काठमाडौँ – इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन्।
जकार्ताबाट शनिबार अपराह्न एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका सदस्यसहित ६२ जना सवार थिए। जकार्ताको सोकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको अनुसन्धानबाट खुलेको थियो।
इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार सेना समेतको सहयोगमा गोताखोरहरुले विमानको अवशेष पानीको सतहभन्दा करिब ७५ फिटमुनि फेला पारेका थिए। विमानको भ्वाइस तथा डाटा रेकर्डर भने फेला परेको छैन।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गहिरो समवेदना व्यक्त गरेका छन्।