April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

रुसको ‘विशेष सैन्य अभियान’ अब निर्णायक मोडमा

2.4K

काठमाडौं । युक्रेनविरुद्ध १६ महिना पहिले सुरु गरेको रुसको ‘विशेष सैन्य अभियान’ अब निर्णायक मोडमा पुगेको छ । जसले गर्दा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तालाई नै चुनौती बन्ने आशंका गरिएको छ ।

राष्ट्रपति पुटिनले वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनमाथि सशस्त्र विद्रोह गरेर धोका दिएको आरोप लगाएका छन् । रुसका निकै महत्वपूर्ण व्यक्तिमध्ये एकमा पर्ने प्रिगोजिनले भने यो विद्रोह नभई न्यायका लागि सुरु गरेको मार्च भनेका छन् ।

युक्रेनविरुद्ध रुसले सुरु गरेको सैन्य अभियानमा प्रिगोजिन र उनको निजी सैन्य कम्पनी वागनर समूहले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । वागनर समूहको हजारौं सैनिकले स्थल लडाइँ लडे, जसलाई जेलबाट लगेर सेनामा भर्ती गरिएको मानिएको छ ।

Advertisement

युक्रेन युद्धभन्दा पहिला पनि प्रिगोजिनको निजी सैन्य समूहले रुसका लागि भूमिका खेलेको थियो । युक्रेन युद्धका क्रममा लडाईंको कमाण्ड सम्हालेको सेना प्रमुख र प्रिगोजिनको विवाद पनि नयाँ होइन । तर अब यो विवाद विद्रोहमा बदलिने संकेत देखिएको छ ।

पूर्वी युक्रेनको सीमा क्षेत्रमा तैनाथ वागनर समूहका लडाकुहरु दक्षिणी शहर रोस्तोव–अन–डनमा प्रवेश गरेका छन् । उनीहरुको दाबी छ, त्यहाँ रहेका सबै सैन्य अड्डाहरु नियन्त्रणमा लिइएको छ । राष्ट्रपति पुटिनले पनि देशको स्थिति कठिन रहेको भन्दै रुसको रक्षामा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।