बाटोमा हिँड्दा कोलाहल सुनिन्थ्यो, भिँडका बिचमा । तर, कसले के बोलेको हो कुनै कुरा स्पस्ट सुनिदैनथ्यो । लाग्थ्यो यी मान्छेहरू नभएर स्विच अन गरिएर छाडिएका रोबोटहरू हुन् । जसलाई रिमोटले दिएको निर्देशनभन्दा अरु मुभ आउँदैन । चाहे जहाँ, जोसँग ठोक्कियोस् वा त्यहाँ कुनै भवितव्य नै आईलागोस् । मान्छेहरू रोबोट जस्तै आफ्नो अबिछिन्न लयमा लयबद्ध थिए । म भने रमिते भईदिन्थेँ बेलाबखत ।

किर्तिपुर, काठमाडौको त्यो कोलाहलभन्दा अलि फरक लाग्ने । त्यहाँका मुलबाटो, सडक वा गल्लिहरूमा त्यतिकै हल्लिहिँड्ने मान्छेहरूमा पनि बौद्धिक बहस भईरहेको सुनिने । मान्छेहरू अलि अरुले पनि बुझ्नेगरी बोल्ने, अरुसँग नठोक्किने गरि हिँड्ने, ठोक्किईहाले पनि क्षमा मागेर अघि बढ्ने गरेको देखेँ । सलाई बट्टा जस्तो लाग्ने घरहरू प्राय सबैमा बिद्यार्थिहरू देखिने । किर्तिपुरको विशेषता नै होलान् सायद यी ।

बाथरुम, ट्वाईलेटमा धारा जोडिएको भए नि पानी कहिल्यै नआउनु, डेरावालहरूको लागि पहिलो समस्या हो काठमाडौमा । त्यसैले म बसेको वरपरका प्राय सबै डेरावालहरू अलि पर धानखेतको भित्तामा नियमित आईरहने धारामा पानी लिन जान्थ्यौँ । माथी चन्द्रागिरिको फेदबाट पाईपलाईनमा ल्याईएको सो पानी ललितपुर पुग्छ भन्थे, र बिचबिचमा साना–साना धाराहरू छोडिएका थिए । तिनै मध्येको एउटा धारा हामी प्रयोग गथ्र्यौँ । नियमित ज्याँखा बसाईको लगभग डेढ महिनापछिको एउटा बिहान पानी लिन जाँदा एकजना अपरिचित महिला बाल्टिन र ग्यालेन बोकेर म भन्दा अगाडि लाईनमा उभिएकी थिईन् । लगभग १२/१४ जनाको पछाडी थियौँ हामी । पालो आउन निक्कै समय पर्खिनुपर्ने देखियो । त्यसैले उनको ध्यान तानेर बोलाएँ उनलाई । उनी भर्खर हिजो आईपुगेकी रहेछिन् काठमाडौ । व्यावस्थापन विभागको पहिलो बर्षको विद्यार्थी रहेछिन् । घर गोरखा, नाम श्रद्धा, श्रद्धा गुरुङ्ग । अनि यहाँ? म बसेको अगाडि पट्टिको घरमा एकजना साथिसँग डेरा बस्ने रहेछिन् । साथी दोस्रो वर्ष समाजशास्त्र विभागको विद्यार्थी रे ! आपसी चिनापर्ची भैसक्दै गर्दा हामी दुवै धाराको मुखैनेर पुगिसकेका थियौँ ।

क्लासको सिफ्टसँगै भएकोले हाम्रो टियू यात्रा सँगै हुन थाल्यो । नयाँबजार गेटबाट खेतैखेत देब्रेपट्टि हिँडेर ग्रामिण विकास विभागसम्म सँगै अनि उनी ललितकला विभागको छेउ हुँदै व्यावस्थापन विभाग को बिल्डिङ्गतिर लाग्थिन् । क्रमशः भेटिने समयहरू आफै नै निर्धारण भएर गए हाम्रा । अर्थात बिहान पानी भर्ने, कलेज जाने, कलेजबाट फर्किने, छुट्टिको दिन हिँड्दै परसम्म पुग्ने । यी नियमितताहरू हामिले निर्धारण गरेनौँ, सल्लाह गरेनौँ । तर पनि सँगै हुन्थ्यौँ । सायद उनी पनि म जस्तै मेरै समयमा आफुलाई डोहोर्‍याउन चाहन्थिन कि, मेरो भ्रम थियो त्यो । मज्जाले छुट्याउन निक्कै समय लाग्यो । भत्केपाटी, चौकी, गुम्बा, नयाँ बजार, पाँगा, भाजंगल बिहान सबेरै दौडदा फन्को मार्ने ठाउँहरू थिए । हरेक भेटमा अन्तरंग कुराकानिहरू थपिन्थे । केही समयका, केही समाजका अनि बाँकी जिवनका । जिन्दगिलाई हेर्ने दृष्टिकोण समान थियो मसँग उनको । कहिले किर्तिपुरमाथिको बाघभैरब मन्दिरसम्म पुग्थ्यौँ गफ गर्दै हिँड्दै ।

म सामान्यतया नयाँ परिबेशसँग घुलमिल भईहाल्न नसक्ने मान्छे । नयाँ साथी बनाउन पनि नजान्ने । मेरो क्लासमा मैले चिनेको म बाहेक अरु थिएन । क्लासमा बसाई पनि कहिल्यै स्थिर भएन । कहिले अगाडि, कहिले पछाडि, कहिले दाहिने पट्टि कहिले देब्रेपट्टि । क्लासमा कोहिसँग आपसी चिनजान गरिनँ । किनभने क्लासमा भएकाहरू आपसमा आ–आफ्नो समुहमा थिए । उनिहरूलाई नयाँ साथी जरुरी नै थिएन । मसँग नयाँ साथी बनाउने शिल्प थिएन । क्लास सकिएपछी बरु एक्लै लाईब्रेरी जान्थेँ वा क्यान्टिनमा बसेर सोही दिनको पत्रीका पढेर बस्थेँ । क्लास सकिएपछी भने श्रद्धासँग भेटिन्थ्यौँ । उनिसँग केही साथिहरू हिँडेको देख्थेँ म । तर उनिहरू तिनकुनेबाट मिनिबस चढेर बल्खुतिर लाग्थे । हामी नयाँबजारतिर मोडिन्थ्यौँ ।

