November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

जेठ २६ मा देशभर रिलिज हुँदै बहुप्रतिक्षित चलचित्र ‘नीरफूल’

4K

काठमाडौं । नेपाल टेलिभिजनका महाप्रबन्धक तथा लेखक/साहित्यकार फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ जेठ २६ गते देशभर रिलिज हुने भएको छ । २०७२ सालको महाभूकम्प, त्यसले पुर्‍याएको क्षती, भ्रष्ट सिस्टम, परिवारको प्रेम र पीडाको कथावस्तुमा समेटेर यस चलचित्र निर्माण गरिएको छ ।

एक पत्रकार सम्मेलनमा निर्देशक वलले भनेका छन्, ‘भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्धहरूको पुनर्निर्माण अझै बाँकी छ । नीरफूल तिनै भत्किएका सम्बन्धहरूको सानो कथा हो ।’ उनले यस चलचित्रमा भुइँचालो भएपनि भुइँचालोको कथा मात्र नभएर परिवारको सदस्य हराउँदाको कथा छ, प्रेम र पीडा साथ भ्रष्ट सिस्टम भर्सेस पहिचानको संकटमाथि फिल्म बनेको बताएका छन् ।

फूलमान वलकै पटकथा रहेको यस चलचित्रमा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्‍याल, सरीता गीरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय रहेको छ भने रेखा थापा विशेष भूमिकामा छिन् ।

Advertisement

यस फिल्मलाई धादिङको रुबी भ्याली, रसुवाको स्याफ्रुबेँसी र काठमाडौंमा छायाँकन गरिएको हो । ५ वर्ष अघि नै निर्माण गरिएको यस चलचित्र कोभिड १९ का कारण हलहरु बन्द भएपछि प्रर्दशन रोकिएको थियो ।

नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यस चलचित्रका एसोसिएट निर्देशक सचिन घिमिरे हुन् भने छायांकन प्रमोद कार्की, सम्पादन, नमेष श्रेष्ठ, संगीत अर्जुन पोखरेल र चन्द्रकुमार दोङको रहेको छ ।

यस चलचित्रको कार्यकारी निर्माता सोनाम डोमा हुन् । यस्तै, फिल्ममा निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा र इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत छन् ।