October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

चलचित्र ‘महानगर’ को च्यारिटी शो सम्पन्न, भदौ ८ देखि प्रदर्शनमा आउने

3.4K

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को ‘च्यारिटी शो’ सम्पन्न भएको छ । ओमकुमारी चेम्जोङको निर्माण रहेको उक्त चलचित्रको शुक्रबार चलचित्र विकास वोर्ड, सरस्वतीनगर काठमाडौँमा ‘च्यारिटी शो’ गरिएको हो ।

रिटर्नी फेडरेसनद्धारा आयोजित च्यारिटी शोमा साहित्यकार प्रगति राई, सगरमाथा आरोही तथा पत्रकार देउराली चाम्लिङ, सुबेक्षा मेन्याङ्बो लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । चलचित्रप्रति आफ्नो धारणा राख्दै साहित्यकार प्रगति राईले महानगरमा ‘पहिले आफू बाँच त्यसपछि अरुको लागि गर’ भन्ने स्लोगनमा सुन्दर बिहान देखाइएको बताइन् । उनले सामाजिक संजालबाट प्रतिक्रिया दिँदै लेखेकी छन्, ‘कथामा–काठमाडौ महानगरको अस्तव्यस्तता, नेपालीहरूले आर्थिक आयको लागि विदेश जानै पर्ने बाध्यतालाई प्रमुख घटना बनाइएको छ । रातको समयलाई कथामा लिएर समाजको दुःखको पाटोलाई उजागर गरेको छ । हरेक कष्ट्प्रद क्षण पनि टरेर जान्छ भन्ने भनाइलाई आत्मसात गर्दै “पहिले आफू बाँच त्यसपछि अरुको लागि गर” भन्ने स्लोगनमा सुन्दर बिहान देखाएर कथाको अन्त्य गरिएको छ ।’

उनले कथामा ‘सेन्स अफ ह्युमर’ प्रचुर मात्रामा पाइएको पनि बताएकी छन् । ‘दर्शक खुब हाँस्छन् । घरी–घरी रुन्छन् पनि । छोटो फिल्ममा दर्शकले इन्जोय खुबै गर्छन् । यस मानेमा कथाकार सफल छन्’, उनी लेख्छिन् ।

Advertisement

यस्तै, सगरमाथा आरोही चाम्लिङले आफू के बनाउँदैछु भन्ने चेतमा निर्देशक स्पष्ट रहेको बताएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन्, ‘काल्पनिक र जीवनसँग साइनो नभएको फिल्म ज्यादाजसो बनिरहेको अवस्थामा महानगरले सुखद आशा जगाएको छ । आफू के बनाउँदैछु भन्ने चेतमा निर्देशक स्पष्ट छन् । यस्तै सुझबुझ र दर्शन मिसाएर जीवनसँग जोडिएका धेरै फिल्म बनुन् । जसले नेपाली फिल्मलाई समृद्ध बनाउन मद्दत गर्नेछ ।

भारी बर्सातका बाबजुद पनि च्यारिटी शो कार्यक्रम सफल भएको निर्माता चेम्जोङले बताइन् । भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रलाई हेरिदिन उनको आग्रहसमेत छ ।

यस चलचित्रको सन् २०२१ मा कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो भने अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभल तथा हालै भारतको जागरण फिल्म फेस्टिभलमा पनि ‘महानगर’ छनौट भएको छ ।

चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो । साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा चलचित्रले ‘मोस्ट इलिसपिरेश्नल थीम’ अवार्ड तथा कार्मले अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए ।

यस अघि साउन ८ गते भएको विशेष प्रदर्शनको क्रममा महानगरका निर्देशक मोहन राईले विभिन्न देशका फेस्टिभलको यात्रापछि घरेलु दर्शकका लागि चलचित्र प्रदर्शन गर्न लागेको बताएका थिए । उनले चलचित्रले विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई फिल्ममार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताएका थिए ।

चलचित्र माउन्टेन रिभर फिल्मस तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको हो । चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परिलिषत झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ ।

चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली र क्रियटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । कर्मा शाक्य र मेनुका प्रधानको मुख्य अभिनय रहेको यस सिनेमामा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीलक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकार पनि अभिनय रहेको छ ।