काठमाडौं। भारतको ‘चन्द्रयान-३’ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ । भारतले बुधबार साँझ चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्याएको थियो ।
भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्याएको यो तेस्रो पटक हो ।
भारतले ‘चन्द्रयान-३’ चन्द्रमामा अवतरण गराएकोमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘मित्रराष्ट्र भारतले “चन्द्रयान–३” नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु। मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरीक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धी हासिल गरेको छ, संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ। यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दछु।’
। चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् ।