March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

मानवता लजाउने हात्तीको हृदयविदारक फाँसीको सत्यकथा

5.8K

उदय पुर्वेली चोङ्वाङ्क्याक

म आज अलि फरक प्रसङ्ग लिएर उपस्थित भएको छु । हामी सबैलाई थाहा छ कि, अहिले जनावर र पशुपक्षीका संरक्षण र अधिकारसम्बन्धी विश्वमा थुप्रै किसिमका कानुन बनेका छन् । यसको कार्यान्वयनका लागि विश्वभर बग्रेल्ती संघसंस्था र अधिकारकर्मीहरु क्रियाशील रहेका छन् । तीमध्ये पनि युरोपियन र अमेरिकी नियोगहरु बढी सक्रिय भइरहेका छन् । मानवअधिकारको वकालत पनि यिनै मुलुकहरुले ज्यादा उठान गरिरहेका छन् ।

अब, हामीलाई लाग्न सक्छ कि, मान्छेलाई लागू हुने कानुन अथवा मानिसहरुले गरेको निर्णयअनुसार जनावरलाई सजाय वा कारबाही कार्यान्वयन हुन्छ ? तर कार्यान्वयन भएको नजिर रहेको छ । त्यसमा पनि विश्वकै महाशक्ति राष्ट्र कहलिएको मुलुक अमेरिकामा सम्भव भएको थियो ।

Advertisement

अमेरिकाको भर्जिनिया राज्यको इर्विन इलाकामा एसियन प्रजातिको म्यारी नामक स्त्री हात्तीलाई हजारौँ मानिसको उपस्थिति रहेको भीडको माझ बर्बरतापूर्वक फाँसीको सजाय दिईएको थियो । जुन हात्तीलाई आज मर्डरस म्यारी नामले पनि चिनिन्छ, चिनाइन्छ । जसको वजन ४५०० किलो रहेको थियोे । म्यारीको जन्म सन् १८९४ मा भएको थियोे भने २२ वर्षको उमेरमा १३ सेप्टेम्बर १९१६ मा अमेरिकाको भर्जिनिया राज्यको टेनेस्सी स्थित इर्विन भन्ने स्थानमा यसलाई फाँसी दिईयो ।

यसै इर्विन सहरदेखि ४० किमिको दूरीमा किङ्स् स्पोर्ट्स भन्ने स्थानमा सर्कस प्रदर्शनी मेला लाग्दथ्यो । सन् १९१६ ताका त्यहाँ स्पार्क्स वर्ल्ड फेमस सोज नामक सर्कस प्रदर्शनीको आयोजना सुनिश्चित गरिएको थियो । उक्त सर्कसका मालिक चार्ली स्पार्क्स थिए । त्यसका लागि आफ्ना सम्पूर्ण टिम र बन्दोबस्तीका सामानसहित १९१६ सेप्टेम्बरको पहिलो हप्तामा चार्ली स्पार्क्स त्यहाँ पुगेका थिए । उनको टिममा सुरक्षागार्डदेखि लिएर मेनेजर, स्टाफ, कलाकार, जनावर लगायत अन्य थुप्रै सहयोगीहरु महिनौँसम्म एकसाथ रहन्थे । यसकारण म्यारीका मालिक पनि उनै चार्ली स्पार्क्स नै थिए ।

सर्कस प्रदर्शनीको समय नजिकै आइसकेको थियो । सर्कसको मुख्य आकर्षण वा जनावर पात्र म्यारी नामक हात्ती थिइन् । त्योभन्दा पहिलेका दिनहरूमा म्यारीले जहाँ–जहाँ आफ्नो कला प्रदर्शन गरिन् , त्यहाँ उपस्थित सम्पूर्ण दर्शकका मन जितेर अथाह स्नेह र प्रशंसा बटुल्न सफल भएकी थिइन् । विशेषगरी केटाकेटीका माझ सर्वाधिक लोकप्रिय भइन् । उनको मनमोहक कला हेरेर केटाकेटीहरु अति नै मोहित हुन्थे । किनभने; उनले आफ्नो सुँडको माध्यमबाट २५ भन्दा बढी प्रकारका सुमधुर संगीतका धुनहरु प्रस्फुटन गर्थिन् । साथै उनी बेसबल खेल्थिन् , नृत्यको अभिनय गर्थिन् ।

