April 18, 2025, Friday
२०८२ बैशाख ६
1:37:26 pm

‘मेषी दण्ड’ले बायुङ गाउँको व्याथा झस्काई दियो नि !

किशोर बायुङ राई
२०८१ भाद्र १

28.8K

काठमाण्डौँको थापागाउँ स्थित मण्डला थियटरमा यही २०८१ साउन ५ गते देखि २७ गते सम्मको लागि नियमित र भदौ २ गते सम्मको लागि मञ्चनको समय थप गरी नाटक “मेषी दण्ड” चलिरहेको छ । मण्डला थियटरको प्रस्तुति रहेको उक्त नाटकको लेखन गिलु रातोसले गरेका छन् भने निर्देशन अनिल सुब्बाले गरेको छन् ।

नाटकको कथा आजभन्दा लगभग डेढ शताब्दी अघिको पुर्वी पहाडी जिल्ला सोलुखुम्बुको एक किरात खालिङ राई बस्तीको परिवेशमा बुनिएको छ भने कथा उक्त कथा तत्कालीन खालिङ समुदायले भोगेको भाषिक दमनको ऐतिहासिक घटनामा आधारित रहेको छ । नाटकको मुख्य विषयवस्तु राज्यको एकल भाषिक नीतिको कारणले गर्दा भाषिक औपनिवेशीकरणमा परी क्रमशः मुलवासी÷आदिवासी किराती समुदायको भाषिक, साँस्कृतिक, मनोसामाजिक, आर्थिक तथा राजनीतिक परिवेशमा पारेको पीडादायक भोगाईहरु समेटिएका छन् । तत्कालीन शासक वर्गको हुकुम मान्छौँ भनी “मेषी मकाजाले” अर्थात् खालिङ भाषामा “हुन्छ” भनी आदेशै मान्छौ भन्दा समेत शासकको भाषा इतरको भाषा बुझेनौँ भनी मेषी दण्ड तिर्नु पर्ने कतिसम्मको ज्यदति थियो होला? आफैँ कल्पना गरौँ ।

नाटक हेर्दै जाँदा गौँडा गौँडामा नमज्जाले दुखियो । गौडागौँडामा नमीठो गरी मन छोयो । ठाउँठाउँमा आक्रोशित पनि भइयो । खालिङ गाउँको कथामा बनेको नाटक हेरिसके पछि यता बायुङ गाउँको केही अनुभुतिहरुलाई एक पछि अर्को गर्दै मानसपटलमा नाच्न थाले । केही अनुभुतिहरुलाई क्रमबद्धरुपमा सम्झन मन लाग्यो ।

Advertisement

नाटकले विभिन्न मुद्दाका कुराहरु उठाएको छ । जसमा खालिङ मातृभाषामाथिको अतिक्रमण पनि एक हो भन्दा फरक नपर्ला । नाटकमा क्रमशः खालिङ मातृभाषाले व्यहोरेको संवेदनशील विषय उठान गरिएको छ । यही शिलशिलामा नाटकको जन्म भएको भुगोलको दक्षिणतिर अवस्थित बायुङ मातृभाषाले व्याहोरेको दुःखदायि कुराको विवेचना गर्न मन भयो।

हामी सानै छादाँको बखत विद्यालय पढ्दाताका एउटा खुब हस्यौँलीमा सुनिन्थ्यो । किराती बस्तीहरुमा “कुखुराले दिसा गर्नु भएछ । सर आइस । लु बस है ।” भनेर पढाउने शिक्षकहरुलाई पिरा दिन्छन् । त्यतिबेला उक्त कुराको प्रसंगमा गलल्ल हाँसिन्थ्यो । तर अहिले गहिरिएर सझिँदा आफैँले आफैँलाई खिल्ली उडाइएछ भन्ने महसुस हुन्छ । त्यतिबेला ख्यालख्यालमा यो कुराले हाम्रो बालमानसिकतामा कतिबेला तिमी बाजीलो(बायुङ राई भाषामा खस नेपाली भाषा) बोल्न नजान्नु भनेको भुद्दु हुनु हो भन्ने कुरा दिमागमा भरिएछ । त्यसपछि आफ्नै मातृभाषा बोल्ने कुरा छाडेर नेपाली सुधार्न तिर लागिएछ । कस्टैले नेपाली भाषा बोलिन्थ्यो । यति सम्म कि कक्षा १०को फलामे ढोका भनिने एस्.एल.सी. गरिसकेपछि पनि नेपाली भाषा बोल्दा आफ्नो मातृभाषा(बायुङ राई भाषा) मिसाएर बोलिन्थ्यो । सरासर नेपाली बोल्न अकमकिइन्थ्यो । यसरी मातृभाषा मिसाएर बोल्दा अहिलेको भाषामा भन्नुपर्दा हामी धेरै ट्रोलको सिकार बन्नु परेको थियो । यसरी ट्रोल बनेको धेरै घटनाहरु छन् ।

