भारतमा अस्पतालमा शय्या तथा अक्सिजन र औषधि नपाएर बिरामीहरूको मृत्यु भएको छ। अस्पतालहरू बिरामीहरूको भार नसक्ने अवस्थामा पुगिसकेका छन्।
अहिले अन्तिम संस्कार गर्ने ठाउँमा पनि ठूलो चाप बढेको छ। केही मसानघाटहरू अहोरात्र सञ्चालित छन्। त्यहाँ काम गर्ने कर्मचारीहरू आफूले विश्रामबिना नै दाहसंस्कार गरिदिनुपरेको बताउँछन्।
हिन्दू धर्मावलम्बीहरूका लागि अन्त्येष्टि अर्थात् दाहसंस्कार एकदमै महत्त्वपूर्ण मानिन्छ। भारतको राजधानी दिल्लीका घाटमा शव जलाउन ठाउँ नपुगेर नयाँ चिता बनाउपरेको छ। त्यहाँ घाटनजिकैका खाली ठाउँमा दाहसंस्कार गरिएको छ।
अन्तिम संस्कारका लागि आवश्यक दाउरा जुटाउन सहरका उद्यानमा भएका रूखहरू काट्न थालिएको छ। मृतकका शोकाकुल आफन्तहरूले अन्त्येष्टिका लागि लामो समय पालो कुर्नुपरेको छ।
दिल्लीमा मृतकका आफन्त र मसानघाटका कर्मचारीहरू अन्त्येष्टिमा सहभागी भएका केही तस्बिरहरू प्रस्तुत गरिएको छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।