November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कविता

15.6K

परिवर्तनले नछोएकी मेरी आमा’

Advertisement

भन्छन्, गाउँघरमा आमूल परिवर्तन आयो
समाजिक रुपान्तरण भयो
विकासले हरेक झुपडीमा चुम्यो
अभावको अँध्यारो पनि हट्दै गयो
तर उस्तै छ, दमले पिडित मेरी आमाको दश चिरा परेका पैताला
र, खुईलिएको तालु
न दिन न रात, न भोक न तिर्खा
लेकबेंसी गरिरहेकै छिन
परिवर्तनको रङसम्म देख्न नपाएकी मेरी आमा ।

सहजता र सुविधा सम्पन्न दुनियाँमा
क्रोनिक दमको रोगी मेरी आमा
खकार र पिपले भरिएको फोक्सो लिएर
उकुसमुकुस हुदै ,स्वाँस्वाँ गर्दै
उराठ लाग्दो चिहाने डाँडाको उकालो उक्लिरहेछिन् ।

रोपेकै हो बरपिपल चिहाने डाँडामा पुर्खाका नाउँमा
ऊबेला विकास थिएन
आज शीतल ताप्ने चौतारी छैन
दशकर्म गरी जोडी बाँधेका ती बरपिपल छैनन्
छ त केवल मेरी आमाको दम बढाउने धुलाम्मे बाटो
जहाँ आमाका फुटेका पैताला
सयौ पटक ग्वाम्म भासिएका छन् ।
आमाले देख्दादेख्दै
बँेसीको अङ्गालो भरिको मूलपानी धारो सुक्यो
सीम खेत बाँझिन थाल्यो
मगमगाउने बास्मती चामल पाइन्न अब आमाको ठाउँमा
सास धान्नलाई किनुवा चामल खानै प¥यो
तैपनि कतै बसाइँ सर्न मान्दिनन् आमा
भन्छिन् पुर्खाको प्रसादले सराप्छ रे !
भन्छिन, डोलीमा भित्रिएँ, सोलामा निस्कुँला !

परिवर्तन ल्याँउछु आमा भन्थ्यो, माइलो छोरो
यहिँ आमाका आँखै अगाडि म¥यो
काँधका गोलिगठ्ठा सहित कम्ब्याटमा निस्किएको
हरेक पल झल्झली याद आउँछ
आमूल परिवर्तन गर्छु भन्थिन् छोरी
अरु पनि धेरै भन्थि
आमा चिन्ता नगर
एकदिन हामी सुखि हुनेछौँ,
सम्मानित जीवन बाँच्नेछौ
तिमी पनि बिषेक हुनेछ्यौ ।
नजिकै ठुलो अस्पताल बन्नेछ
हामीसँग पनि पैसा हुनेछ
तिमीले पनि मीठो खान,राम्रो लाउन र आरामले बाँच्न पाउनेछ्यौ
आमा ढुक्क भएर बस !
म मर्ने छैन
बाँचेर क्रान्ति सफल पारेर फर्किनेछु
यदि फर्किनछु भनेपनि मेरो नाउँमा सालिक बन्नेछ
वीरताको इतिहास रचिनेछ ।
यस्तैयस्तै अरुपनि धेरै भन्थि माइली छोरी
ऊ अझैँ बेपत्ता छे
बाँची या सहिद बनी
पत्तो पाउदिनन् आमा !
भन्छिन, जिउँदो भए आउली नभए…
उसको बाटो हेरेर आँखाको पानी सुकाउँला ।

वषौं भयो बाउ थलिएको
उनकै पीरले एकोहोरो छन्
न आउने बाटा छन्
भरोषा दिने सन्तान सम्झेर ल्याउदा कटक्क मुटु खान्छ
नौ नारी गल्छन्, आमाको व्यथा देख्दा
कलेजो चस्केर आउँछ
परिवर्तनका बाहकहरूको खबर कस्ले बताउँछ ?
कस्ले सुनाउँछ ?
कस्ले समेट्छ उनिहरुलाई ?
कहाँ अटाउँछन् उनिहरू ?
कुन सालिकमा ?
कुन दस्तावेजमा ?
आमा यहि प्रश्नको उत्तर खोज्दै आफुलाई जिताउँछिन्
आफूलाई बिताउँछिन्
यो प्रश्न उनिहरूलाई हो
जसले झुठको खेती गरेर, आश्वसन बाँडेर
मेरी आमा जस्ता कैयौं अमुकलाई
दुःखको गर्तमा फसाए परिवर्तनको नाउँमा ।

यी बेसहारा आमाबुबाका क्रन्दन र दुःख बाँड्ने
खै को देखियो यहाँ ?
जसका लक्का जवान छोराछोरी
क्रान्तिको नाममा वली चढे
आज उनैका आमा बाबु बिरामी पर्दा उपचार पाउदैनन्
उनका हुलिया बेचेर
बिचौलियाहरूले छलाङ मारे
तर साँच्चै पीडितलाई कुनै परिवर्तनले छोएन
झन् दुख र अभाबको दुश्चक्रमा रुमल्लिरहेछ जीवन
घर न घाट ,पक्ष न विपक्ष भएर
परिवर्तनको नाउँमा आफ्नोपन, आफन्त र सर्वश्व गुमाएर ।

सुष्मा दाहाल,फेदाप,तेह्रथुम