April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कविता [सपनाहरु जिउँदै छन्]

२०७७ फाल्गुन १७

7.2K

डा. संगीताश्रेष्ठ ‘स्वेच्छा’

सपनाहरु जिउँदै छन्

मृत्यु जगजाहेर छ
सोधेर आउन्न
मृत्युको समाचार
त्यो पनि
ढोका ढकढकाएर आउन्न
तरपनि,
त्यो अप्रत्याशित खबर
अपत्यारिलो थियो
अविश्वासनीय थियो
अझ,
अकल्पनीय थियो ।

Advertisement

त्यो दृढ अभिलाषा
हँसिलो मुहारले सिंचेको
त्यो जोशिलो अभियान
एक सामाजिक अभियन्ताले रचेको
त्यो सुन्दर बाटो
एक पथपर्दशकले कोरेको
सबैले कुरिरहे
आँखा ओभानो नभएसम्म ।
तर,
उनी आएनन्
बस् समाचार आयो
यही भन्दै
कोरोनाको निर्मम बाढीसंगै बग्यो
कोरोनाको हुरीसंगै उड्यो
एक अनन्त यात्रामा
कहिल्यै नफर्किने गरी लम्क्यो
बस् यसरी नै
कोरोनाको कहरसंगै
साथ हाम्रो पनि छुट्यो ।

तर, ती कोरिएका बाटाहरु
यथावतै छन्
बुनिएका ति सपनाहरु
अझै जीवितै छन्
परदेशमा देशको अस्तित्व गाड्ने
स्वदेशमा परदेशको शिक्षा बाँड्ने
त्यो परिकल्पना
उनको त्यो सपना
मर्ने छैनन्
ति खनेका बाटाहरु
खेर जाने छैनन्
किनकि
मृत्यु त केवल
भौतिक रुपमा भएको छ
सपनाहरु त यथावतै छन्
त्यसैगरी,
ति सपनासंगै सपना देख्ने
कयौं जोडी आँखाहरु
त्यो सपना पुरा गर्ने
आज नयाँ सपना पनि त देख्दैछन् ।
………………………………………………………………………………………………………………..
नोटः यो कविता डा। संगीताश्रेष्ठ ‘स्वेच्छा’ले डा। चन्द्र लाक्सम्बाको श्रद्धान्जली सभामा वाचन गर्नुभएको थियो । उहाँ नेपाल अध्ययन केन्द्र युके (CNSUK)मा रिर्सच असोसियटको रुपमा कार्यरत हुनुहुन्छ । नेपाल अध्ययन केन्द्र युकेका संस्थापक संयोजक तथा वरिष्ठ अनुसन्धानकर्ता डा। चन्द्र लाक्सम्बाको गत महिनाबेलायतमा निधन भएको थियो ।