November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

महानगर भित्रका १७ हलमा रोकियो चलचित्र ‘आदिपुरुष’को प्रदर्शन

1.6K

काठमाडौं। काठमाडौं महानगर भित्रका १७ हलमा फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ । महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरेपछि चलचित्र प्रदर्शन रोकिएको हो ।

मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकानै सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिएको छ । काठमाडौँ महानगरका ३२ वडाभित्र १७ वटा फिल्म हल छन् । ती सबै हलमा अहिले आदिपुरुष रोकिएको छ । साथै ललितपुर र भक्तपुरमा पनि सो चलचित्रको रिलिज रोकिएको छ ।

चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुषको विरुद्धको महानगरको अभियानमा साथ दिन फिल्मको प्रदर्शन रोकिएको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘आदिपुरुष’ मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन महानगरले गरेको अभियानमा हाम्रो पनि साथ छ । तर, खोक्रो राष्ट्रवादको नाममा पुरै हिन्दी फिल्म बन्द गर्नेतिर भने सहमति छैन ।’

Advertisement

यस अगाडि बालेनले आदिपुरुष नामक हिन्दी फिल्ममा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन ३ दिन समय दिँदा पनि नहटाएको भन्दै उक्त संवाद नहटाएसम्म सोमबारदेखि भारतीय फिल्म चल्न नदिने बताएका थिए ।