तर जब म्यारीलाई किङ्स् स्पोर्ट्समा पु¥याइयो, तब आफ्नो मालिक स्पार्क्ससँगको केही असन्तुष्टिका कारण म्यारीका माहुतेले हठात् काम छोडेर अन्यत्रै गए । सर्कस प्रदर्शनीको सुरुवात गर्ने समय अत्यन्तै कम भएको मौकामा माहुतेले अचानक काम छाडेकाले स्पार्क्समा मानसिक दबाब र तनाव बढिरहेको थियोे । उनमा, माहुतेको खोजी कसरी गर्ने ? कहाँ खोज्ने ? भन्ने प्रश्नहरु र नपाएको खण्डमा ठूलो नोक्सानी बेहोर्नुपर्ने पीरले उनलाई नराम्ररी सताइरहेको थियोे ।

“भोकालाई खीर” भनेझैँ उनी भौँतारिरहेकै अवस्थामा वाल्टर रेड इल्ड्रिज नामक एकजना युवक स्पार्क्सको सम्पर्कमा आए । वास्तवमा उनी रिभरसाइड होटलका एक पूर्व कामदार थिए । योभन्दा पहिले उनमा हात्तीको रेखदेख, स्याहारसुसार र नियन्त्रण गर्ने आदिका बारेमा कुनै ज्ञान र अनुभव थिएन । यद्यपि उनले म्यारीको रेखदेख आफूले गर्नसक्ने कुरामा स्पार्क्सलाई विश्वास दिलायो । यसो हुनुमा उनले काम गर्दैगरेको होटलका मालिकले उनलाई कामबाट निकालिदिएका कारण उनी बेरोजगार भएका थिए । उनलाई जसरी पनि काम चाहिएको थियो भने स्पार्क्स माहुतेको खोजीमा दिनरात छट्पाटाइरहेका थिए । यसले गर्दा, स्पार्क्सले इल्ड्रिजलाई माहुते कामदिन राजी भए । दुवैजनाले तत्कालको समस्याको समाधानको बारेमा मात्र सोचे, गरे ।

त्यसपछि इल्ड्रिजलाई म्यारीको लागि खाना खुवाउने, पानी पिलाउने र कन्ट्रोलमा राख्नका लागि मुख्य टेक्निकल आइडिया लगायतका केही आधारभूत तरिकाहरु मात्र सिकाइयो । इल्ड्रिजलाई खासगरी हात्तीलाई निर्धारित मार्गमा हिडाउँन दायाँबायाँ कान र टाउकोमा तान्ने अङ्कुसे (Control hook) प्रयोग गर्ने तरिका सिकाइयो । इल्ड्रिजले पनि त्यसै मुताविक म्यारीको रेखदेख गर्नुका साथै हिँडडुल गराउन थाले । तीनचार दिन बितिसक्दा पनि सबै क्रियाकलाप ठीकै तवरले चलिरहेको थियो ।

लगभग सर्कस प्रदर्शनीको समय आइसकेकाले स्पार्क्सले प्रचारप्रसारका लागि ११ सेप्टेम्बरका दिन किङ्स् स्पोर्ट्समा म्यारी लगायत सम्पूर्ण युनिट संलग्न रहेको परेड निकाले । परेडको दौडानमा बिग म्यारीको माहुतेको जिम्मेवारी इल्ड्रिजले सम्हालेका थिए । सडकका दायाँबायाँ किनारामा दर्शकहरूका भीडको ताँती लागेको थियोे । यसरी हिँडिरहेकै बखतमा बिग म्यारीको कसैले खाएर फ्याँकेको तरबुजोको एउटा टुक्रोमा पर्नगयो । उनी त्यतातर्फ लम्किने प्रयास गरिन् । इल्ड्रिजले दायाँतर्फ मोड्नलाई अङ्कुसेको प्रयोग गरे । तैपनि राइट ट्रयाकमा ल्याउन इल्ड्रिजलाई बहुतै मुस्किल परिरहेको थियो । इल्ड्रिजले म्यारीको आनीबानी र स्वभाव राम्रोसँग थाहा नपाएका कारण उनले जोडतोडले तीनचार पटक म्यारीको कान र टाउकोमा अङ्कुसेले सन्काए । यसकारण म्यारी रिसले चुर भइन् र उनको सुँड उठाएर इन्ड्रिजलाई आकाशतिर हुत्याइदिइन् । इन्ड्रिजको शरीर भुइँमा खस्नासाथ उनको एउटा खुट्टाले टाउकोमा टेकेर मारिदिइन् । तर भीडमा रहेका त्यत्रो सयौँ हजारौँ मानिसहरूलाई केही गरिनन् । केवल आफूलाई अत्यन्तै खान मनलागेको तरबुजो खान नदिएको र अति नै दुख्नेगरी आफ्नो कान र टाउकोमा अङ्कुसेले सन्काएका कारण इन्ड्रिजसँग आक्रोशित भई उनकै मात्र हत्या गरेकी थिइन् ।

