काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्पबाट केही भवनहरु भत्किएका छन् । बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख छ ।
सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ ।
सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो ।
बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो । भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरु आंशिक रुपमा ध्वस्त भएका छन् । ती भवनहरु कोल्टे परेको देखिन्छ ।
पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडियो सार्वजनिक भइरहेकाले त्यता तिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ ।