April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

955

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी समूहले गरेको आक्रमणमा २० जना कामदारको मृत्यु भएको छ । उनीहरूलाई गएराति गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

उक्त आक्रमणमा परेर सातजना घाइते भएको डन न्युजले उल्लेख गरेको छ ।

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउँदै आएको छ । बलुचिस्तानको एक कोइला खानीमा कार्यरत मजदुरमाथि पृथकतावादी समूहले गोली प्रहार गरेको बताइएको छ ।

Advertisement

आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भनेका छन्, ‘४० जना आक्रमणकारीहरूले राति (स्थानिय समय १२:३० बजे) आधा घण्टासम्म खानीमा गोली चलाएका थिए ।’

आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाएको बताइएको छ ।

बलुचिस्तानमा धेरै निकासी योजनाहरू बाहिरी मुलुकहरूको लगानी रहेको बताइएको छ । ती योजनाहरूमा सशस्त्र समूहहरूले आक्रमण गर्दै आएको छ ।

उग्रवादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले आइतबार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको बताइएको छ ।