November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चलचित्र ‘काँडेतार’ फागुन २५ बाट प्रदर्शनमा आउने

1.8K

काठमाडौं । नवल खड्काको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘काँडेतार’ २५ फागुनबाट प्रदर्शनमा आउने भएको छ । खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

नेपाल र भारतको सीमामा काँडेतार लगाइनुपर्छ भन्ने बिषय समेटिएको फिल्मको केही दृश्य र संवादमा आपत्ति जनाउँदै सेन्सर बोर्डले रोकिदिएको थियो । केही दृश्यमा काटछाट गरेपछि सेन्सर पास भएको थियो ।

खड्काले फिल्मलाई आर्थिक अनुदान, करमा छुट, स्वदेशमा एकल रिलिजको वातावरण बनाइदिन र विदेशमा प्रदर्शनका लागि कूटनीतिक पहलका लागि सरकारसँग आग्रह गरेका छन् । ‘चलचित्र “काँडेतार”काे कथाले भन्छ, राष्ट्र र राष्ट्रियता सबैभन्दा ठुलो कुरा हाे। हामी नेपालीको स्वभिमान हुर्काउने र बचाउने यो सानाे भूगोल छ। छिमेकमा भिमकाय भूगोलयुक्त मुलुकले वरपरबाट घेरेका छन्। उत्तरमा हिमालले छेकेको छ र सीमा व्यवस्थापन छ। दक्षिणमा भद्रगोल छ। त्यता सिमाना मिच्ने, तस्करी, डकैति, चेलिबेटी बेचविखन, हातहतियारको गैरकानुनी ओसारपसार, राजस्व छलि, कालावजारी,आप्रवासी प्रवेश, आतङ्ककारी सबै ओहोरदोहर गर्ने द्वार छ। हुँदाहुदाँ भुटानी शरणार्थी, कोरोना कहरले पनि सीमा व्यवस्थापनको मागको औचित्यता सावित गर्दछ। सीमा बन्द गरौं ! प्रवेश व्यवस्थापन गरौं! सीमानामा काँडेतार लगाऔं ! यस्तै यस्तै देशभक्तिपूर्ण अभिब्यक्ति ब्यक्त भएको छ, काँडेतारमा। त्यसकारण सरकारसँग अनुरोध छ । चलचित्र काँडेतारलाई राज्यद्वारा आर्थिक अनुदान, करमा छुट, स्वदेशमा सिङ्गल प्रर्दशन गर्नै वातावरण र बिदेशमा प्रदर्शन गर्न कुटनैतिक पहल होस्।’, उनले सामाजिक संजालमा लेखेका छन् ।

Advertisement

सार्वजनिक पोस्टरमा उनी खुकुरी लिएर उभिएको अवतारमा प्रस्तुत भएका छन् । पोस्टरको पृष्ठभूमिमा काँडेतारको बार लगाएको देख्न सकिन्छ ।

फिल्ममा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीको अभिनय छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य छ । यस्तै, नवलसँगै माकिको राई र अञ्जु केसी फिल्मको निर्माता रहेका छन् भने कार्यकारी निर्माता सत्यकला राई हुन् ।

फिल्ममा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको छ ।