बिहान अबेरसम्म हुस्सुले लछप्पै ढाकेको काठमाडौ बिहानभरी पनि गज्याङ्मज्याङ् कपाल लिएर पँधेरा पुगेकी पँधेर्नी जस्तै देखिन्छ । त्यो याममा हामी पनि रिमरिम उज्यालो हुँदै गर्दा कहिलेकाहिँं बाहिरिन्थ्यौँ कोठाबाट र माथी खेतै खेतको बिच हुँदै चन्द्रागिरी ताकेर जाने सडक पच्छ्याउँदै पुष्पलाल अध्ययन केन्द्र परिसर सम्म पुग्थ्यौँ । एकदिन उताबाट फर्केर आउँदै गर्दा भेटिने एउटा फँलैँचामा बसेर सोधिन्, “तिमी जहाँ जाँदा नि म सँगै गैरहेको हुन्छु, किन होला, तिमिलाई के लाग्छ?“
चोभारको डाँडा र किर्तिपुरको डाँडाको बिचबाट काठमाडौको सानो छेस्को देखिएको थियो आँखिझ्यालबाट हेरे जस्तै । म चाहिँ फलैँचाको किलामा अडेसिएर उभिएको थिएँ, “मलाई त राम्रो लाग्छ, खुसी लाग्छ ।“ उनितिर नहेरी नै फिस्स हाँसेर उत्तर दिएँ । सायद उनको हातमा सानो ढुंगा थियो क्यार । मेरो गालामा लाग्ने गरि हानिन् र भनिन् “तिमिलाई ट्युशन नै चाहिएको हो र? कि भाउ बढाउनै खोजेको? सिरियस सोधेको ल ।“ यति भनिसकेर अर्कोतिर मुन्टो बटारिन् । उसो त हाम्रो बिचमा पारिवारिक, व्यावहारिक कुनै पनि कुराहरू बाँकी थिएनन्, जो नसुनाईएको होस् । म सायद उनिप्रती आकर्षित थिएँ वा भनौँ उनिसँगको सामिप्यता प्रीय लाग्थ्यो । उनिसँगै रहँदा आफुलाई पुर्ण महसुस गर्थेँ । उनिसँग बोलिरहँदा मैले अब बोल्न र सुनाउन बाँकी मान्छे कोहि छैन जस्तो लाग्थ्यो । यस्तो महसुस योभन्दा पहिला भएको थिएन । यो मेरो प्रेम थियो वा आशक्ती मात्रै । तर आँखा अगाडि उनलाई नदेख्दा आफैलाई खोक्रो अनुभुत हुन्थ्यो । कहिलेकाही म आफैलाई अनौठो लाग्थ्यो । तर यी कुराहरू उनलाई सुनाउन उचित होला र? यहि दोधारमा निक्कै दुनदेखि उभिएको थिएँ । उनको सोधाईले मेरो शरीर एक्कासी सुन्निए जस्तो भएर झम्झमाएको थियो । टाउकोले भुइँ टेकेर खुट्टा माथितिर उभिए जस्तो लाग्दैथियो । तर मैले आफुलाई सम्हालेर त्यति उत्तर दिएको थिएँ ।

“धेरै दिन अघिदेखी म पनि यिनै कुराहरूमा पिङ् खेलिरहेको छु । हामि एक अर्कामा धेरै व्यक्त भैसक्यौँ । जिन्दगिको बाँकी यात्रा सँगै गर्न सकिन्छ कि भन्ने महसुस त भईरहेको छ मलाई पनि । यदि तिमिलाई पनि त्यस्तै लागेको छ भने “Lets us try” यति भनी नसक्दै मेरो काँधमा समातेर झट्कार्दै कराईन्, Lets us try रे! यो गेम हो र ट्राई गर्नलाई? तिमी स्योर छैनौ भने Forget it. ट्राई गर्नकै लागि चाहिँ नभन ।“ मेरो मतलब त्यो थिएन । तर त्यतिबेला मलाई केही भन्न आएन । वा के भन्नुपर्छ भन्ने नै थाहा भएन । त्यतिखेर झस्किएँ बरु, मैले उनलाई आफ्नो कुरा कसरी व्यक्त गर्ने भनेर कहिल्यै नसोँचेको रहेछु ।

