सुनसरी । नेपाल टेलिभिजनको ‘मेरो भ्वाईस युनिभर्स’ पहिलो सिजनमा शीर्ष ५ मा पुगेका प्रतियोगी परेश राईले मङ्गलबार धरानको भानुचौकमा दमदार प्रस्तुति दिएका छन् ।
विश्वभर प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियोगितामा विभिन्न देशका प्रतिस्पर्धीहरूलाई उछिन्दै परेश राई कोशी प्रदेशका एक मात्र ‘टप ५’ फाईनलिष्ट प्रतियोगी हुन ।
सोही भूमिकाका लागि ‘परेश राई जिताऊ अभियान’को क्रममा भानुचौकमा कार्यक्रम भएको हो । साङ्गीतिक साँझमा राईले गुराँसै फुल्यो बनैमा, मन माग मन दिन्छु, वारी जमुना पारी जमुना गायन प्रस्तुत गर्दा दर्शक श्रोताका तालीको गडगडाटले उनलाई भोटिङ गर्ने मतदाताहरू धरानमा ठुलै सङ्ख्यामा रहने सङ्केत गरेको छ ।
उनले कार्यक्रममा आँखा आँखा जुधे बेग्लै हुन्छ, चरी उड्यो आकाश छुनलाई, डाँडा घरे साइँली, फर्की जाने जोवनको भर हुन, गाई हिँड्ने गोहा जस्ता दर्जन गीत प्रस्तुत गरे । परेश राईको स्वर र गायनले प्रतियोगितामा उनको विजय सुनिश्चित देखिएता पनि उनलाई भोटिङ गरेर सघाउन अपिल गरिएको छ ।
कार्यक्रममा धरान सङ्गीत प्रतिष्ठानको अध्यक्ष तथा धरान–२ का वडाध्यक्ष रमेश राई विशेष अतिथि थिए । अध्यक्ष राईले परेश राई जस्तो धेरै सम्भावना भएको उत्कृष्ट प्रतिभालाई भोटिङमा जिताउन आर्थिक भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले प्रतियोगी राईलाई जिताउन सम्पूर्ण धराने जनतालाई आव्हान समेत गरे ।
परेस राई जिताऊ अभियान कार्यक्रम यसअघि सङ्खुवासभाको चैनपुर बजारमा भएको थियो । टप ५मा पुग्न सफल राईलाई जिताउन विभिन्न जिल्लामा साङ्गीतिक कार्यक्रम गरिने भएको छ । पूर्वका राई समुदायलाई भोटङ गर्न सहयोगको अपिल गर्ने संयोजक उमेश मेवाहाङ राईले बताए ।
गायक राईको स्थायी घर सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा–१० हो । उनी निकै मेहनतका साथ गायन क्षेत्रमा लागिपरेकोले उनलाई विजय बनाउन धरानको ठुलो भूमिका हुने भएकोले अभियान चलाएको संयोजक राईले बताए ।
गायक परेश राई आधुनिक एवं लोकगीत गायन क्षेत्रका अब्बल उदीयमान कलाकार हुन् । उनी ऊर्जावान् प्रतिभाशाली गायक भएकाले भोटिङ गरेर कलाकारिताको क्षेत्रको भविष्य उज्ज्वल बनाउन सहयोग गर्न धराने गीत, संगीतप्रेमीहरुलाई अपिल गरिएको हो ।