July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

कोभिड हुँदा ज्वरो १०३ डिग्रीसम्म पुगेको थियो तैपनि म आत्तिइनँ

4.5K

१ वर्षअघि चिनको वुहानबाट फैलिन सुरु भएको भनिएको कोभिड–१९ अहिले संसारको अधिकांश देशमा फैलिएको छ । अमेरिका, इटली जर्मनी जस्ता देशहरूमा कोभिडले आतंक मच्चाइरहेको समयमा नेपाल भने शान्त थियो । तत्कालिन समयमा कोरोना सम्बन्धि नेपाल सरकारले अपनाएको कमजोर नीति, नजरअन्दाज र नागरीकिहरूको कोभिडलाई हेर्ने सामान्य दृष्टिकोणका कारण यतिबेला कोरोना नेपालमा डढेलोको रुपमा सल्किसकेको छ । जसको कारण कतिले मृत्युवरण गरे त कति कोभिडलाई जित्न सफल भए । जसमध्ये नेपाल मामिला डटकमले जित्नेहरूको अभुवभ सहित ‘कोभिडलाई जितेपछि नेपाल मामिलासँग’ कोभिड अनुभव साप्ताहिक रुपमा प्रस्तुत गरेको छ । जसअन्तर्गत यसहप्ता साहित्यकार विना थिङको अनुभव रहेको छ ।

विना थिङ चर्चित साहित्यकार हुन् । पछिल्लो समय देश तथा विदेशमा हुने साहित्यक कार्यक्रमहरूमा विशेष वक्ताको रुपमा उनलाई आमन्त्रित गर्ने गरिन्छ । उनको कथासंग्रह ‘छुकी’ र ‘याम्बुनेर’ साथै कविता संग्रह ‘रातो घर’ प्रकाशित छन् । पेशाले उनी शिक्षक हुन् । कोभिडले उनलाई २ पटक आक्रमण गर्‍यो। यस्तो छ उनको अनुभवः

Advertisement

***

भर्खर–भखैर चिनको वुहानबाट कोभिडि–१९ फैलिदै गर्दा म समाचार हेरेर बस्थें । त्यतिबेला खासै वास्ता लागेन । जब म ‘इतर कविता’ विमोचन कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया गएँ । कोरियामा सबैजना मास्क लगाएर हिँडिरहेको देख्दा हामी अचम्ममा पर्‍यौं । कोरियानहरू हामीले मास्क नलगाई हिँडेको देखेर अचम्म परिरहेका थिए । हामीलाई यसरी घुरेर हेरिरहेका थिए कि मानौं, हामी जंगलबाट फुत्त निस्किएर आएको कुनै जनावर हौं । त्यतिबेला कोभिड १९ को आतङ्कबारे थाहा नभएर होला हामी खासै आतङ्कीत थिएनौं । १० दिनको बसाईपछि हाम्रो टिम कोरियाबाट नेपाल फर्कियो ।

हामी नेपाल फर्किसकेपछि नेपालमा पनि कोभिडको आगो सल्किन थाल्यो । लकडाउन सुरु भयो । त्यसपछि लाग्यो, साँच्चै अब मानव जीवनको प्रलय सुरु भएछ । यहि समयमा साह्रै धेरै मान्छे मर्छन् होला, बाँच्नै लेखेका एकाध मात्रै बाँच्छन् होला जस्तो लाग्न थाल्यो ।

सहर सुनसान थियो । तैपनि हामी घरको गेट, ढोका सबै लक गरेर बस्न सुरु गर्‍यौं । करिब ८/१० दिन जति त्यसरी नै बस्यौं । बाहिरबाट भित्र कोहि नपसुन् र भित्रबाट पनि कोहि बाहिर ननिस्कुन भन्ने सोचले पुरै लक गरिदिएँ । घरको गेटहरू त बन्द गरेँ तर मन अशान्त, अस्थिर थियो । कारण थियो आधा परिवार घरदेश, आधा परिवार परदेश । यस्तो लाग्यो यहि नै हाम्रो पारिवारिक अन्तिम समय रैछ । लामो समयदेखि विछोडिएको परिवार विछोडमै जीवन सकिने रैछ भन्ने लाग्यो ।

त्यो समय मेरो लागि अत्यन्तै गाह्रो समय थियो । तनाबहरू भुलाउन म गीतहरू सुन्ने, फिल्म हेर्ने, किताब पढ्ने गर्न थालें । लेख्न भने सकिनँ ।

