दुई हप्तादेखि काठमाडौंमा छायांकन भइरहेको फिल्म ‘तिम्रो मेरो साथ’ को टिमले सुटिङ सेटमा अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र कलाकार सन्दिप क्षेत्रीलाई बडिगार्डको व्यवस्था गरेको छ । उनीहरुको लोकप्रियतालाई मध्यनजर गरेर फिल्मको आउटडोर छायांकन प्रभावित नहोस् भन्ने हेतुले बडिगार्डको व्यवस्था गरिएको निर्देशक रमेश एमके पौडेलले बताए । पुष्प, साम्राज्ञी र सन्दिपको युवापुस्तामाझ जबरजस्त फ्यान फलोइंग भएका कारण आउटडोर छायांकनमा दर्शकको भीडभाड हुने भएकाले बडिगार्डको व्यवस्था गर्नुपरेको उनको भनाई छ । यो फिल्मको ६० प्रतिशत छायांकन पूरा भइसकेको छ । अब केही दृश्य र गीतको छायांकन मात्र बाँकी रहेको निर्देशक पौडेलले जानकारी दिए । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।
आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भइरहेको फिल्मको पटकथा तथा संवाद सविर श्रेष्ठले तयार पारेका हुन् । प्रेमकथामा आधारित यस फिल्ममा सरोज खनाल, खबपु, इमिली लामा, ध्रुव दत्तको पनि मुख्य भूमिका छ । योगेश काजीको संगीत रहेको फिल्मका निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् ।