काठमाडौं । यतिबेला हिन्दु नारीहरुमाझ तीज पर्वको रौनक छाएको छ । विश्वभर छरिएर रहेका नेपाली नारीहरु तीजे भाकामा छमछपी नाचेको भिडियोहरु सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । उल्लासको पर्व तीजमा नाचेको भिडियो टिकटकमा भाइरल भइरहेको छ । तर, तीजको छेकोमा ‘काला चश्मा’ बोलको हिन्दी गीतमा नाचेको भिडियो किन भाइरल भइरहेको छ ? यो विषय आश्चर्यलाग्दो छ ।
विशेषत साडी पहिरिएर ‘डग्गी स्टाइल’मा उत्तेजक रुपमा नाचेको भिडियो सामाजिक संजालमा ट्रोल बनिरहेको छ । सोही काला चश्मा गीतमा अभिनेत्री एलिजा गौतमको साडी डान्स यतिबेला सामाजिक सञ्जाल तथा टिकटकमा भाइरल भइरहेको छ । सोही डान्सका कारण एलिजाले चर्को आलोचना पनि खेप्नु परेको छ ।
सञ्चारकर्मी ऋषि धमलाकी श्रीमती एलिजाको डान्स बलिउड अभिनेत्री नोरा फतेहीको डान्ससँग नमिलेपछि थप चर्चाको विषय बनेको हो । तर त्यो भन्दा पनि उनको ग्लामरस र उत्तेजक शैलीको विषयलाई लिएर धेरैले ब्यङग्य गरेका छन् ।
वास्तवमा नयाँ नयाँ हिन्दी गीतलाई कभर भिडियो बनाउँदै आएको नर्वेजियन युवाहरुको समूह ‘क्विक स्टाइल स्टुडियो’ले उक्त गीतमा आफ्नो फरक प्रश्तुती दिएको थियो । सो समूहले ‘काला चश्मा’लाई पनि आफ्नै स्टाइलमा टिकटकमा भाइरल बनाए । हात र घुँडा टेकेर नाचेर उनीहरुले गीतलाई टिकटकमा अपलोड गरेपछि एकाएक भाइरल बनेको थियो । सोही स्टाइललाई नेपालीहरुले पनि सिको गरेका हुन ।
हिन्दी चलचित्र ‘बार बार देखो’पाँच बर्ष अघि नै तयार भएको उक्त गीतको भिडियोमा सिद्धार्थ मल्होत्रा र कट्रिना कैफ नाचेका छन् । तर भिडियोमा ‘डग्गी स्टाइल’ देख्न पाइँदैन तर नेपालीहरुले तीज माहोलमा गीतलाई भाइरल गराइदिएका छन् । केही दिन अघि सरकारी पोशाकमा सजिएका महिला कर्मचारीहरुले सोही गीतमा नाचेको भिडियो अपलोड गरेपछि माफी नै माग्नु परेको छ । नेपाली मौलिक गीतलाई प्रोत्साहित गर्नुको साटो हिन्दी गीतलाई प्राथमिकता दिएको भन्दै आलोचना भइरहेको छ ।
यद्यपी, पछिल्लो समय टिकटकमा देखिएका अश्लील दृश्यका कारण सामाजिक कुरिती बढ्ने देखिएको छ । नेपालमा टिकटकमा अपलोड भएका भिडियोका बारेमा उजुरी गर्ने माध्यम नहुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै संवेदनशील मानिएको छ । विशेषगरी अरुको खिल्ली उडाउने वा यौन हिंसाका घट्ना बढ्नसक्ने बताइएको छ ।