November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अस्कार जित्ने नेपाली चलचित्रले ८ लाख पाउने

3.4K

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले विश्वको प्रतिष्ठित अस्कार अवार्ड जित्ने नेपाली चलचित्रलाई ८ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बिहीवार बोर्डले २१औं वार्षिकोत्सवको अवसरमा ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको जानकारी दिँदै अस्कारमा छनौट भए २ लाख रुपैयाँ र नोमिनेशन वा अवार्ड जित्ने चलचित्रलाई ८ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै, गोल्डेन ग्लोब अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन अवार्डमा छनौट भएर स्क्रिनिङ भए १ लाख र विजेता बने २ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म पाउनेछन् । कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम जस्ता फेस्टिभलमा छनौट हुने फिचर चलचित्रले २ लाख ५० हजार र छोटो चलचित्रले १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ ।

‘स्क्रिप्ट डेभलपमेन्ट वा प्रोजेक्ट मार्केट’ जस्ता विश्वका प्रतिष्ठित ल्याबमा जाने चलचित्रलाई ३ लाखदेखि ५० हजारसम्म ‘ट्राभल ग्रान्ट’ उपलब्ध गराउनुका साथै चलचित्रकर्मीलाई बसोबास तथा नेटवर्किङका लागि २ लाखदेखि २५ हजारसम्म प्रदान गरिने बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिए । अर्थ मन्त्रालयबाट कार्यविधि पास भएसँगै ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको हो ।

Advertisement

आर्थिक वर्ष ०७८/७९ को बजेटमा सरकारले स्टोरी बैंकको अवधारणलाई अगाडि बढाउने निर्णय गरेको थियो । जसका लागि बोर्डले चाँडै स्क्रिप्ट आह्वान गर्ने तयारी थालेको छ । यसरी आएका स्क्रिप्टमध्ये ३ स्क्रिप्टलाई नगद सहयोग गरिने बोर्ड अध्यक्ष दाहालले बताए । उनले काभ्रेको साँगामा बन्न लागेको चलचित्र स्टुडियो पनि चाँडै टेन्डरको प्रक्रियामा जान लागेको जानकारी दिए ।