मनोज अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘पर्पला’ बाट नेपाली फिल्म क्षेत्रले नयाँ अभिनेत्री पाउने भएको छ । यो फिल्मबाट झापाकी निखिला बुढाथोकीले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् ।
लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी उनी पेशाले नर्स हुन् । अष्ट्रेलियामा कुशल बेली डान्सरको रुपमा चिनिने उनले थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । हलिउड अभिनेत्री सल्मा हायक, बलिउड अभिनेत्री जिनत अमात र राधिका आप्टे मनपर्ने बुढाथोकी नेपालमा भने तृप्ति नाडकर, नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनयबाट प्रभावित छिन् । भविष्यमा सफल अभिनेत्रीको रुपमा स्थापित भएर स्वदेश तथा विदेशमा आफ्नो क्षमता देखाउने चाहना रहेको उनले बताएकी छन् । उनलाई यसअघि पनि थुप्रै नेपाली फिल्मबाट अफर भएको थियो ।
अस्ट्रेलियामा नै निर्माण भएको ‘पर्पला’ को कथाले मन छोएपछि काम गरेको निखिलाको भनाई छ । अस्ट्रेलियामा घट्ने एउटा वास्तविक घटनालाई फिल्म आधारित छ । अष्ट्रेलियामा छायांकन गरिएको फिल्मको प्रस्तुतकर्तामा भानु प्रताप रहेका छन् । फिल्ममा पुकार गौतम, रोजी पन्त, ओल्गा तमरा, योगेश घिमिरे, क्रिष्टिन शेल र प्रेक्षा अधिकारीलगायतको पनि अभिनय छ । रविन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली र छवि अधिकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा शृजना लुहागुन, सरस्वती गौतम र भिम बहादुर रसाइली छन् ।
कश्मिर डिक्सनको छायांकन रहेको फिल्मको सम्पादन सुरेन्द्र पौडेल गरेका हुन् । केही समयमा प्रदर्शन मिति घोषणा गरेर फिल्मको प्रचार सामाग्रीहरु क्रमशः सार्वजनिक गरिने प्रस्तुतकर्ता प्रतापले जानकारी दिए ।