सङ्खुवासभाको मादीमा जन्मिएका साहित्यकार दाजु गुरुङ (उपेन्द्र बहादुर कोरङ्गी) विगत २७ बर्षदेखि सपरिवार जोर्डन हङकङमा बसोबास गर्दै आएका छन् । हङकङमा विभिन्न साहित्यिक संघसंस्थाहरूमा आवद्ध रहेका उनी ‘हङकङ साहित्यिक साझा श्रृङ्खला’का संरक्षक पनि हुन् । साहित्यका सबै विधाहरुमा कलम चलाउन रुचाउने उनले पहिलो कथासंग्रह ‘टाँकीका फूलहरू’पछि भर्खरै दोस्रो कथासंग्रह ‘लाई–सी’ पाठकमाझ ल्याएका छन् । ‘लाई–सी’ले तमू ह्युल छोंज धीं राष्ट्रिय परिषद्द्वारा ‘बर्ष पुस्तक’को रुपमा सम्मान तथा पुरस्कार प्राप्त गरेको छ । उक्त सम्मान प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा वितरण गरिएको थियो। उनीसँग नेपाल मामिलाले गरेको कुरा यहाँ प्रस्तुत गरिएको छ ।
भर्खरै तपाईको कथासंग्रह लाई–सी बजारमा आएको छ, पाठक प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया पाइरहेको छु । पहिलो पुस्तक ‘टाँकीका फूलहरू’ को तुलनामा यसमा राम्रो प्रतिक्रिया आएका छन् । वहाँहरूको प्रतिक्रियाबाट यस पुस्तकले मलाई स्थापित कथाकारको रुपमा उभ्याएको महसुस गराएको छ । भर्खरै तमु ल्होसारको अवसरमा लाई–सी वर्ष पुस्तक घोषणा भयो । तमू ह्युल छोंज धीं राष्ट्रिय परिषद्द्वारा प्राप्त उक्त सम्मान तथा पुरस्कार प्रधानमन्त्री शेरबहादुर देउवाको बाहुलीबाट ग्रहण गर्न पाउँदा एकदमै खुशी लागेको छ ।
तपाईको अघिल्लो कथासंग्रह ‘टाँकीका फूलहरू’ र लाई–सीका बीचको समानता र भिन्नता केहि छन् ?
दुवै संग्रहका कथाहरूको उठान एउटै पृष्ठभूमिबाट भएको हुँदा यी दुवै कथासंग्रहरू करिब–करिब एकअर्कामा सम्बन्धित जस्तै छन् भन्ने पाठक प्रतिक्रियाहरू पनि आएका छन् । हुन त दुवै पुस्तकमा मैले उठाएका विषयवस्तुहरू मिल्दाजुल्दा भएका हुनाले यस्तो प्रतिक्रिया आएको हुन सक्छ । तर मैले जुन परिवेशमा बसेका हङकङवासी नेपालीहरूको जीवनलाई उजागर गरेको हुँ । त्यो उजागर गर्ने क्रममा पहिलाको संग्रहमा छुटेकाहरू दोस्रो संग्रहमा समेट्ने प्रयास गरेको छु । जसले गर्दा पाठकलाई एउटै खालको लाग्न सक्छ , र लाग्न स्वभाविक हो जस्तो पनि लाग्छ मलाई ।
तपाइँका यी कृतिहरूमा हङ्कङको परिवेश मात्रै ल्याउनुभएको छ कि कथा पनि ? हङकङमा हामीले सुनेको कथा त धेरै छन् ।
मेरो प्रयास नै हङकङको कथालाई ल्याउनु हो । परिवेश त जहाँको पनि उस्तै हो, त्यसलाई हेर्ने दृष्टिकोण र गर्ने अनुभुती मात्रै फरक हो । भौगोलिक परिवेश मात्रै हैन । विशेषगरी हङकङभित्र पनि एउटा नेपाल छ र त्यो नेपाल र नेपालीको कथा लेख्ने र उजागर गर्ने प्रयास गरेको हुँ । मैले एउटा पाटोलाई मात्रै उजागर गरेको छु, अझैं धेरै पाटाहरू आउन बाँकी नै छ ।
हङकङको कथाहरू ल्याएको हुँ भन्नुभयो, आउनै पर्ने तर आउन नसकेका कथाहरू पनि होलान् नि ?
