काठमाडौं । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचित बनेको उनले २० दिनपछि राजीनामा दिएका हुन् ।
४६ वर्षीय रुबियालेसले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई राजीनामा बुझाएको बताइएको छ । उनले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन् ।
३३ वर्षीया हर्मोसोले चुम्बन सहमतिमा नभएको भन्दै गत मंगलबार कानुनी उजुरी दिएकी थिइन् । इंग्ल्यान्डलाई हराएर विश्व विजेता बनेको स्पेनी फुटबल चुम्बनका कारण विवादित बनेको थियो ।
व्यापक आलोचना भएर राजीनमा माग भए पनि रुबियालेसले राजीनामा दिन बारम्बार बेवास्ता गर्दै आएका थिए।
रुबियालेसले चुम्बन आपसी र सहमति भएको दाबी गरे पनि फुटबलको विश्व प्रशासनिक निकाय फिफाले अस्थायी रूपमा उनलाई निलम्बन गरेको थियो ।
विश्वकप विजेतासहित ८१ खेलाडीले रुबियालेस आफ्नो स्थानमा रहँदा राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए भने राजनीतिज्ञ, फुटबलर र सेलिब्रेटीहरू रुबियाल्सको विरुद्धमा बोलेका थिए । यस्तै प्रदर्शनकारीहरू गत साता उनको राजीनामा माग गर्न महासंघको मुख्यालयमा भेला भएका थिए ।