अभिनेत्री वर्षा सिवाकोटी लकडाउन अगाडि ‘परदेशी २’ को छायांकन गरेकी लकडाउनमा फिल्म ‘श्री’ को छायांकन सकिन् । यसै हप्ता फिल्म ‘मनसँग मन’ को छायांकन सकाएकी उनले नयाँ फिल्म साइन गरेकी छन् ।
छायांकनमा जान ढिलाई भएपछि डेढ वर्ष अगाडि साइन गरेको फिल्म ‘सुदूर’ छाडेर उनले मंगलवार ‘कालिपुरुष’ साइन गरेकी हुन् । राघव आचार्यको निर्देशनमा बन्न लागेको फिल्मलाई विना कार्कीले निर्माण गर्दैछिन् । फिल्मका लागि वर्षाले मोटो पारिश्रमिक बुझेको जानकारी प्राप्त छ । राघवले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
उनले भारतमा फिल्म अध्ययनसँगै केही वेब सिरिजमा काम समेत गरिसकेका छन् । मानकृष्ण महर्जनको छायांकन रहने यो फिल्मबाट रमेश बाँनियाले नायकको रुपमा डेब्यू गर्दैछन् । सस्पेन्स थ्रिलर कथा निर्माण हुन लागेको फिल्मको कथावस्तु र आफ्नो भूमिका मन परेर ‘कालिपुरुष’ साइन गरेको वर्षाले बताएकी छन् ।
इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन फागुन अन्तिम साताबाट सुरु हुनेछ । वर्षा केही दिनमा अर्को पनि फिल्म साइन गर्ने तयारीमा छिन् ।