कुनै पनि कुरामा अल्झिएर नबस्ने उनको स्वभाव । एकदम चाँडो तर परिपक्व निर्णय दिनसक्ने खुबी । सानोतिनो उल्झनलाई बेवास्ता गरेरै हिँड्ने तर आफुलाई सहि लागेको बिषयमा घन्टौँसम्म पनि तर्क र जिद्दी गर्ने । औसत उचाई र शारिरिक बनौट भए पनि औसत केटिहरूको तुलनामा फुर्तिलो र जाँगरिलो । कुनै पनि काममा ढिलो गरेको मन नपर्ने । जहाँ जाँदा पनि आफुलाई कम्फर्ट हुने लुगा लगाउने उनलाई मेक अप गरेको कहिल्यै देखिनँ । उनको स्थुल स्वभाव र चरित्रसँग तुलना गर्न मिल्ने अरु मान्छे भए जस्तो लाग्दैनथ्यो । हरेक चिजका बारेमा पर्याप्त जानकारी लिएर वा अध्ययन गरेर मात्रै आफ्नो धारणा बनाउँथिन् । “प्रेम प्रस्ताव केटाले मात्रै राख्नुपर्छ भन्ने मान्यता तिम्रो हो भने अहिलेदेखी चेन्ज गर । आफुलाई सहि लाग्यो भने केटिले नि राख्न सक्छ । तर मैले चाहि तिमिलाई नै हो फर्स्ट टाईम प्रपोज गरेको । तिमिलाई थाहा छ मैले कत्ती आँट गर्नुप¥यो होला? तिमी चाहिँ यसलाई ईजि लिईरैछौ ।“ अलि लजाए जस्तो आवाजमा अर्कै दिशातिर फर्किएर बोलिन् । अलि ठुस्किए झैँ पनि सुनिईन् अन्तिम वाक्यमा । “तिमिले भन्नुभन्दा पहिला नै मैले कत्ति पटक भन्न खोजेको हो । तर सकिनँ । तिमिले मेरै मनको कुरा भनिदिँदा रेस्पोन्स गर्न आएन । कुरा बुझ न ।“ म उनितिर फर्किएको थिएँ । तर उनी अगाडि फर्किएर फाँटमा बिस्तारै पहेँलिन थालेको धानबारितिर हेरिरहेकी थिईन् । रबरको फन्कोबाट फुत्किएको उनको कपाल दुबै कानको वरिपरि हावामा कावा खाईरहेको थियो । मेरो कुराले उनको मुहारमा कस्तो भाव ल्याएको थियो, त्यो देख्न पाईनँ । तर जब मतिर फर्किईन्, एक्कासि दुबै हातले अंगालो मारिन् र मेरो काँधमा ओँठ राखेर कानमा फुस्फुसाईन् । म फेरि किंकर्तब्यबिमुढ उभिएँ । एक्कासी समुन्द्रमा उठेको सुनामी जस्तो मन उम्लियो । मुटुको चाल बाहिरै देखिने गरि बढ्यो । प्रत्युत्तरमा मैले अंगाल्न नपाउँदै उनी मबाट छुटिन् र अलि पर पुगेर हाँस्न थालिन् । त्यो प्रफुल्ल हाँसो थियो, मनैबाट खुलेर आएको हाँसो । मिल्ने भए उनी चन्द्रागिरिको पहाड गुञ्जिनेगरी अट्टाहस गर्ने थिईन सायद । म भने आफ्नो खुसी व्यक्त गर्नै जानिरहेको थिईनँ । सपना वा बिपनाको दोधारमा भए जस्तो लागिरहेको थियो । तर सत्य यो थियो कि श्रद्धा मसँग थिईन् र अबको जीवनयात्राभर हामी सँगै रहनेछौँ ।

त्यो दिनदेखी एउटा नयाँ सम्बन्धको औपचारिक सुरुवात ग¥यौँ । त्यो फलैँचाबाट कोठासम्म पुगुन्जेल खासै केही बोलिएन, फगत मनसँग निरन्तर अनगिन्ती तर्कहरू गर्दै हिडिरह्यौ समानान्तर भएर । त्यसरी हिँड्दा घरिघरी नजरहरू ठोक्किन्थे आपसमा । अनायासै लाजको लाली चढ्थ्यो र फेरि यन्त्रवत पाईलाहरू चल्थे । प्रेम मित्रताभन्दा अलि बढी केअर हुने रहेछ । प्रेममा मेरो पहिलो अनुभव थियो । उनिसँग भए पछि अब मैले प्राप्त गर्नुपर्ने चिज र पुग्नुपर्ने गन्तव्य अरु छैन भन्ने लाग्ने । एक तमासको आनन्द । त्यस क्रममा दुई जना भएर थुप्रै बाटोहरू हिँड्यौँ । धेरै ठाउँ पुग्यौँ । पहिलो चोटि सँगै भएर धरहरा चढ्यौँ । स्वयंभुमा फन्का मा¥यौँ । टियूको लाईब्रेरिबाट दायाँ मोडिएर गणित विभागको पछाडिपट्टि गल्लि हुँदै खेतको आलिआलि पछ्याएर बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय कैयौंपटक पुग्यौँ । छोटो बाटोको यो हिँडाईमा श्रद्धा धेरै पटक चिप्लिएर हिलोमा भासिँदा गाली खानुपरेथ्यो । किनभने त्यो बाटो जाने प्रस्ताव मेरो हुन्थ्यो । टौदह पुगेर पानीभरी घामको छाँया हेर्दै जिन्दगीको धेरै काल्पनिक चित्रहरू बुन्यौँ ।

२०७० सालको संविधानसभा निर्वाचनको बेला निर्वाचन लक्षित उद्देश्यले हामी गाउँ फि¥यौँ । म भोजपुर उनी गोरखा । चुनावी दौडान पछिको केही समय गाउँ मै रहेँ । त्यहिँबेला सदरमुकाममा एउटा गैर सरकारी संस्थाले ठिकै तलबमा कर्मचारी खोजेको रहेछ र कुरा बुझ्न लागेँ । उता पढाइ पनि लगभग दोस्रो बर्षको परीक्षामात्र बाँकी थियो, त्यसपछिको थेसिस त जसो तसो सकिन्छ भन्ने लागेर चासो गरेको थिएँ । काम खासै जटिल थिएन, सामाजिक सचेतना मुलक कार्यक्रमहरूको संयोजन र परिचालन गर्नुपर्ने, सदरमुकाम मै बसी काम गर्न सकिने भएपछी प्रतिष्पर्धामा लागेँ । सफल भएँ पनि । यो कुरा श्रद्धालाई नि सुनाएँ, निक्कै खुशी थिइन उनी पनि । केही महिनापछि परिक्षाको तालिका आयो तर पढ्न भने बाँकी नै । तै पनि परीक्षा अवधिभरका लागि छुट्टि मिलाएर काठमाडौं पुगेँ । निक्कै मेहनत गर्नुप¥यो । श्रद्धा भने नियमित पढाईमा थिइन् । परिक्षाको समयमा मेरै कोठामा किचन बनायौँ कम्बाईन् । त्यसो गर्दा खाना बनाउने समय बचत हुन्थ्यो र तयारी गर्न नि केही सहज । परीक्षा सकेपछी तत्काल म फर्किएँ, उनी भने अब लोकसेवा आयोगको तयारी गर्ने भनेर किर्तिपुर मै बसिन् । निक्कै समयपछि टियूको रिजल्ट आयो । पास भयौँ । श्रद्धाले भने लोकसेवाको पनि परीक्षा दिएकी थिईन् तर नतिजा राम्रो आएन । टियूको रिजल्ट आएपछी भने उनलाई गाउँ मै संचालित एउटा उच्च मा.वि.ले अध्यापनको लागि बोलायो । “आफू पढेको स्कुल हो जानैपर्ने भो, केही समयपछि बरु फर्किन्छु” अन्तिममा यसो भनेर गईन् ।

