मोरङ । ग्रामथान गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले ५ महिनादेखि तलब भत्ता नपाएको भन्दै अषाढ १८ गतेबाट स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् । गाउँपालिका प्राङ्गणबाट नै आवश्यक स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्यकर्मीहरूले धर्ना कार्यक्रम गर्दै आएका छन् ।
६७ जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेकोमा कुल तलब भत्ता १ करोड ९६ लाख हुन्छ । हाल तलब भत्ता निकासाका लागि ४३ लाख मात्र अपुग रकम पठाएकोले स्वास्थ्यकर्मीहरू थप आन्दोलित भएका हुन् ।
पालिकामा १ प्राथमिक स्वास्थ्य केन्द्र, १ आधारभूत स्वास्थ्य केन्द्र, ५ स्वास्थ्य चौकी रहेको छ । तलब भत्ता निकासका लागि पटकपटक पालिका, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङमा तलब भत्ता निकासाका लागि ध्यानाकर्षण गराएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
पालिकामा स्वास्थ्य सेवा संञ्चालन बन्द भए सेवाग्रहीमा पर्ने असर तथा असहज परिस्थितिको जिम्मेवार स्वयम सम्बन्धी निकाय नै हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्यकर्मीहरूको माग पुरा सरोकारवला निकायले नगरेकोले सेवा बन्द गर्नुपरेको स्वास्थ्यकर्मीले विज्ञप्तिमार्फत बताएका छन् ।
स्वास्थ्य क्षेत्र सुधार तथा स्वास्थ्यकर्मीहरूको हकहित समिति ग्रामथान मोरङले स्वास्थ्यकर्मीहरूको तलब भत्ता निकासाका लागि लामो समयदेखि पहल, ध्यानाकर्षणलगायत गर्दै आएको छ ।