यसै बखत भीडमा म्यारी पागल भएको हल्ला गुञ्जियो । त्यहाँ उपस्थितमध्ये एकजनाले पेस्तोलद्वारा म्यारीलाई केही गोलीसमेत प्रहार गरे । तर पेस्तोलको गोलीको क्षमता कम मात्र भएकाले अजङ्गकी म्यारीलाई खासै असर पु¥याउन सकेन ।

परिस्थिति बिथोलिएकाले भएभरको विवेक र जुक्ति अपनाएर म्यारीलाई नियन्त्रणमा लिई उनको बासस्थान तर्फ लगियो । तर विडम्बना ! उपस्थित भीडको माझबाट “म्यारी मुर्दावाद ! म्यारीलाई मारिदेऊ” को चर्को आवाज उठ्नथाल्यो । तत्कालीन समयमा भीडतन्त्रको फैसलालाई कसैले नकार्न सक्तैनथे । भीडले म्यारीलाई मृत्युुदण्डको सजाय नगरेसम्म कुनै पनि हालतमा स्पार्क्सलाई सर्कस सञ्चालन गर्न नदिने अडान लिए । सर्कस प्रदर्शन रिजेक्ट गर्दा स्पार्क्सको ठूलो धनराशिको लगानी डुब्ने निश्चित थियोे । त्यसकारण स्पार्क्स ठूलो राशिको लगानी फसाउनुभन्दा बिग म्यारीलाई गुमाउनु नै आफूलाई लाभदायक हुने निचोडमा पुगे ।

त्यसपश्चात स्पार्क्स र इर्विन सहरका नेताहरुबीच व्यापक छलफल भयो । ती सहरका मुखियाहरुले आक्रोशित भीडको अडानसामु आफूहरुको पनि केही सीप नलाग्ने बाध्यता स्पार्क्सलाई बताए । अन्ततः उनीहरूबिच बिग म्यारीलाई मृत्युुदण्डको सजाय दिने सहमति भयो । तर मृत्युुदण्ड दिनलाई कुन विधि वा तरिका अपनाउने भन्ने बारेमा अन्योलता सिर्जना भयो । छलफलका क्रममा रेलवे स्टेसनमा लैजाने, अनि म्यारीको अगाडि र पछाडिका खुट्टाहरु अलगअलग र फरकफरक डोरीले कसेर दुइतर्फ विपरीत दिशामा चल्ने रेलको इन्जिनको बीच भागमा म्यारीलाई राखी म्यारीका अगाडि र पछाडिका खुट्टाहरुमा बाँधिएका डोरीहरु ती विपरीत दिशामा चल्न तयार अवस्थामा रहेका दुवै इन्जिनका पछाडिपट्टि एक–एक वटा कसिदिने अथवा दुइवटा औलाहरुको माझमा रबर ब्यान्ड राखेर तन्काइने जस्तो पोजिसन बनाउने । यसपछि दुइवटै इन्जिन एकैसाथ विपरीत दिशामा हाँक्ने । यसोगर्दा म्यारीको शरीर च्यातिएर तीन टुक्रामा विभाजित भई उनको मृत्यु हुन्छ भन्ने एकथरीका सल्लाह थियोे ।
कसैले विद्युतीय करेन्ट सर्ट गराएर मार्नुपर्ने सुझाए भने कसैकसैले विष पिलाउनुपर्ने त कोहीले सिधै गोली हानेर हत्या गर्नुपर्ने आदेशमूलक सुझाव दिईरहेका थिए ।

