निर्देशक निश्चल बस्नेत आइतवार आफ्नो जन्मदिन मनाउँदैछन् । वि.सं. २०३७ साल माघ ४ गते काठमाडौंमा जन्मिएका उनी ४० वर्षमा टेकेका छन् । दोस्रो सन्तानको रुपमा जन्मिएका उनका एक दिदी र एक बहिनी छन् । चलचित्र ‘लुट’ निर्देशन गरेपछि चर्चामा आएका उनी श्रीमती स्वस्तिमा खड्का र निर्देशक हेमराज विसीसँग जन्मदिन मनाउन मकवानपुरको चित्लाङ पुगेका छन् ।
निर्देशक हुनुभन्दा अगाडि निश्चल खेलाडी र गायक बन्न चाहन्थे । उनले यी क्षेत्रमा लामो समय संघर्ष पनि गरे तर सफलता पाउन सकेनन् । डेढ दशकअघि उनले गायक बन्न केही गीतहरु रेकर्ड गराएका थिए । तर, अहिले ती गीतहरु कुन कुनामा छन् उनैलाई थाहा छैन । गायन र खेलकुदमा सफलता नमिलेपछि उनी थ्रिडी एनिमेसन अध्ययनका लागि अष्ट्रेलिया उडेका थिए ।
‘लुट’ बाट नेपाली चलचित्रको धार नै परिवर्तन गरेका निश्चलले यसपछि ‘टलकजंग भर्सेज टुल्के र लुट २’ निर्देशन गरेका थिए । पछिल्लो निर्देशित चलचित्र ‘लुट २’ बाट आलोचना खेपेपछि चार वर्ष चलचित्र निर्देशन नगरेका उनी यो समयमा चलचित्र अभिनयमा व्यस्त भए ।