काठमाडौं । चर्चित गायक उदितनारायण झा फेरि चर्चामा आएका छन् । महिला फ्यानलाई चुम्बन गरेपछि अत्यधिक विवादमा आएका झा पुनः पूर्व श्रीमतीसँगको मुद्दालाई लिएर चर्चामा आएका हुन् ।
गायक झाको जेठी पत्नी रञ्जना झाले भरणपोषणको मुद्दा दायर गरेकी छन् । उदितले आफ्नो अधिकार हनन गरेका र सम्पत्ति हडपेको रञ्जनाको आरोप छ ।
यस मुद्दामा उदितले भने शुक्रवार सुपौल फ्यामिली कोर्टमा उपस्थित भएर कुनै पनि सम्झौतामा सहमति गर्न अस्वीकार गरेका छन् । पूर्व पत्नी रञ्जनाले अहिले पनि आफूबाट पैसा लिइरहेको उनको आरोप छ ।
यसअघि रञ्जनाले बिहार महिला आयोगमा पनि उजुरी दर्ता गराएकी थिइन् ।
उदितका अनुसार रञ्जनालाई प्रतिमहिना १५ हजार रुपैयाँ भरण पोषण खर्चबापत दिने गरेका थिए । सन् २०२१ मा यो रकमलाई बढाएर २१ हजार रुपैयाँ बनाइएको थियो । उदितले रञ्जनालाई खेती गर्नको लागि एउटा खेत र एक घर दिएका थिए, जसको मूल्य १ करोड भारु भनिएको छ ।
बिहार महिला आयोगका अनुसार उदितले रञ्जनालाई २५ लाख रुपैयाँको गहना र जमिन दिए । तर, रञ्जनाले ती दुवै बेचिदिइन् । रञ्जनाले आफ्नो वकिलमार्फत भनेकी छन् कि उनको बिग्रँदै गरेको स्वास्थ्यको कारण उनी बुढेसकालमा आफ्नो श्रीमान् उदित नारायणसँगै बस्न चाहन्छिन् ।
उदित र रञ्जनाले सन् १९८४ मा विवाह गरेका थिए ।




