वासिङ्टन । भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा ‘अवैध रूपमा’ बसोबास गरिरहेका भारतीय नागरिकको ‘न्यायसंगत फिर्ती’ का लागि तयार रहेको बताएका छन् । बुधबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भेटेका जयशंकरले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकामा अवैधरूपमा बसिरहेका आफ्ना नागरिक फिर्ता लिन भारत तयार रहेको बताएका हुन् ।
‘यदि हाम्रा नागरिक यहाँ कानुनी रूपमा बसिरहेका छैनन् र उनीहरूक हाम्रो देशका नागरिक हुन् भने हामी उनीहरुको न्यायोचित भारत फिर्तीका लागि सधैं तयार छौं,’ उनले भनेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा अवैध रुपमा बसिरहेकालाई देश डिपोर्ट गर्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए ।
पिउ रिसर्च सेन्टरको तथ्यांकअनुसार अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेकाहरूमा भारतीयको संख्या तेस्रो स्थानमा छ । भारत पठाउने अवैध आप्रवासीहरूको प्रमाणीकरण प्रक्रिया जारी रहेको बताइएको छ ।
पछिल्ला तथ्यांकहरू अनुसार भारतले अमेरिकामा रहेका करिब १८ हजार अवैध वा कागजात नभएका भारतीयलाई निर्वासनका लागि ट्रम्प प्रशासनसँग काम गरिरहेको जनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले उक्त संख्याबारे यकिन हुन बाँकी रहेको जनाएका छन् ।
पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा अनुमानित ७ लाख २५ हजार कागजबिहीन भारतीय आप्रवासीहरू छन् । यो मेक्सिको र एल साल्भाडोरपछिको ठूलो संख्या हो ।