लण्डन । प्रधानमन्त्री बोरिस जोह्न्सनले आफ्नो पदबाट राजीनामा दिँदै छन् । तर उनको राजीनामापछि आगामी सेप्टेम्बरमा कन्जरभेटिभहरुले आफ्नो नयाँ नेता नचुनेसम्म जोह्न्सन कामचलाउ प्रधानमन्त्रीको रुपमा रहिरहने छन् ।
पार्टी नेता र प्रधानमन्त्रीको रुपमा उनको नेतृत्वप्रति अविश्वास जनाउँदै आफ्नै मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि जोह्न्सन कुर्सी छाड्ने मनस्थितिमा पुगेका हुन् ।
दुई दिनअघि, अर्थात गत मंगलबार आफैंले नियुक्त गरेको अर्थमन्त्री नदिम जहावीले समेत आज बिहान जोह्न्सनलाई राजीनामा दिन सल्लाह दिएपछि प्रधानमन्त्रीको टेक्ने र समाउने कुनै ठाउँ नरहेको हो । उसो त हिजो बुधबार जोह्न्सनको सबैभन्दा निकट मानिएको मित्र माइकल गोभले समेत प्रधानमन्त्रीलाई राजीनामा दिन भनेपछि प्रधानमन्त्रीले गोभलाई बर्खास्त गरेका थिए । कन्जरभेटिभ पार्टीका प्रभावशाली नेता माइकल गोभ लेभलिङ अप (स्तरिकरण), आवास, समुदाय र अन्तरसरकारी सम्बन्ध मन्त्रालय सम्हालिरहेका थिए ।
प्रधानमन्त्रीको नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्दै मन्त्रीहरुले श्रृङखलाबद्द रुपमा राजीनामा दिने क्रममा आज पनि नयाँ शिक्षा सचिव मिशेल डोनेलन र उत्तरी आयरल्याण्डका सचिव ब्रान्डन लुइसले पनि राजीनामा दिएपछि उनी बोरिस् जोह्न्सन राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।
त्यस्तै, अन्य मन्त्रीहरू हेलेन व्हेटली, डेमियन हिन्ड्स, जर्ज फ्रिम्यान, गाइ अपरम्यान, क्रिस फिलिप र जेम्स कार्टलिजले आज बिहीबार बिहान राजीनामा दिए।