भनिहाले नि ! एउटै चिजलाई हेर्ने र अनुभूति गर्ने तरिका फरक हुन सक्छ । विषयवस्तु त एउटै हो, मेरो अनुभुतिले सबैको अनुभुतिलाई पूर्णता दिन पनि सक्छ नदिन पनि सक्छ । तर अनुभुतिलाई छुनु ठूलो कुरा हो । यो संग्रहमा १८ वटा कथाहरू छन् । ती कथाहरूले पक्कै ती सबै पक्षहरूलाई थोरै मात्रामा किन नहोस् कहिँ न कहिँ छोएको छ ।
तपाइको लेखनको रफ्तार हेर्दा त अर्कों संग्रह पनि तयार भइसक्यो होला ?
हजुर, तयार नै त गरिसकेको छैन तर सुरु गरिसकेको छु । यदि म हङकङमै भएको भए तयारी गरिसक्ने थिएँ । तर, व्यक्तिगत कामका कारण अहिले म नेपालमा छु । कथाको स्केच तयार गरिसकेको छु ।
फेरि पनि हङकङकै कथा आउने हो ?
हजुर, हङकङकै कथा हुन्छ । तर अहिलेकोभन्दा अलिक लामो उपन्यास जस्तै कथाहरू हुन्छन् ।
यसरी रफ्तारमा संग्रहहरू ल्याउँदा गुणस्तरमा प्रभाव पर्छ कि पर्दैन ?
मलाई लाग्छ, जतिबेला जुन कुराको अनुभुती गरिन्छ त्यो लेखिनुपर्छ । त्यो समयको अनुभुतीलाई पक्रन सक्दा गुणस्तरीय सिर्जना बन्छ । मैले आज देखेको र कल्पना गरेको कुरा भोली बिर्सन पनि सकिन्छ । अथवा लेख्दा फरक पनि हुन सक्छ । म आफूमा जुनबेला जस्तो अनुभुती आउँछ त्यसलाई जस्ताको तस्तै उतार्ने गर्छु । त्यति सम्पादन पनि गर्दिनँ ।
प्रायः प्रथम पुरुषमा मात्रै लेख्नुहुन्छ नि ? आफू केन्द्रित बन्नुभएको हो ?
प्रथम पुरुष, दोस्रो पुरुष भन्दा पनि आफूलाई कसरी लेख्न सहज लाग्छ, त्यसरी नै लेख्ने हो जस्तो लाग्छ मलाई । मलाई प्रथम पुरुषमा लेख्न सहज लाग्छ । आफ्नो अनुभुती अभिव्यक्त गर्न कसरी सहज हुन्छ, त्यसरी नै अभिव्यक्त गर्ने हो । त्यसैले म आफू केन्द्रित बनेको हैन, सहजता खोजेको हो । अरुले कसरी लेख्छन्, त्यो आफ्नो ठाउँमा छ । यति हो मैले जति पनि कथाहरू ल्याएको छु, ती कथाका पात्रहरू सबै जीवित पात्रहरू हुन् ।
अघिल्लो टाँकीका फूलहरूमा पनि करिब यिनै कुरा आए ? यसलाई ब्राण्ड गर्न खोज्नुभएको हो कि ?
ब्राण्ड हैन, यो मेरो लेख्ने शैली हो । हुन त पाठकहरूबाट पनि यी कुरा आएका हुन् । मैले पनि सोचेको हुँ तैपनि मलाई यसरी नै लेख्न सहज लाग्यो । सहजता अपनाउदै जाँदा उस्तै लागेको हो ।
सहजता खोज्दै जाँदा पाठकहरूलाई मोनोटोनस हुँदैन ?
यो पनि आफ्नो हेर्ने दृष्टिकोणमा भर पर्छ । मैले विषयवस्तुलाई बाँध्न सके भने मोनोटोनस हुन्छ जस्तो लाग्दैन । विषयवस्तुलाई बाँध्न नसके लेखन फितलो हुने हो र मोनोटोनस पनि हुने हो । मेरो लेखनमा त्यस्तो छैन ।
फरक प्रसंगमा जाऔंः प्रवासमा रहेर साहित्यमा कलम चलाईरहेका सर्जकहरूलाई नेपालका सर्जक र साहित्य संघसस्थाहरूले फरक कोणबाट हेरिदिन्छन् भन्ने गुनासो तपाइबाट पनि सुनेको थिएँ , के यो सत्य हो ?