यी विभिन्न प्रकारका रायसुझावहरुलाई किनारा लगाएर स्पार्क्सले एउटा अर्को जुक्ति रचे । उनले बिग म्यारीको मृत्युुलाई समेत तमासामा बदलेर सर्कस प्रदर्शनीकै एउटा हिस्साको रुपमा सार्वजनिक तवरले म्यारीलाई फाँसीको सजाय दिने घोषणा गरे ।
यसपछि फेरि अर्को जटिलता देखाप¥यो । त्यत्रो ४५०० केजी ( कसैले ५ टन अथवा ५००० केजी पनि भनेका छन् ) को हात्तीलाई फाँसी दिन अवश्य त्यति सजिलो थिएन । यसको लागि उपायको खोजिगर्ने सिलसिलामा सहरका मानिसहरुसँगको छलफलमा किङ्स् स्पोर्ट्सदेखि ४० किमि टाढा इर्विन सहरमा एउटा नयाँ रेलवे यार्ड बनिरहेको र त्यहाँ ५० टनसम्मको वजन उचाल्ने क्षमताको क्रेन पाइने स्पार्क्सलाई जानकारी प्राप्त भयो । उक्त जानकारी पश्चात् म्यारीलाई त्यसै स्थानमा फाँसी दिने अन्तिम निर्णय गरियो ।

सेप्टेम्बर १२ का दिन म्यारीलाई निर्धारित स्थानमा पु¥याएर ट्रेनको बग्गीमा बाँधियो । सेप्टेम्बर १३ का दिन अपरान्ह ४ देखि ५ बजेको समयमा करिब २५०० मानिसहरूको उपस्थिति रहेको भीडको सामुन्ने म्यारीको फाँसीको सजाय सुरु भयो । सुरुमा म्यारीको गलामा विशाल क्रेनको चेनले बाँधियो । त्यसपछि क्रेन चालक जल्लादले म्यारीलाई भुइँबाट उठाउँने क्रममा करिब ५ उचाइमा पुग्दा क्रेनको चेन चुडिएर अजङ्गकी म्यारी नराम्ररी भुइँमा बजारिन पुगिन् । शरीरको तौल अत्यधिक भएका कारण यसरी भुइँमा बजारिदा म्यारीको ढाडको हड्डी टुटेकाले उनी उठ्न नसक्ने अवस्थामा पुगिन् । म्यारी तड्पीरहेकी थिइन्, छट्छटाइरहेकी थिइन् , कन्निईरहेकी थिइन् । तर बन्धन, बाध्यता र विवशताले निरीह थिइन् , बेसहारा थिइन् । हजारौँ मानवरुपी खाँटी पशुहरुका माझ नितान्त एक्लो थिइन् म्यारी ।

यस्तो हृदयविदारक अवस्थामा पुगेपछि पनि तमासा जारी थियोे । पुनः दोस्रोपटक अत्यन्तै मजबुत चेनको प्रयोग गरी क्रेन चालक जल्लादले म्यारीको अर्धमृत शरीरलाई उठाएर १५ फिट उचाइमा ४५ मिनेटसम्म झुन्ड्याइरहे । निक्खुर पशुका जमातहरु खुसीसाथ तमासा हेरिरहेका थिए । त्यसपछि वरिपरिका पशुका जमातहरुले म्यारी निस्प्राण भइसकेको बताएपछि जल्लादले विस्तारै म्यारीलाई भुइँमा झारे । यतिबेलासम्ममा पूर्णरूपमा म्यारीको प्राणवायु उडिसकेको थियो ।
त्यसैदिन राती त्यहीँ रेलवे यार्डमा खनिएको तयारी अवस्थाको खाल्डोमा म्यारीको मृतशरीरलाई गाडिएको थियोे ।

अन्त्यमा;
आजभन्दा १०५ वर्ष अगाडि बिसौँ शताब्दीको सुरुवात भइसकेको अवस्थामा अहिले दुनियाँलाई मानवअधिकार र एनिमल राइट पढाउने अमेरिकाजस्तो मुलुकमा मानव जातिको इतिहासमा प्रतिष्ठा र विवेकशीलता नै लज्जित हुने यस्तो अमानवीय,अत्यन्तै क्रुर र मानव कलङ्कको दर्दनाक घटना घटित हुनुमा व्यापारिक मानसिकतामा पैसाले अड्डा जमाएका कारण मानवताको मृत्युु हुनु र आफूले दक्षता हासिल नगरेको जोखिमपूर्ण कार्य गर्न उद्धत वाल्टर रेड इल्ड्रिज जस्ता डेढअक्कल जोशका युवक साथै जनावरको मनस्थिति र वस्तुगत यथार्थतालाई विश्लेषण र मूल्याङ्कन गर्न नसक्ने र घटना घट्नुको मुख्य कारण खोतल्ने विवेक नभएका विवेकहीन भीडका कारण जमीनमा बसोबास गर्ने पृथ्वीकै सबैभन्दा ठूलो प्राणीका एक होनहार सदस्य बिग म्यारीको बर्बरतापूर्वक हत्या भएको थियो ।