अभिनेत्री श्वेता खड्काले भूकम्पका कारण ध्वस्त भएको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ भिमटार माझी बस्तीका ५३ घरधुरीलाई नयाँ घर बनाइदिने घोषणा गरेकी थिइन् । श्वेता श्री फाउण्डेशनमार्फत २०७४ जेठबाट एकीकृत माझी बस्ती निर्माण सुरु भएको थियो । २०७५ सालको तिहारभित्र बस्ती हस्तान्तरण गर्ने योजना अनुसार निर्माण सुरु भएको थियो ।
तर, माझी बस्ती तीन वर्षसम्म पनि निर्माण पूरा हुन सकेको छैन । यही माघ २० गते श्वेताले फेसबुक एक स्टाटस लेख्दैमा माझी बस्ती निर्माणका लागि सहयोग रकम घोषणा गर्ने दाताबाट सहयोग प्राप्त नभएको र सो बस्तीले ऋण बोकेर बसेको बताएकी थिइन् । तर, आफ्नो विवाह र पार्टीमा करोडौं खर्च गरेर माझी बस्ती चाहिँ ऋणमा डुबेर भन्नु औचित्यहिन रहेको कतिपयको तर्क छ ।
यसबीच, दुई वर्षदेखि माझी बस्ती ऋणमा डुबेको भन्दै सहयोग मागिरहेकी श्वेताले यो बस्ती निर्माणबाट हात झिकेको खुलासा भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिंह तामाङले श्वेताले माझी बस्ती निर्माणबाट हात झिकिसकेको बताएका छन् ।