विस्तारै लकडाउन खुकुलो हुन थाल्यो । र , खुल्यो पनि । त्यसपछि भने अब बाँचिन्छ कि भन्ने लाग्न थाल्यो । आशाहरू पलाउदै गए । विदेशतिर खोपको आविस्कार हुन थालेको समाचारहरू पनि सुन्न थालियो । ती समाचारहरूले केहि राहत मिल्यो । विदेशमा अलिक बढि नै सुरक्षा अपनाइने हुँदा विदेशमा रहेको आफन्तप्रतिको चिन्ता अलिक कम हुँदै गयो । उनिहरू सुरक्षित रहे आफूलाई त ठिकै छ भन्ने भयो । अब केहि भए मलाई हुने हो, परिवारका अरु सदस्य जिवित रहन्छन् भन्ने आशा पलायो ।

विस्तारै अभ्यस्त हुँदै गएँ । सुरक्षा अपनाएर, दुरी कायम गरी, सेनिटाइजर प्रयोग गरेर एककिसिमको संस्कृतिको रुपमा लिन थालेँ ।

दोस्रो लहरको कोरोनाबाट भने म पनि अछुतो रहन सकिनँ । कताबाट, कहिले, कसरी संक्रमित भएँ मैले पत्तो नै पाइन । कोसँग सशंकित हुने ? दुरी कायम गरेर भेटघाट भइरहेकै थियो । एक्कासी ज्वरो आयो । ज्वरो आएको ३ दिनपछि पिसिआर टेस्ट गरेँ । रिपोर्ट पोजेटिभ आयो । तर यसपटक म त्यत्ति आत्तिनँ । पहिलोपटकको पेनिक टाइममा जस्तो भएन । दोस्रो पटकको लहरमा कार्यक्रमतिर निस्किने साथिहरुसँग भेटघाट गर्ने भइरहेकोले गर्दा होला । स्कुल पनि भौतिक रुपमै उपस्थित भैरहेका थियौं । मैले अध्यापन गर्ने सरकारी स्कुलमा एन्ड्रोइड मोबाइलको पनि पहुँच नभएका परिवारबाट विद्यार्थीहरु पढ्न आउछन् । शिक्षक र स्कुलसँग मात्र नभएर पनि नहुने रैछ । त्यसैले भौतिक रुपमै उपस्थित भएर आलोपोलो गरी कक्षा संचालन गरिरहेका थियौं । त्यसैले पनि होला मलाई त्यस्तो आतंक लागेको थिएन ।

विना थिङ , साहित्यकार

कोभिड हुँदा मेरो ज्वरो १०३ डिग्रीसम्म पुगेको थियो । तैपनि म आत्तिइन किनकी मैले दोस्रोपटकको डोज भेरोसिल लगाइसकेको थिएँ । भ्याक्सिन लगाइसकेपछि त्यसको असर केहि न केहि मात्रामा सकारात्मक नै हुन्छ भन्ने धेरैको अनुभव सुनेको थिएँ । त्यसैले पनि मलाई डर लागेन । तर ५ देखि ७ दिनसम्म चाहिँ एकदमै गाह्रो बनायो । उठ्न खोज्दा उठ्नै सक्तिन थिएँ । ज्वरो आउने, औषधि खायो ६ घण्टापछि फेरी ज्वरो आउने भइरह्यो ।
त्यतिबेला मैले के महासुस गरेँ भने परिवारको स्नेह, साथिहरुको केयरिङ् र सपोर्टले साह्रै ठूलो अर्थ राख्दो रहेछ ।

घरमा नानी र मलाई एकैचोटी कोभिडले आक्रमण गरेको कारण हाम्रो केयरिङ गर्ने मान्छे भएन । सासुआमा आफै वृद्धा । वहाँले कति केयर गर्ने ! त्यस्तो परिस्थितिमा डोल्मा, लक्ष्मण श्रेष्ठ भाइ , प्रतिभा वेलबासे बुहारीले साह्रै धेरै सहयोग गरे । दैनिकजसो टिफिन बट्टामा खानेकुराहरु आइपुगिरहेको हुन्थ्यो । नरुचे पनि खानुपर्छ, इम्युनिटी वुष्ट गर्नुपर्छ, आफूलाई राम्रो हुन्छ भन्ने भएपछि आँखा चिम्लेर भएपनि खानुपर्ने रैछ, खान्थेँ पनि ।

