काठमाडौं । चर्चित साहित्यकार झमक घिमिरे र सिक्किमका गायक तथा संगीतकार जीवन शर्माको सहकार्यमा गजल गीत ‘सुने मैले’ सार्वजनिक भएको छ । गीत ‘जीवन शर्मा युट्युब च्यानल’बाट हेर्न सकिन्छ ।
झमकको शब्द रहेको यस गजलमा जीवन शर्माले संगीत भरेका हुन् । गजलको फिमेल भर्सनमा रजनी ऋदम राई र मेल भर्सनमा अजनीश राईले आवाज भरेका छन् । दुवै भर्सनका गजल सार्वजनिक गरिएको छ ।
झमक घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन् । प्रति मष्तिस्क रोगद्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकारमध्ये एक हुन् । जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्ने उनको खुट्टाको ३ औला मात्र चल्छ । तिनै ३ औलाको सहयोगमा उनले साहित्यक सिर्जना गरिन् । धनकुटाको कचिडेमा जन्मिएकी घिमिरेद्धारा लिखित आत्म्कथा ‘जीवन काँडा कि फूल’ उनको लोकप्रिय पुस्तक हो । यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा व्यक्त गरेकी छिन् । २०६८ सालमा उनले यो पुस्तकबाट मदन पुरस्कार पाएकी थिइन् । उनले कैयौं कविता, गीत, गजल, कथा, निबन्धको लेखेकी छन् । झमकले कविता राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्विकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७, लैनसिंह वाङ्देल पुरस्कार २०७२, प्रबल गोरखा दक्षिण बाहु, चौथो लगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन् ।
साहित्यकार झमकको यस गजललाई आफूले न्याय गरेको जीवन बताउछन् । ‘संयोगबस वहाँको गजल प्राप्त गरेपछि यसमा सुन्दर संगीत भर्ने कोसिस गरेँ । यसमा मैले न्याय गरेको छु जस्तो लाग्छ ।’, शर्माले भने ।
नेपाली मूलका भारतीय शर्मा नेपालको गीतसंगीतको अकों इट्टा हुन् । पेशाले सिक्किम सरकारको मार्केटिङ फेडरेसनमा जेनेरल म्यानेजर रहेका उनले ‘आउ हामी प्रेम गरौं’, ‘फूल जस्तै’, ‘अलिकति पिउदै छु’ लगायत करिब २०/२५ गीत गाइसकेका छन् भने करिब ३०/४० वटा गीतमा संगीत भरेका छन् । उनले विभिन्न अर्वाट तथा सम्मान प्राप्त गरिसकेका छन् । यस गीतले पनि स्रोताको मन जित्नेमा उनी ढुक्क छन् ।