अब भने काठमाडौ आउँदा पनि हामी भेट नहुने भयौँ, फोनमा मात्रै कुराकानी चल्ने भयो । अर्को बर्षको दशैँ बिदा हुनु अगाडि सँगै काठमाडौं पुग्ने सल्लाह गरेर पुग्यौँ र थेसिसको प्रारम्भिक प्रक्रिया सिध्यायौँ । आ–आफ्नै कार्यक्षेत्रमा बसेर बाकी तयारी गर्ने गरि फक्र्यौँ । अफिसको काम, अनि थेसिसको काम गर्दै निक्कै सकसूुर्ण तरिकाले काम गर्नुप¥यो । प्रोजेक्टको भोल्यूम पनि बढेकोले अफिसको जिम्मेवारी नि थपिएको थियो । र पनि थेसिसलाई सकेर पहिलोपटक देखाउन लैजानु थियो डिपार्टमेन्टमा । उता श्रद्धाले नि सकेर बसेकी थिइन् त्यसैले दुबै जना सँगै भएर थेसिस बुझाउने सल्लाह ग¥यौँ । दुबैले समय निकालेर काठमाडौ आउने निधो भयो ।

नयाँ बर्ष सकिएर भर्खर अफिसको काममा केन्द्रित हुँदै गर्दा अचानक छुट्टि पाउन अलि सहज त थिएन । यद्यपि अरुबेला प्रसस्तै समय दिएर काम गरिरहेकोले बिदा नदिन पनि अप्ठ्यारो भयो क्यार अफिसमा । एक हप्ताको छुट्टि अप्रुभ भयो । शुक्रबार झोला टिपेर सदरमुकामबाट गाउँ फर्किएँ । थेसिसको सबै सेटअप सकेर ल्यापटपमा थन्क्याएको थिएँ । त्यसलाई प्रीन्ट गरेर बाईन्डिङ्ग गर्न मात्रै बाँकी थियो । एक पटक गाईड प्रोफेशरलाई रुजु गराउने र मात्रै फाईनल गर्ने गरि तयारी सकेको थिएँ । शुक्रबार एकरात घरमा बसेर शनिबार बिहानै बाटो लागेँ । श्रद्धालाई भने नजिक पर्ने भएकोले शुक्रबार नै काठमाडौ पुगिन् । म चाहिँ शनिबार साँझ मात्रै पुग्ने भएँ ।

श्रद्धासँग भेट भएकै समय तीन बर्ष नाघिसकेको थियो । प्रेमको सुरुवात पनि सायद भेट हुने बित्तिकैदेखि भएको थियो । भेटिएकै दिनदेखि हामी उत्तिकै आत्मिय थियौँ । उत्तिकै नजिक थियौँ र प्रीय पनि । उनिप्रतिको मेरो पहिलो नजर नै सकारात्मक बनेको थियो क्यार । दश लिटर जाने दुईवटा खाली ग्यालिन बोकेर धैर्यताका साथ पानी भर्ने लाईनमा उभिएकी उनी अन्य केटि मान्छेहरूको तुलनामा फरक स्वभाव र आकर्षण देखिएकी थिईन् । शान्त तर गम्भीर मिजास, सामान्य कुराकानीमा मुस्कुराउने, बोल्दा आँखा जुधाएरै बोल्नुपर्ने, अरुको तर्कको सम्मान गर्ने उनका गुणहरूले नै कायल बनाएका थिए मलाई । उनी पनि भन्थिन्, “तिमिलाई त मैले आईपुगेकै साँझ नोट गरेकी थिएँ । तिमी खासै अरुको वास्ता नगर्ने रैछौ । तर भलाद्मी र डिटरमाईन्ड मान्छे लाग्यो । अलिली ह्यान्ड्सम नि छौ !” अनि उनी छड्के परेर चोरी नजरले हेर्दै हाँस्थिन् । आफुलाई ह्यान्ड्सम भनिएकोमा मलाई सा¥है चित्त बुझ्दैन भन्ने कुरा थाहा भएपछि प्रायः उनको जिस्काउने शब्द नै यहि थियो । “केटिहरू ह्यान्डसम केटा मन पराउँछन् भन्ने त थाहा छ नि । अनि मैले मन पराएको मान्छे मलाई ह्यान्डसम नलाग्नु त ?” म रिसाएको देखेपछी उनको घुर्की हुन्थ्यो यो ।