आठौं दिनमा चाहिँ म अलिक तङ्ग्रीएँ । तर त्यति नै बेला मेरो जन्म दिने आमा पनि बिरामी हुनुभो । वहाँको कोभिड थिएन । वहाँको ‘डिस्फेजिया’ भन्ने पुरानो रोग छ । ठोस खानाहरू निल्न नसकेपनि झोल पर्दाथहरू मात्र निल्न सक्नुहुन्थ्यो तर त्यति नै बेला मलाई कोभिड हुनु, आमा पानी पनि निल्न नसक्ने अवस्थामा पुग्नुभयो । आमाको केयरिङ् गर्ने मान्छे मैं एउटा । म आफै अस्पताल जान नमिल्ने । कहिले दशौं दिन हुन्छ र हिन्न मिल्छ ? भन्ने लाग्न थाल्यो । आमा सिकिस्त हुनुहुन्थ्यो । दशौं दिनपछि चाहिँ सबै किसिमका सुरक्षाका साथ मैले आमालाई मोडेल अस्पताल लगेर एमरजेन्सी कक्षमा राखी उपचार सुरु गराएँ । ९/१० दिनसम्म दिनरात म आफै अस्पतालमा आमाको कुरुवा र हेरचाह गर्न बसेँ । आमाको केयरिङ् गरेँ । त्यसपछि आमालाई वीर अस्पतालमा सिफ्ट गरियो । त्यहीँ आमाको शल्यक्रिया पनि सफल भयो । पहिलोपटक कोभिड हुँदा मैले आराम गर्न पाइनँ । पहिलोपटक मैले कोभिडलाई जितेँ ।

करिब ४० दिनपछि पुनः ममा कोभिडको लक्षणहरू देखियो । पहिलाजस्तै ज्वरो आउने, रुघाखोकी, टाउको उठाउन नसक्ने, आँखाका गेडाहरू दुख्ने भयो । यसपटक चौथो दिनमा मैले पिसिआर टेस्ट गरेँ । रिपोर्ट नेगेटिभ आयो । तर, नेगेटिभ आएपनि पहिलो सङ्क्रमणमा कोरोनाको लक्षण जस्तो थियो, त्यहि लक्षण दोहोरियो ।

फेरि पनि तिनै साथिहरूले मेरो केयर गर्नुभयो । हौसला दिनुभयो । पहिलोपटक सङ्क्रमण हुँदा पनि धेरै साथिहरूले स्नेहपूर्वक शुभेक्षासहितको मेसेजहरू गर्नुभएको थियो । त्यसले पनि मलाई इनर्जी दियो । मलाई माया गर्ने आफन्तहरू, साथिहरू, शुभेच्छुकहरू छन् भन्ने महसुस भएपछि त्यसले एक किसिमको इनर्जी दिँदो रैछ । उत्साह जगाउदो रैछ । आफूप्रतिको माया सहितको त्यस्ता मेसेजहरू पढ्दा शरीरमा एक किसिमको कम्पन उत्पन्न हुन्थ्यो । जसले मलाई सकारात्मक उर्जा प्राप्त भएको थियो ।

आज १० औं दिन भयो । अझैँ ज्यान थकित छ । भर्‍याङमा तलमाथि गर्दा स्वाँस्वाँ हुन्छ । गाह्रो त बनाइरहेको छ नै तर हिम्मत भने हारेको छैन । म फेरी ठीक हुन्छु । केहिसमयपछि फेरी म आफ्नो जीवनको पुरानै लयमा लयवद्ध हुन्छु भन्ने विश्वास छ ।

कोरोना भाइरस आफैमा खतरनाक त हो तर त्यो भन्दा खतरनाक चाहिँ बिरामीको केयर गर्ने, उत्साह प्रदान गर्ने आफन्त र साथिहरू नहुनु झन् बढि खतरनाक हो रहेछ भन्ने लाग्यो । त्यो अर्थमा म भाग्यमानी ठहरिएँ । ती कुराहरूले मलाई बाँच्नका लागि उत्साहित बनायो । उर्जा थपिदियो जसले गर्दा म अहिले पनि रिकभर भैरहेको छु । अहिले मलाई मर्छु जस्तो लाग्दैन ।

कोभिडका कारण जतिजना दिवंगत हुनुभो वहाँहरूप्रति मेरो समवेदना छ । जति पनि दिवंगत हुनुभयो, अब यहि कारणले अन्यले मृत्युवरण गर्न नपरोस् । जसरी बेड, अक्सिजन, भेन्टिलेटर, उपचारको अभाव र अस्पतालसँगको पहुँच नभएको कारण धेरैजनाले ज्यान गुमाउनुभयो, ती दुर्घटना नेपालको व्यावस्थाको कारण भएको हो । यो राज्यले गरेको प्रणाली प्रति मेरो गुनासो छ । बाँकी त्यस्तो नहोस् ।

अन्त्यमा कोभिडलाई एउटा कल्चरको रुपमा विकास गरौं । कोभिडलाई पचाउने हिम्मत हामी सबैले प्राप्त गरौं । सबैजनाले खोप लगाउन पाउँन् । सुरक्षीत हुन पाउँ भन्ने सरकारसँग मेरो माग र अनुरोध पनि छ ।

प्रस्तुतिः सीता तुम्खेवा