November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एक दर्जन फिल्म रिलिज गर्ने तयारीमा जिजिए ग्रुप

2.3K

कोरोनाका कारण ९ महिना बन्द भएर खुलेको फिल्म क्षेत्र विस्तारै पुरानो लयमा फर्किँदैछ । लकडाउन अगाडिभन्दा अहिले फिल्म निर्माणमा गति आएको छ । त्यस्तै, निर्माण भएका एकपछि अर्को फिल्मको प्रदर्शन मिति घोषणा भइरहेका छन् ।

तर, पुष १० गतेबाट खुलेका सिनेमा हलमा दर्शकको उपस्थिति उत्साहजनक नहुँदा कति निर्माताहरु फिल्मको रिलिज तोक्न हतारिएका छैन । यसैक्रममा केही वर्षदेखि ठूला-ठूला नेपाली फिल्मको वितरण गर्दै आएको जिजिए ग्रुपले आउँदो जेठभित्र चार महिनाका लागि पहिलो चरणमा आधा दर्जन फिल्म र दोस्रो चरणमा अर्को आधा दर्जन फिल्मको रिलिज लाइनअप घोषणा गर्ने भएको छ । रिच इन्टरटेन्मेन्ट र जिजिए ग्रुप मर्ज भएसँगै अहिले एक दर्जन बढी फिल्मको रिलिज लाइनअप तयार गरिरहेको करण श्रेष्ठले बताए ।

उनले भने- ‘कोरोनाले धरासायी भएको फिल्म क्षेत्रलाई चलायमान बनाउन अब एउटा मात्र फिल्मको रिलिज डेट घोषणा गरेर हुँदैन । अब जिजिए ग्रुपले ब्याक टू ब्याक फिल्म रिलिज गर्ने तयारी गरेको छ । अहिले हामी फिल्मको रिलिज लाइनअप बनाइरहेका छौं । आउँदो बैशाख वा जेठबाट दुई-दुई हप्ताको अन्तरमा ४ महिनाका लागि पुग्ने गरी फिल्मको रिलिज लाइनअप घोषणा गर्दैछौं ।’ यो लाइनअपमा ‘म यस्तो गीत गाउँछु २, चिसो मान्छे, तीन जन्तु, सुस्केरा, माइकल अधिकारी’ लगायतका फिल्म पर्ने उनले बताए । उनले अगाडि भने- ‘फिल्म क्षेत्रको हितका लागि हामीले फिल्मको रिलिज लाइनअप घोषणा गर्न लागेका हौं । पहिलो चरणमा भदौसम्मका लागि फिल्मको रिलिज घोषणा गछौं । त्यसपछि अर्को चरणमा बाँकी फिल्मको रिलिज लाइपअप घोषणा हुनेछ ।’  

Advertisement

अरु नेपाली फिल्मसँग नजुध्ने गरी जिजिए ग्रुपले फिल्मको रिलिज घोषणा गर्ने वितरण श्रेष्ठ बताउँछन् । यो समयमा फिल्म जुधाउनु फिल्म क्षेत्रका लागि पनि राम्रो नहुने उनको भनाई छ ।