चैत बैशाखको घाम उसै पनि चरचरी पोल्ने हुन्छ । अझ अफिसमै बसेर घोत्लिरहने काम गर्दा हिँड्ने बानी कम भएछ । ५÷६ घन्टामा सदरमुकामबाट घर आईपुग्ने मान्छे म लगभग ८ घन्टा जतिमा मात्रै पुगेँ लखतरान भएर । लामो समयसम्म घर नआएकोले म आउने खवर दिनासाथ घरमा कुखुरा काटिएछ । बाबाले तिते निकालेर बनाउनुभएछ । म घर पुग्दा गाई बस्तुलाई घाँस लाईदिने समय भएको थियो, मान्छे चिन्न सकिने गरिको साँझ । बाबालाई गोठमै भेटेँ । आमा कुखुराको मासु पकाउँदै हुनुहुन्थ्यो । बहिनी कक्षा १२ को परीक्षा आउनै लागेकोले हातैमा किताब बोकेर अगेना छेउमा पढ्दै थिईन् । “तँ पढ्न हो कि मासु खान अगेना छेउमै बसेकी ?” दैलोबाटै देखिएकी बहिनिलाई जिस्काएँ । उसले नजिकमा भएको दाउराको थुप्रोबाट सानो चाहिँ दाउरा टिपेर झट्टि हानी । “तिमेर्को बिहोरा थालिहालेउ नि फेरि ।” सिलौटामा मसला पिँध्दै गरेकी आमाको पुरानै लय सुनेँ । बाबा मभन्दा अगाडि भित्र छिरेर तिनचुला बिचको खरानी, मर्चाको धुलो र हर्रोलाई खुर्केर पानीमा मिसाई मुन्धुमी शैलिमा वाही(सेतो÷चिल्ले कटुस)को पातले मेरो शरीरमा छर्किनुभयो । “यो तिमिहरू कै दर सन्तान हो । पछि तिमिहरूलाई पुज्ने पनि यहि नै हो । तिमिहरूको थान–थानमा मानभाऊ राखिदिने पनि यहि हो । आज नटेक्ने ठाउँमा टेकेर आए पनि, नखाने कुरा खाएर आए पनि यतिखेर तिमिहरूकै आछापिछामा आईपुगेको छ । यसको रक्षा गरिदिनु, भूल गल्ती क्षमा गरिदिनु ।” पितृहरूलाई सम्बोधन गर्नुभयो बाबाले ।

घरभन्दा टाढा ठूलो खोला वा सगर÷नदि तरेर हप्ता दस दिनभन्दा लामो समय बिताएर घर फर्किएपछि बाबाले यसैगरी मलाई घरभित्र प्रवेश गराउनुहुन्थ्यो । सदरमुकामबाट एउटा ठिक्कको खुकुरी र ढाका टोपी बाबालाई ल्याईदिएको थिएँ । आमाको लागि पस्मिना बर्को । बहिनिलाई आधा तोलाको सुनको सिक्री । उसको पहिलो माग नै थियो कि म जागिरे भएपछि पहिलोपल्ट उसलाई उपहार दिनुपर्नेछ । घरमा यति उपहार किन्दा मेरो त्यतिञ्जेलको करिब आधा तलब खर्च भयो । तर परिवारमा त्यसले लाखौँमा किन्न नसकिने खुसी ल्याएको थियो । बाबाले अँध्यारैमा भए पनि ढाका टोपी शीरमा लाउनुभयो । नयाँ खुकुरी दापसँगै अत्यन्तै मायालु पाराले मुसार्दै आफ्नो सिरानिमा राख्नुभयो । आमाले आफ्नो बर्कोलाई अति जतन र मायाका साथ सुम्सुमाउनुभयो, मानौ भर्खरै जन्मिएको बच्चालाई आफ्नी आमाले पहिलोपटक सुम्सुम्याएकी हुन् । बहिनी त त्यसै पनि फुरुङ्ग थिई । सिक्री लगाएर आफ्नो कोठातिर कुदिहाली ऐना हेर्न । मुसुमुसु हाँस्दै आई र भनी, “दारेलाई अब चै लोभी भन्दिनँ । तर अब एउटा स्क्रीनटच मोबाईल चै चाईन्छ है ।” उसँग क्यामेरा जडित मोबाईल फोन त थियओ नै तर अब फेरि उसको डिमान्ड थपियो । मलाई दारे भन्ने उसको जन्मजात अधिकार जस्तै हो । दाँत साटिने बेलामा झगडा गरेर समयमा उखाल्न मानिनँ । दाँत अर्कै ठेगानामा पलाएर दाह्रा बनेकोले आमाले दारे भन्नुहुन्थ्यो सानोमा । आमाले त भन्न छोड्नुभयो तर बहिनिले भने बोलाउने नाम नै दारे बनाई । म भने उसलाई ढाडि भन्छु । ऊ बहिनी भएर सबैको माया पाई । काममा त्यति दुख परेन । सानोमा अलि अल्छी थिई । सानैदेखि मोटाउन थाली । मोटि भएकिले मेरो लागि ढाडी भई ।

भोलिपल्ट बिहानै उठेँ । भर्खर आंँगनको खोरमा भाले पहिलोचोटी बास्दैथियो । आमा भने अघि नै उठेर खाजा बनाउँदैहुनुथ्यो । कोठाबाटै आमाको अगेनाको धन्दा सुन्दैथिएँ । आगोको धुँवाको राग पनि कोठासम्म आईपुगेको थियो । मेरो सामानहरू सबै तयारै थियो । सुत्ने बेलामा श्रद्धासँग कुरा गरेको थिएँ । सबेरै भएकोले फोन गर्न मन लागेन । उठेर बाहिर निस्किएँ । “उठिस्? लु हात मुख धुएर आईज । अबेला भैजान्छ फेरि । घाम चर्किनु अघि नै सिम्लेपुल कटिस भने कोशिको हावाले गर्मीमा सितल हुन्छ ।” आमाले सुनिहाल्नुभएछ मेरो चाल । अगेनाबाटै अह्राउनुभयो । चौघेरानिरको ट्याङ्किमा जोडिएको धारामा हातमुख पखालेँ र अगेनामा पुगेँ । तातो भात र हिजैको अलिकती तिते साथमा कुखुराको सुपवाला मासु तयार थियो मेरो लागि । म कतै जानुप¥यो भने आमाले जहिले पनि मेरो लागि यस्तै खाजा तयार गरिदिनुहुन्छ । अझ पहिला त तीन चुला र आफ्नो पैतालाको टीका लगाईदिएर पठाउनुहुन्थ्यो । अचेल भने त्यस्तो गर्नुहुन्न । खाजा खाएर कोठामा तयार झोला टिपेर बाहिर निस्किएँ । अर्को कोठामा सुतेकी बहिनिलाई कराएँ, “ऐ ढाडी ! तेरो भाग नि राख्देको छु है मासु । उठेर खा । म एक हप्तामा फर्केर तेरो परीक्षा लिन्छु । अलि राम्रो पढिराख् ।” आमाले सँधै मलाई बहिनिभन्दा बढी खानेकुरा दिनुहुन्छ, बिशेषगरी मीठो खानेकुरा हुँदा । तर मलाई मेरो भाग मध्येबाट छुट्याएर बहिनिलाई नदिई चित्त बुझ्दैन, यो सानैदेखिको बानी थियो । तर बहिनिले कहिले पनि आफूले मागिनँ मेरो भाग न त मैले उसलाई दिन नै छुटाएँ । ऊ मेरो लागि सबैभन्दा प्रीय र आत्मिय छे । नाके स्वरमा के के भन्दैथिई बहिनि म भने आमासँग बिदा भएर निस्किएँ ।