घटना एकः नि.मा.वि तहमा आध्ययनक्रमको समयमा एक दिन बायुङ मातृभाषी साथीको घरमा सखरखण्ड खन्दा हातमा सखरखण्डको चोप लागेछ । जति धुँदा पनि गएन रहेछ । भोलिपल्ट उ त्यस्तै चोप लागेको हात लिएर विद्यायलमा आएछ । विद्यालयमा साथीभाईहरुले उसको हातमा कालो दाग लागेको देखेछन् र सोधि हालेछन्। के भयो तेरो हातमा? अनि उसले जवाफमा भनेछ, “पार्कुतीको चोप लागेको नि।” त्यसपछि उक्त साथी ट्रोलको सिकार भयो । किनभने उसले “सखरखण्ड” भन्ने ठाउँमा मातृभाषाको “पार्कुती” भनेर मिसाएको थियो । उसलाई “ओई पार्कुतिको चोप” जिस्काइरहिन्थ्यो । हाँसीमजाक गरिन्थ्यो । विद्यालयमा भन्दा पनि आफ्नै गाउँघर र समुदायमा पनि हाँसिमजाक गरिन्थ्यो ।

घटना दुईः एकजना महिला विद्यार्थी हुनुहुन्थ्यो । हामी भन्दा केही ब्याच अघिको । एकदिन उहाँ विद्यालयबाट फर्कदै हुनुहुन्थ्यो रे । बाटोमा हिँड्दै गर्दा कुनातिर एउटा प्वाँलमा सर्प पस्दै गरेको देख्नु भएछ । सर्प देखेपछि अत्तालिँदै उहाँले भन्नु भएछ, “आब्बुई टटामा बुसा।” अर्थात् “आब्बुई प्वाँलमा सर्प।” त्यसपछि उहाँको उक्त भनाई पनि पहिलो घटनाको कुराहरुझैँ अरुमाझ हाँसिमजाकको विषय बन्यो ।

यसरी एक भाषाको व्यापकताले आफ्नै थातथलोमा बायुङ भाषाले स्वयं मातृभाषीको मुख र मगजबाट तल्लोस्तरको भाषाको रुपमा भाषाको रुपमा सोचिन बाध्य बन्न पुग्यो । यसरी विस्तारै अतिक्रमित हुन गएको मातृभाषा आज त नेपाली, अंग्रेजी, कोरियन लगायतको भाषाहरुले गर्दा अझ सिमान्तकृत हुन पुगेको छ ।

मेरो पुस्ता गाउँघरमा हुर्किदै गर्दा गाउँघरमा सबै कुराहरु आफ्नै मातृभाषामा गरिन्थ्यो । कति त समुदाय इतरको मान्छेहरु पनि बायुङ भाषामा हामीजस्तै मज्जाले बोल्नेओर्ने गर्नुहुन्थ्यो । हामीलाई केही मगर बोजुहरुले बायुङ भाषामै बोलाउनु हुन्थ्यो । केही शेर्पा काकाहरुले पनि बायुङ भाषामै बोलाउनुहन्थ्यो । एकजना राउत साथीसँग त झन् बायुङ भाषामै तँतँ मम गर्ने गथ्र्यौँ । प्रायजसो सबैजसो बायुङ राई इतरको मान्छेहरुले पनि बुझ्नु हुन्थ्यो । फर्काउन चाहिँ सबैले सक्नुहुन्न थियो । त्यतिबेला घरमा परिवारको सदस्यहरुबीच मातृभाषामै कुराकानी हुन्थ्यो । बालबालिकाहरुलाई बोलाउदा नि मातृभाषामै बोलाइन्थ्यो । घरमा कुखुरा धपाउन परे । सुँगुरलाई धपाउन पाए । कुकुरलाई बोलाउनु परे । गोठ र गोठालामा चौपायलाई बोलाउन परे बायुङ भाषा नै प्रयोग गरिन्थ्यो ।

