लण्डन – कुमार नगरकोटीको कथा संग्रह ‘कल्प-ग्रन्थ’को वितरण शुरु भएको छ । प्रसिद्ध लेखक एवम् पत्रकार नारायण वाग्लेलाई उनको ‘पूर्व-भुक्तान-प्रति’ लेखक नगरकोटीद्वारा हस्तान्तरण गर्दै यसको वितरण शुरु भएको प्रकाशक बुक-हिलले जनाएको छ । गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी पाठकबाट ‘पूर्व-भुक्तानी’ लिई ‘लिमिटेड एडिशन’ मुद्रण भएको किताब कोभिड-१९ को संक्रमणले जनजीवनमा प्रभाव पारेपछि वितरण रोकिएको थियो ।
विभिन्न शैलीका प्रयोगात्मक ७० वटा कथा रहेको ‘कल्प-ग्रन्थ’को आफ्नो प्रति हात पारेपछि नारायण वाग्लेले भने, “मुद्रण र यसको प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्नेछ, यो एउटा मानक किताब बन्नेछ ।”
सम्पूर्ण पाठकप्रति आभारसमेत व्यक्त गर्दै देश तथा विदेशमा रहेका सबै पाठकमा वितरण गरिसक्न एक साता लाग्ने प्रकाशन गृह ‘बुक-हिल’ले जनाएको छ ।