एकदमै सहि हो । यो कुरा अहिले म नेपाल आएपछि अझ धेरै कुराबाट पुष्टि भएको पाएँ । कतिले त यिनिहरूले के लेख्छन् र ? आफ्ना कुण्ठा लेख्छन्, दुःखपीडा लेख्छन् भन्ने मात्रै सोच्छन् । मेरै सामु पनि भनेको सुनेको छु । तर मलाई लाग्छ नेपालमा बसेर लेख्नेहरूको तुलनामा हामी प्रवासमा बसेर लेख्नेहरू त्यति कमजोर पनि छैनौं । नेपालमा बसेर लेख्ने सर्जकहरूसँग अध्ययन गर्ने पर्याप्त समय छ, साग्रीहरू छ तैपनि हाम्रो लेखको दम त्यति कम छैन । हामी पनि लेख्न सक्छौं, लेखिरहेका छौं । हामीसँग पनि त्यो खालको क्षमता छ, अध्ययन छ । हाम्रा कृतिहरूले पनि वहाँहरूको कृतिहरूसँग प्रतिस्पर्धा गर्न सक्छ । त्यसैले नजरअन्दाज नगर्न मेरो आग्रह पनि छ । यो राम्रो हैन । हाम्रा सिर्जनाहरू नपढ्ने त गर्छन् नै नेपालका संचार माध्यमले पनि हामी र हाम्रा सिर्जनाहरूलाई समेटिदिदैन । अर्को कुरा कसलाई कसले डोहो¥याइरहेको छ ? कसले हेरिरहेको छ ? त्यो नजरबाट मूल्याङ्कन गर्ने प्रवृत्ति पनि पाएको छु । भाषा र साहित्य राष्ट्रको लागि लेखिन्छ, यसलाई त सबैले सम्मान गर्नुपर्ने हो । तर, त्यस्तो छैन ।
तपाइले आरोप लगाइरहनुहुँदा प्रवासमा रहेका साहित्यिक संघसंस्था, श्रष्टा र नेपालमा भएका साहित्यिक संघसंस्था र श्रष्टाहरूबीच नजिकको सम्बन्ध रहेजस्तो देखिन्छ नि ? त्यसमा केहि स्वार्थ छन् त ?
हामी प्रवासमा रहनेहरूबाट चाहिँ नजिक हुने प्रयास भएको छ । यहाँका संघसंस्था र सर्जकहरू जति उत्सुक छन् त्यो भन्दा बढी हामी उत्सुक छौं । हामी नेपालका संघसंस्थाहरू र सर्जकहरूसँग जोडिन चाहान्छौं । बढी चासो हामीमा छ । त्यसको मतलब हाम्रो उपस्थितिलाई स्वीकारियोस् भन्ने हैन, हामी पनि भाषा, संस्कृति र राष्ट्रलाई माया गर्छौं भन्ने हो । हामी जहाँजहाँ छौं, त्यहाँ पनि नेपाल छ भन्ने अनुभुती होस् भन्ने चाहेको हो ।
अन्त्यमा ?
जहाँ–जहाँ नेपालीहरू बसेका छन्, त्यहाँ पनि नेपाल देश बाँचेको छ र त्यो नेपालमा उनिहरू लेख्छन्, र त्यो नेपाललाई आफ्नो मूल भूमिसँग जोड्न चाहान्छन्, त्यो प्रयासलाई नेपालका सर्जक, साहित्यिक संघसंस्थाहरू र मिडियाले पनि हातेमालो गर्नुपर्यो । जसले गर्दा हामीलाई हौसला मिलोस् । केहि दिन खोजिरहेका छौं भन्ने यहाँका श्रष्टाहरूले अनुभुती गरुन् । अब त्यस्तो खालको वातावरण बनोस्, भित्र र बाहिर भन्ने भेदभाव नहोस् । सबै ठाउँका श्रष्टाहरूलाई समान आदर र सहयोग गर्ने संस्कारको विकास होस् भन्न चाहान्छु ।