कुखुरालाई धपाउन परे “हरेहरे लाने है ब्व्आर्देरो।” अर्थात् “उता उता जाऊ है ब्व्आर्देरो(कुखुरालाई गाली गर्दा प्रयोग गरिने बायुङ भाषाको शब्दावली) भनिन्थ्यो । सुँगुरलाई गाली गर्नु परे “छुछु पोसेखान रा ब्यक्ता छा है।” अर्थात् “ छुछु(सुँगरलाई धपाउदा बोलिने शब्दावली) पोसोखान(सुँगुरलाई गाली गर्दा प्रयोग गरिने बायुङ भाषाको शब्दावली) त मरेछ है भनिन्थ्यो । ” कुकुरलाई बोलाउनु पर्दा “कुुति कुति एकरे पिऊ” अर्थात् “कुतिकुति यता आइज” भनिन्थ्यो । त्यसैगरी गोठालामा चौपायलाई बोलाउदाँ “ओइजु ओइजु ठोऊ ठोऊ खिमला गङ्ने है नाम दोक्ता ।” अर्थात् “ओइजु ओइजु ठोऊ ठोऊ! घरतिर हिँड है साँझ प¥यो।” भनेर बोलाइन्थ्यो । यसरी त्यतिबेला बोलिने बायुङ भाषा आज आफ्नै गाउँमा घरपरिवारमा समेत बोल्न छाडिँदै गएको छ । नयाँ पिँढीका छोराछोरी र नातिनातिनाहरुलाई बायुङ भाषामा भन्दा बढी खस नेपाली भाषामा बोलाइन्छ । शिक्षित बुबाआमाहरु भएको खण्डमा त सकभर अंग्रेजीमा बोलाइन्छ । परिणामस्वरुप आजको धेरै नयाँपुस्ताहरुले आफ्नो बायुङ मातृभाषा बुझ्ने तर मातृभाषामा दोहोरो बार्तालाप गर्न नसक्ने अवस्था पुगेको छ । यसरी लगभग तीन दशकको समयभित्र नै भाषिक क्षयिकरण यस्तो संवेदनशील अवस्थामा बायुङ मातृभाषा पनि पुगेको छ।
नाटक मेषी दण्डमा प्रस्तुत गरिएको अर्को विषय तुम्लो(मुन्दुम) दर्शन र संस्कृति माथिको अतिक्रमण पनि हो । नाटक हेर्नुहुने जो कोहीले पनि उक्त कुरा महसुस गर्नु भयो होला । त्यही भएर नाटक अविधिर कुनै ठाउँ भावुक बनाउदछ । कुनै ठाउँमा आक्रोशित बनाउदछ । त्यसैगरी उहिले बायुङ राईहरुले आफ्नो पितृ कार्जे सेग्रो पुज्दा तत्कालीन शासक वर्गसँग भएको अप्ठ्यारो सप्ठ्यारो कुराहरुको सन्दर्भ हेर्दा एक अध्ययनको पाटो बाँकी नै छ । तर हालको समकालीन समयमा बायुङ राईहरुको तुम्लो(मुन्दुम)मा आधारित दर्शन र संस्कृतिहरु पनि सीमान्तकृत हुँदै गइरहेको अवस्था छ ।

