– दृश्य
राजीव मसन्दले ‘अक्टोवर’ फिल्मको समीक्षामा भनेका थिए–’ह्वेन द मुभि वाज ओभर, आइ जस्ट वान्टेड टु बि एलोन’ आज ‘प्रकाश’ हेरिसकेपछि मलाई पनि त्यस्तै एक्लै हुन मन लाग्यो । सिटबाट उठ्न मन लागेन । घर पनि एक्लै फर्कन मन लाग्यो । बाटोभरि एक्लै टोलाएर फर्किएँ ।
दाइ भन्दै थियो, ‘म केही बोल्दिनँ है । मलाई बोल्न गाह्रो भइरहेको छ । मेरो घाटीमा खै के अड्किरहेको छ । शायद बोलें भने आँसु झर्न सक्छ ।’ मैले उसको कुरा बुझिरहेको थिएँ । किनभने मलाई पनि त्यस्तै केही भइरहेको थियो ।
अन्तिमपटक ‘पशुपतिप्रसाद’ हेर्दा हाम्रो यस्तो हालत भएको थियो । यो केवल फिल्म हेरेर आएको भावुकता थिएन । यो त ती सबै वास्तविक पात्रहरूको पीडाले घोचेको दुखाई थियो । दया र करुणाभन्दा पनि पर…‘इम्प्याथी’ ।
हल खचाखच थियो । सुरुको एउटा दृश्यमा कट्टु फाटेको सिनमा सिट्ठी बजेपछि मलाई लागेको थियो– झुर हुने भयो । फिल्म अवधिभर यस्तै हल्ला भयो भने त मजा सबै हराउनेछ । यो पक्कै ‘मास मुभी’ होइन । तर, त्यसपछि अन्तिमसम्म कोही बोलेनन् । यस्तो सन्नाटा कि झुर फिल्ममा हुन्छ, कि शानदार फिल्ममा । ‘प्रकाश’ शानदार फिल्म हो ।
फिल्म सकिएपछि सबै दर्शकले ताली बजाएको सुन्दा मनमा झंकार उत्पन्न भयो । केका ‘आर्ट मुभी’ ! केका ‘मास मुभी’ ! केका आला दर्शक ! केका सामान्य ‘अडियन्स’ ! सबैलाई बाँध्ने त त्यही रहेछ– भावना ।
जब काठमाडौंदेखि कहिल्यै बाहिर पाइला नटेकेको मान्छे जुम्लाको कथा हेरेर भावुक हुन्छ– तब यस्ता परिभाषा र विश्लेषणहरू हावा लाग्छन् । मुख्य कुरा त ‘इम्प्याथी’ नै रहेछ ।
‘प्रकाश’ हृदय निचोर्ने फिल्म हो । प्रदीप खड्काले सबै हद पार गरेका छन् । यत्तिको अभिनय धेरैपछि नेपाली फिल्ममा देख्न पाएँ । दुई–चार वटा दृश्यमा त उठेर ताली नै बजाइदिऊँ जस्तो पनि लाग्यो । सिट्ठी बजाइदिऊँ जस्तो लाग्यो । प्रदीपलाई भेटेर अँगालुँजस्तो लाग्यो । कुनै पात्रको यति धेरै माया लागेको धेरै उदाहरण छैनन् ।
‘प्रकाश’ सपनाको कथा हो । तर, ‘प्रकाश’ ती सपनाहरूको भारीको कथा पनि हो । भारीको मात्र नभई त्यसको थिचाइको कथा पनि हो । लिन नसकिएको त्यो ‘Leap of Faith’ को कथा हो । पार गर्न नसकिएको पुलको कथा हो ।
फिल्मभरि बुख्याँचाझैँ काठका मूर्तिहरू प्रकाशलाई गिज्याइरहन्छन्, “हामी त काठ हौँ । हाम्रा सपना छैनन् । हामी मूर्ति हौँ । हाम्रा महत्त्वाकांछा छैनन् । तँ त मानिस होस् नि प्रकाश । सपना देख्न छोडिस् भने हामीजस्तै मूर्ति होलास् ।”
‘प्रकाश’ त्यो ‘अँध्यारो’को कथा पनि हो, जुन गरिबी र अभावले जन्मिन्छ । विकटता र युद्धका घाउले जन्मिन्छ । फिल्म सुरु भएर सकिने बेलासम्म ‘प्रकाश’को उज्यालो क्रमशः घट्दै–घट्दै जान्छ । तर, अन्तिममा पर्दामा अन्धकार आउँदा फिल्मले पूर्णता पाउँछ । किनभने, अन्धकार आउनु केही क्षणअघि मात्र विद्रोहको राप बलिसकेको हुन्छ । सानो झिल्को सल्किएको हुन्छ ।
फिल्म १०० मा १०० नहोला । कमजोरी होलान् । यस्तो ठाउँमा यस्तो गरेको भए हुन्थ्यो जस्तो लाग्न सक्छ । तर, फिल्म किन ‘पर्फेक्ट’ हुन प¥यो र ? कलामा किन पूर्णता खोज्छौँ हामी ? कलालाई परीक्षाको कापी जाँचेको जस्तो किन मूल्यांकन गर्छौं हामी ? कलाको पास मार्क हुँदैन । समीक्षाहरू किन लेखिन्छन् ? कलाको समीक्षा गर्ने हैसियत हाम्रो छ र ?
‘प्रकाश’ले धेरै पैसा नकमाउला । सबै समीक्षकले ‘वाह !’ नभन्लान्, तर, मलाई ‘प्रकाश’ले मनमा वर्षौँसम्म उज्यालो दिइरहनेछ । म यो फिल्मलाई सम्झिरहनेछु । प्रदीपको अबोध अनुहार दिमागमा आइरहनेछ ।