हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूलाई लागि आर्थिक सहयोग गरेको छ । एनआरएन हङकङले एक कार्यक्रमको आयोजना गरी भूकम्पपीडितका लागि १ लाख ७ हजार ९ सय ८७ हङकङ डलर (नेपाली रुपैयाँ लगभग १८ लाख ४० हजार) सहयोग रकम हस्तान्तरण गरेको हो ।
पीडित सहयोगार्थ संकलित रकम गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को एनआरएनए ईमरजेन्सी फन्ड बैंक खातामा जम्मा गरिसकिएको एनआरएनए हङकङले जनाएको छ ।
सहयोग रकम हस्तान्तरण गर्दै एनआरएनए हङकङका प्रवक्ता विश्वनाथ घिसिङले भने, “सरकारको राहत कार्यक्रममा थोरै भएपनि टेवा दिन सक्षम भयौं ।”
भूकम्प पीडित परिवारहरूका लागि गैह्रआवासीय नेपाली संघ अर्न्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) ले ५३ लाख रुपैयाँको राहत सामग्रीमा १० लाख प्रधानमन्त्री कोषमा दिइसकेको छ ।
२०२३ नोभेम्बर ३ का दिन राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले पश्चिम जाजरकोट, रुकुमलगायतका क्षेत्रमा धेरै धनजनको क्षति भएको थियो। मानवीय र आर्थिक क्षतिमा समवेदना प्रकट गर्दै एनआरएन हङकङले हङकङमा रहेका नेपालीहरूमाझ सहयोगको आह्वान गरेको थियो ।