April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतस्थित म्यान्मारका राजदूतलाई दूतावास प्रवेशमा रोक

4.4K

लन्डन । बेलायतका लागि म्यान्मारका राजदूतले आफूलाई दूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन् । समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै लन्डनस्थित म्यान्मारका राजदूत क्व ज्वार मिनले आफूलाई दूतावास प्रवेश गर्न नदिइएको जानकारी दिएका हुन् । प्रवेशमा रोक लगाइएपछि आफूले गाडीमा नै रात काटेको उनले जनाए ।

सैनिक सहचारीले कर्मचारीहरूलाई दूतावासबाट निस्किन निर्देशन दिएका बताउँदै आफूलाई अब देशको प्रतिनिधि नरहेको जानकारी गराएका मिनको भनाइ छ । म्यान्मारमा सेनाले माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएपपछि लोकतन्त्र पक्षधर नेताहरूलाई नियन्त्रमा राखेको छ ।

त्यसयता म्यान्मारका प्रमुख सहरहरूमा दिनहुँ विरोध प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा हालसम्म करिब ६ सय जनाभन्दा बढीको ज्यान गएको अधिकारवादी संस्थाहरूले जनाएका छन् । ज्यान गुमाउनेमध्ये कम्तीमा ४ दर्जन बालकालिका छन् । मिनले सैनिक नियन्त्रणमा रहेकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीको रिहाइको माग गर्दै आएका थिए ।

Advertisement

बेलायती विदेशमन्त्री डोमिनिक राबले राजदूतलाई दूतावास प्रवेशमा रोक लगाइएको घटनाको ‘भर्त्सना’ गरेकाे बीबीसीले उल्लेख गरेको छ । ‘म्यान्मारको सैनिक शासकको यस्तो बदमासीपूर्ण कार्यको हामीले भर्त्सना गर्छौं । बेलायतले म्यान्मारको ‘कु’ र बढ्दो हिंसा अन्त्यसँगै लोकतन्त्रको पुनःस्थापनाको माग गर्छौं,’ राबले भनेका छन् ।