बाबाले हिजै एउटा ठिक्कको लठ्ठी बनाईदिनुभएको रहेछ । “टाढाको बाटो हिँड्दा लठ्ठी बोक्नुपर्छ ।” यो बाबाको पुरानो वाक्य हो । प्रायः टाढाको यात्रामा जाँदा मेरो लागि लठ्ठी ठिक पारिदिनु बाबाको नियमितता हो म सानै हुदादेखि । हिजो टेकेर ल्याएको लठ्ठी दाउराको थियो । त्यतिकै आँगनमा फालिराखेँथेँ । सिकुवाको दलिनमा सिउरिएको लठ्ठि निकालेर बाटो लागेँ । घरमाथिको कुईनेटो कट्दै गर्दा आँगनको भाले दोस्रोपटक बास्दैथियो । लठ्ठिको सहाराले हिजोको हिडाईले दुखेको पासुलाहरू बिस्तारै गतिशिल बनाउँदैथिएँ । कानमा ईयरफोन लगाएर सदाबहार नेपाली गितहरू सुन्दै हाते टर्चको फोकसमा हिँडिरहेँ ।

करिब डेढ घन्टापछि लाईट निभाएर झोलामा राखेँ । झोलाको बाहिरी गोजिमा बोकेको बोतल निकालेर पानी पिएँ । अरुबेला जस्तो मेरो रफ्तार थिएन । लामो समयपछिको हिँडाई र हिजोको हिडाईको थकान दुबै मिसिएर मेरो गति धिमा थियो । तैपनी ओरालोमा लठ्ठिमा अडिँदै झरेँ । ओरालो कटेपछी निरन्तर तेर्सै तेर्सो हिँड्नुपर्ने मचुवाटारको मैदानी बाटो घामको राप नछिप्पिँदै कट्नु थियो । त्यसैले कतै आराम नगरी बिस्तारै हिँडिरहेँ । अरुण नदिबाट सिर्सिर् बतास उकालिँदैथियो । सायद हिऊँ पग्लिन थालेर होला अरुणमा पानीको घनत्व अलि बढेको थियो । म त्यहिँ बतासमा बयेली मार्दै सिम्लेपुल पुगेँ । अरुबेला म खाना खान बराहक्षेत्र पुग्थेँ करिव ११ बज्दै गर्दा । तर मेरो हिँडाईको रफ्तार घटेकोले यो पटक सिम्ले मै खाना खाने निधो गरेँ । घाम छिप्पिन लागेकोले बराहक्षेत्र पुग्न निक्कै समय लाग्ने अनुमान थियो मेरो । खाना खान बसेको दोकानको भित्तामा झुन्डिएको घडिले बिहानको साढे दस बजेको संकेत गर्दैथियो । मैले टर्च निभाएको ठाउँदेखि नै मोबाईलको टावर देखिएको थिएन । निक्कै खोँचको बाटो भएकोले मोबाईल टावर हम्मेसि भेटिन्न । खाना खादै गर्दा पनि चेक गरेँ । मोबाईल अझै टावर बिना नै थियो ।

खाना खाईसकेर झोला टिप्दै गर्दा ११ बजेको थियो । बिस्तारै लठ्ठिको टेको लगाउँदै सिम्लेमाथिको उकालो चढ्न थालेँ । अरु पनि म जस्तै झोला बोक्नेहरूको हुल ओहोर दोहोर गर्दैथियो । केही बर्ष पहिला झोला बोक्नेहरू अत्यन्तै थोरै, ढाकर बोक्नेहरूको लस्कर ज्यादा हुन्थ्यो त्यो बाटोमा । तर गाउँगाउँमा सडक सञ्जाल पुगेपछी ढाकर–तोक्माहरू थन्किए । कैँयौँ पटक आफुले पनि तोक्मामा ढाकर अड्याएर खुईय गरेको त्यो समय सम्झिँदै उकालो कटेँ । त्रिबेणिको फाँट पुग्दा दुधकोशी र अरुण मिसिएको देखियो । दुधकोशी साँच्चै अरुणभन्दा अलि सेतो देखिन्छ सँधै । भेटिएर निक्कै तलसम्म पुग्दा पनि अरुण र दुधकोशिको पानी छुट्याउन सकिने गरि दुई खालको देखिन्छन् । “दूध जस्तै सेतो देखिने पानी बग्ने भएरै दुधकोशी भनेको हो त्यल्लाई ।” पहिलोचोटी ढाकरमा सुन्तला बोकेर चतरा झर्दै गर्दा काकाले सुनाएथे ।

