काठमाडौं । चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान स्वदेश फर्किएका छन् । उनी चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत शुक्रबार नेपाल आएका हुन् ।
पुन स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए ।
पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित थिए । स्वास्थ्य अवस्था निकै जटिल बनेपछि उनलाई गत १ फागुनमा चीन लगिएको थियो । उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो । चीन जाँदा उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बिन्दुमा थियो । चार महिना लामो उपचारपछि उनी स्वदेश फर्किएका हुन् ।
हाल बिलरुबिनको मात्रा घटेर १.५ बिन्दुमा झरेको उनले बताए । चिकित्सकहरुका अनुसार सामान्यतः स्वस्थ मानिसको शरीरमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । त्यो भन्दा बढी भएका जन्डिस भएको मानिन्छ । तर, पुनको शरीरमा भने सामान्य अवस्थामा पनि बिलरुबिनको मात्रा ११/१२ बिन्दु रहने गरेको थियो ।
यसअघि पुनको थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएको थियो । तर, थाइल्यान्डको उपचार विधिले काम नगरेसँगै स्वास्थ्य अवस्था नाजुक भएपछि ०७८ मंसिरमा पुनलाई बैंककबाट एयर एम्बुलेन्समार्फत सिधै चीनको सेनजेन लगिएको थियो ।
बिलरुबिन नियन्त्रित अवस्थामा रहेपछि स्वदेश फर्किएका पुनको स्वास्थ्य गत ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको धपेडीका कारण पुनः बिग्रिएको थियो ।