नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) शुक्रबारदेखि देशरको ६५ वटा हलहरूमा प्रदर्शन हुँदैछ । साउन २६ मा चलचित्र विकास बोर्डमा ‘च्यारिटी शो’ गरिएको यस चलचित्रलाई सन् २०२१ मा कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग गरिएको थियो । ‘महानगर’ इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभल तथा हालै भारतको जागरण फिल्म फेस्टिभलमा पनि छनौट भएको छ ।
ओम चेम्जोङको निर्माण रहेको ‘महानगर’ को मुख्य भूमिकामा कर्मा शाक्य र मेनुका प्रधान रहेका छन् ।
चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो । साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा चलचित्रले ‘मोस्ट इलिसपिरेश्नल थीम’ अवार्ड तथा कर्माले अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए ।
महानगरले कस्तो व्यापार गर्ला त ? महानगर बारे निर्माता ओमकुमारी चेम्जोङसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:
चलचित्र ‘महानगर’ भोली (शुक्रबार) देखि प्रदर्शनमा आउँदै छ, कस्तो अपेक्षा राख्नुभएको छ ?
– काम गरिसकेपछि प्रतिफलको अपेक्षा अवश्य गरिन्छ । ‘महानगर’ बाट सकारात्मक अपेक्षा राखेको छु ।
चलचित्रको विशेष कुन पक्ष, जसले दर्शकलाई हलसम्म डोहोर्याउला ?
– यश फिल्ममा मान्छे-मान्छे बीचको मानवीय संवेदना, र महानगर भित्रकाे यथार्थलाई उजागर गरिएको छ । यही पक्षलाई दर्शकले रुचाउनुहुनेछ भन्ने लागेको छ ।
पछिल्लो समय निर्माण भएका कम चलचित्र मात्रै सफल बन्छन्, कारण के होला जस्तो लाग्छ ?
– चलचित्र असफल हुनुमा एउटामात्र कारण हुँदैन, धेरै कारण हुन्छन् । जस्तै; कम हल पाउनु, प्रचारप्रसारकाे कमि वा दुईटै कारण, हलिउड र बलिउड फिल्मकाे प्रभाव । यी सबै कारण हुँदाहुँदै पनि केही चलचित्र सफल भएको उदाहरण छन् ।
महानगर सफल होला ?
-त्यो त फिल्म रिलिज भएपछि थाहा हुन्छ। हामी आशावादी भने छाैं ।
समाचारमा आएअनुसार महानगर चलचित्र बिलकुल फरक धारबाट बनेको छ, रोनाधोना जनराबाट हाँस्य जनरामा रमाइरहेको दर्शकलाई महानगरले तान्ला ?
– फरकधार नै चै हाेइन, थोरै फरक बनाउन खोजेका छौं । कमर्सियल भन्दा पनि यथार्थपरक रुपमा देखाउन खाेजेकाे हाे ।यो काठमाडौंको यथार्थ हो । केही गर्ने सपना बोकेर काठमाडौं प्रवेश गरेकाहरुले यस फिल्मको कथामा आफूलाई पाउनुहुन्छ जस्तो लाग्छ मलाई ।
कतिपय चलचित्रले प्रदर्शनका लागि हल नपाएको गुनासो सुन्ने गरिन्छ नि, तपाइँको टिमले कुनै सास्ती भोग्नुपर्यो कि ?
– हामीले त्यस्तो सास्ती भाेग्नु परेन । प्रदर्शनका लागि नेपालभर ६५ वटा हल पाएका छाैं ।
चलचित्र क्षेत्रमा लगानी गर्नु भयंकर जोखिम मानिन्छ, यहाँले कतिको जोखिम मोल्नुभएको छ ?
– अहिलेको अवस्थामा चलचित्रमा लगानी गर्नु अवश्य जोखिम मोल्नु नै हो । कहिलेकाहीँ अपेक्षा नगरेको चलचित्रले राम्रो व्यापार गर्छ भने अपेक्षा राखिएको चलचित्रले दर्शकको साथ पाउँदैन । तर, म जोखिम मोल्न रुचाउने मान्छे, जाेखिम छ भन्ने बुझेरै लगानी गरेकी हुँ । त्यसैले प्रतिफल जस्तो आए पनि म सन्तुष्ट हुनेछु।
चलचित्रले लगानी उठाए या नउठाएमा तपाईका योजना निर्णय कस्तो बन्ला ? (कहिल्यै नबनाउने या अर्को बनाएर उठाउने ?
– लगानी उठाउला भन्ने आशा छ । नउठे पनि अर्को फिल्म बनाउने हाे । ‘स्कृप्ट’ हेर्दैछु।
महानगर नेपालमा मात्रै कि बिदेशमा पनि प्रदर्शन हुन्छ ?
– बिदेशमा नेपालीहरु भएको ठाउँहरूमा प्रदर्सन गर्न लाने छौं ।