अरुबेला बाटो हिँड्ने मान्छेहरू सबैलाई छोडेर म अघि अघि लाग्थेँ । तर यो पटक त्यो तागत भएन मसँग । त्यसैले हलुका झोला बोकेका चार जना अधबैँसे मान्छेहरूको पछिपछि हिँडिरहेँ । उनिहरू आफ्नै सुरमा गफिईरहेका थिए । सायद सिम्लेमा नबिसाई हिँडेका थिए उनिहरू । त्रिवेणिको नरिवल बिस्कुट फ्याक्ट्री कटेपछिको भेटिने एउटा दोकानमा बसे उनिहरू । म भने फटाफट पुलतिर लागेँ । झोलुङ्गे पुल कटेर टाङ्केरा पुगेपछी गोजिमा बोकेको मोबाईलमा घन्टी बज्यो । श्रद्धाको फोन आएको रहेछ । “कहाँ पुग्यौ? फोन गर्न नि बिर्स्यौ कि कसो?“ रिसिभ गर्नासाथ सोधिन् । “टावर नै थिएन अघि खाना खाएर हिड्दा । अहिले बल्ल आएछ । म अरुणको तिरैतिर भिरको बाटो आईपुग्न लागेँ अब । एक घन्टा जतिमा गाडी चढ्ने ठाउँ पुग्छु । “श्रद्धालाई मैले हिड्ने यी सबै बाटाहरूको बारेमा पहिल्यै भनिसकेको थिएँ । “बोल्ने सुरमा खुट्टा सहि ठाउँमा नटेकिएला राई जि । अलि होसियार हुनु ।” जिस्क्याईन् । “यो बाटो त आँखा चिम्लेर पाईला गनिगनि हिँड्न सक्ने भईसकेका हुन्छौँ हामी । पानी पंँधेरा नै हो हाम्रा लागि त । “मैले अलि बढी नै गफ दिएँ । “पछि सँगै आउँदा चाहिँ तिमिलाई मैले डो¥याउनै पर्छ यो बाटोमा । “ठट्टा गरेँ मैले । “त्यत्ती धेरै चाहिँ पर्दैन ल । हामी नि भिरपाखा चहारेकै मान्छे हुम् । नहेप्दा हुन्छ ।” ठुस्किहालिन् उनी । श्रद्धा बाहिर हिँडिरहेकी थिईन् । पुतलिसडकमा एक जना साथिलाई भेट्ने र केही किताबहरू किन्ने काम भएकोले उता जान लागेको कुरा गरिन् ।

ज्याखामा भएको उनको कोठा बन्द नै हुन्थ्यो । उनी कहिलेकाही आउँथिन् । “काठमाडौ आईरहने काम पर्छ । अरुतिर बस्नै मन लाग्दैन । यतै अलि शान्त हुन्छ । भाडा तिर्दै गर्ने बन्दै गरेर छोड्ने बरु ।”, उनी भन्थिन् । मेरो पुरानो कोठामा भने केही समयअघि काकाको छोरा स्नातकोत्तरका लागि काठमाडौ आएको थियो । हामी हिँड्दै निक्कै बेर कुरा ग¥यौँ । उनी पाङ्गा चोकमा केहिबेर बस कुर्न उभिईन् । तर बस आएन । “बरु पाङ्गा दोबाटो जाऊ न । एकछिन् त हो । त्यहाँ त जत्ती गाडी पाईहाल्छ नि ।” मैले नै सम्झाएँ । हामी निक्कै खेप त्यसरी गएका छौँ । निक्कै समयको अन्तरमा मात्र त्यहाँ गाडी आउँथ्यो । तर पाङ्गा दोबाटोमा भने किर्तिपुर आउने हरेक गाडिहरू पाईन्थ्यो । मेरै सल्लाह अनुसार उनी हिँड्दै पाङ्गा दोबाटोतिर लागिन् । हामी बोलिरहेकै थियौँ । म अक्करे भिरको बाटोमा थिएँ । घुम्तिखोला पुग्नु अघिको एउटा डाँडामा बिसाएँ । घाम निक्कै चर्किसकेको थियो । अरुण नदिबाट चिसो हावा बहँदो थियो । म डाँडाको ढुंगानिर अडेस लागेँ । प्राय म भिरको टुप्पोमा बस्दिनँ । टुप्पोभन्दा वरै बस्छु । टुप्पोमा अलि डर लाग्छ । बोल्दा बोल्दै श्रद्धा एक्कासी चिच्याईन् र फोन काटियो । मिलिसेकेण्डमा मैले “के भयो?“ भनेर सम्झिन नपाउँदै चारैतिर हल्लिएको आभास भयो । बसेर उठ्दै गर्दा कहिलेकाही त्यस्तो हुन्थ्यो । त्यही सोँचे । तर हल्लिने क्रम रोकिएन । बरु भित्तामा अड्याईराखेको झोला बाटोमा लडिझ¥यो । भिरको बिचतिर अडिएका ढुंगा माटोहरू ह्वार्ह्वार्ती खस्न थाले । त्यसपछी सम्झेँ, “यो त भुकम्प रहेछ । म भित्तामै टाँसिएँ । म बसेको ठाउँमा भने माथिबाट खस्ने सम्भावना कम थियो । निक्कैबेरसम्म जिऊ नै हल्लिरहे झैँ लागिरह्यो । त्यसपछी मोबाईल हेरेँ । बिहानको ११ बजेर ५५ मिनेट गएको रहेछ । श्रद्धासँग हामी २२ मिनेट बोलेका रहेछौँ । फेरि पनि मोबाईलको टावर थिएन । एकछिनमा झोला र लठ्ठि टिपेर बिस्तारै बाटो लागेँ । मोबाईल हातमै थियो । निक्कैबेरपछी टावर त देखियो तर फोन कतै लागेन । घरतिर गरेँ । बल्ल लाग्यो । मलाईभन्दा उता धेरै पीर रहेछ । “सबै जाती नै छ यता । केही भाको था लागेको छैन गाउँमा ।” बाबाले ढुक्कको खवर सुनाउनुभो । म पनि बराहक्षेत्र पुगेको झुटो कुरा बताएँ, अक्करेमा छु भन्दा पीर थपिएला भनेर । त्यसपछि श्रद्धालाई निरन्तर फोन गरेँ । फोन लागेन । भाईलाई पनि गरेँ उसको पनि लागेन । बराहक्षेत्र पुग्नुअघि नै फेरि अर्कोपटक हल्लायो । बराहक्षेत्रमा पुग्दा हल्लाखल्ला व्यापक थियो । केही पुराना संरचनाहरू भत्किएका, मान्छेहरू त्रस्त भएको देखिन्थ्यो । गाडिवालाहरू हतास देखिन्थे । निक्कै बेरको पर्खाईपछि जिपको यात्रामा चतरा पुगेँ । त्यहाबाट नि फोन गरेँ । श्रद्धाको फोन लागेन । भाईकोमा लाग्यो । “हामी त सेफ छौँ । तर सबै बाहिर खेतमा बसिराखेको यतिखेर ।“ उसले भन्यो । श्रद्धाको बारेमा सोधेँ । हिजो आएको मात्रै थाहा पाएको कुरा ग¥यो । “मान्छे त सोत्तरै पारेछ रे यार । धरहरा नि ध्वस्तै छ रे । यताको पुरानो घरहरू नि सब चिलिम् छ रे ! स्याला बाँचिन्न कि क्या हो ।” अन्तिममा काठमाडौको भुकम्प अपडेट सुनायो । म थचक्क भएँ । चतरा बस स्टेन्डमा हल्लाखल्ला उस्तै थियो । “फेरि पनि हल्लायो नि ।” भिँडमा कोहि कराउँदैथियो । मान्छेहरू यत्रतत्र छरिएका थिए । स–साना छाप्री दोकानतिर ठेलमठेल गरिरहेका थिए । दिउँसो तीन बजे धरान जाने बसमा बसेँ । दिनैभरी पीर लागिरह्यो । बिचमा निक्कै पटक भाईलाई फोन गरेर श्रद्धाको बारेमा सोधेँ । तर ठोस खवर आएन । उनको फोन लगातार लागेन । धरान पुगेँ । टिकट काउन्टरहरूमा बुझ्दा गाडी नचल्ने कुरा गरे । मन त्यसै अत्तालिरहेको थियो । “भोलिसम्ममा बाटोको स्थिती अपडेट हुन्छ अनि मात्रै थाहा हुन्छ, गाडी चल्ने कुरा ।” अत्तालिएका काउन्टरवालाहरू भन्दैथिए ।

मेरो वास धरानमै भयो । उता भाईहरूको विद्यार्थी सँगठनले आफ्नो वरपर क्षति पुगेको ठाउँहरूको स्थिती बुझ्ने र सम्भव भएसम्म उद्दार कार्यमा लाग्ने सल्लाह भएछ दिउँसो । मैले उसलाई श्रद्धाको अन्तिम लोकेशन दिएको थिएँ । साथिहरूसँग जम्मा भएर पाङ्गा दोबाटोतिर लागेछन् । त्यहाँ पुग्नु अघि नै कैँयौँ पुराना घरहरू ढलेका, मान्छेहरू फँसेका र घाईते भएकाहरूको दर्दनाक अवस्था देखेछन् । श्रद्धा मुल सडकको बाटो नगएर गाडिहरू नहिड्ने बाटोबाट जाँदैथिईन् । त्यहिँ बाटोको छेउमा बनिरहेको एउटा घरको तेस्रो तला केही दिन अघि मात्रै छापिएको रहेछ । सर्टिङ्ग सहितको सोही छत बाटोभरी थुप्रीएको थियो । मैले सुनाएको लोकेशनको स्थिती भाईले सुनाउँदा म खङ्ग्रङ्ग भएँ । घडीको सुईको यात्रा लम्बिदै जाँदा मेरो पनि ढुकढुकिको रफ्तार उस्तैगरि तेज भैराखेकै थियो । कतै भिँडमा सुरक्षित बसिरहेकी छिन् कि भन्ने झिनो आशा पनि लगभग टुट्न लाग्यो । त्यो छत खस्दा घाईते हुनेहरू त्यही वरपरका थिए रे, तिनलाई अस्पताल लगिएछ । भाईहरूको टोलिले थुप्रीएको छत पन्छाउन थालेछन् । अन्ततः श्रद्धा त्यही छतमुनी पुरिएकी थिईन् ।

म काठमाडौ जान सकिनँ । गाउँ फर्किएर सदरमुकाम पुगेँ । पराकम्प आउने क्रम जारी थियो । भत्किएका संरचना, घाईते मान्छेहरू, मर्ने मान्छेहरूको विवरण थपिने क्रम जारी थियो । भौतिक संरचना मात्र होईन मानवीय, सामाजिक संरचनाहरू समेत तहसनहस भएका थिए । घाईते मान्छेहरू निको हुँदै गएपनी मनमा लागेका घाउहरू निको नहुने रहेछन् । पश्चतापको आगोले पोलिरह्यो मलाई । ‘मैले पाङ्गा दोबाटो जानू नभनेको भए त्यो दुर्घटना हुने थिएन । मेरो कारण श्रद्धाले ज्यान गुमाईन् । मैले उनको हत्या गरेँ ।’ मनमा निरन्तर प्रतिध्वनित भैरह्यो ।

तीन महिनापछी जागिर छोडेर म काठमाडौ पुगेँ । थेसिस बुझाएँ । भुकम्पपछि पुनर्निर्माण कार्यहरूको चर्चा चल्दैथियो । कुनै न कुनै रुपमा म सो काममा सहभागी हुन चाहन्थेँ । भाईको साथिहरू मार्फत कुराकानी चलायौँ । केही समय काठमाडौमै बित्यो । एक बर्षपछि भने श्रद्धाकै गाउँमा पुनर्निर्माण कार्यक्रम अन्तर्गतको काम गर्न पुगेँ । त्यहाँ पुगेपछी भने एक प्रकारको सन्तुष्टि मिलेको अनुभुति गरेको छु । श्रद्धा यो संसारमा नभए पनि उनले टेकेको माटोमा हिँडिरहेको छु । उनले छोएको चिजहरूलाई छुन पाएको छु । उनले फेरेर छोडेको श्वास मैले लिए झैँ लागिरहेको छ । जहाँजहाँ उनका आँखाहरू ठोक्किएका थिए त्यहिँ मेरा आँखाहरू ठोक्किन्छन् । लाग्छ त्यतै कतै छुटेका होलान् उनका आवाजहरू, उनका मुस्कानहरू । म तिनैसँग आँखा चिम्म गरेर बात मार्छु ।

दिलिप बान्तवा