पहिले बाजेहरुको पालामा सेग्रो पुज्दा तुम्लोहरु धेरै राम्ररी गरिन्थ्यो । सेग्रो सिलीहरुको रौनक गज्जब लाग्थ्यो । झःरझःसी(बायुङ राईको साँस्कृतिक भेषभुषा) घरमै तान बुनेर बनाउदथेँ । सिक्दै गरेका नक्स(पितृकार्जेको मुन्दुम गर्ने धामी) र झाम्चा(विजुवा)हरुको ज्ञान र कौशलता तिखार्ने उत्कृष्ट ङाबुचा(झाम्चा नक्सहरुको तुम्लोको अनुष्ठान विधिपुर्वक भयो भएन भनी ध्यानपुर्वक हेर्ने र पथप्रदर्शन गर्ने मुन्दुमविद)हरु हुनुहुन्थ्यो । मोका(पितृप्रसाद) ग्रहण गरेपश्चात विधिपुर्वक बार्ने प्रचलनहरु उत्कृष्ट थिए । मुन्दुमी दर्शनहरु पालना गर्ने प्रचलनहरु धेरै थियो । पितृकार्जेहरुमा चोखो लिङ्खाम(किराती मर्चा) प्रयोग मात्र हुन्थ्यो । कीकी(बाजे)पीपी(बोजु)हरुको मामापापा(आमाबुबा)हरुको पालोसम्म त पितृलाई चढाउन र आफुले सेवन गर्नु प्रोचा लिङ्खामको मात्र प्रयोग हुन्थ्यो रे । कीकीपीपी(बाजेबोजु)को पुस्ताहरुमा आउदा लुचालिङ्खाम(शेर्पा समुदायले बनाएको मर्चा) आफूले सेवन गर्नको लागि उपयोग गर्न थालियो । कीकी पीपीहरुको पुस्ता पछि हाल हाम्रै मामापापा र हाम्रो पालामा आइपुग्दा अनेकथरी बजारे पेयपदार्थ पनि सेवन गर्न थालिएको छ। यसरी बायुङ गाउँहरुमा बायुङ राईको संस्कार संस्कृतिमा विस्तारै मौलिकताको वासाना पातलिँदै गएको भान हुन्छ ।

नाटकमा प्रस्तुत भएको अर्को विषयवस्तु भने रैथाने आर्थिक तथा सामाजिक व्यवस्था माथिको क्षयिकरण र परिवर्तन पनि हो । नाटकमा भाषा खस भाषा सिकाउनलाई ल्याइएको पात्रसँग अन्य पात्र पनि आउछन् । जसले गर्दा स्थानीय समुदायमै सिलाईको काम गर्ने पात्रले आफ्नो परम्परागत ज्ञान भएको पेसा छाड्न बाध्य हुने कुरा देखाइएको छ । समयले ल्याएको बाहवसँग बायुङ राई समुदायमा पनि यस्तो आर्थिक तथा सामाजिक उतारचढावहरु आएको उदाहरणहरु पाइन्छ । पहिले पहिले प्रायजसो तान बुन्ने प्रचलन अधिक थियो रे । त्यसपछि हामीले अलिकअलिक जान्दा छिटपुटमात्रमा तानहरु बुनिन्थे । तर अहिले एकदम कम मात्रमा बुनिन्छ । त्यस्तैगरी अहिलेको रोजगारको अवसर खोजी र बसाईसराईले झन् आर्थिक समाजिक अवस्थाहरुमा धेरै परिवर्तन ल्याएको छ ।

मौखिक परम्परामा आधारित समाजमा एकजना ज्ञानयुक्त मान्छे बित्नु भनेको पुरै पुस्ता नै बित्नुजस्तो हुने रहेछ । हाम्रो किरात समुदायमा पनि त्यही भइरहेको छ । पुरानो पुस्ता गल्दैछ । नयाँ पुस्ता हस्तान्तरण हुनु पर्ने तुम्लो(मुन्दुम)को ज्ञान, सीप र कौशलताहरु विस्तारै क्षयीकरण हुँदै गएका छन् । यसले गर्दा केही दशकमा करङबाट ल्याउनु पर्ने तुम्लो(मुन्दुम) करङबाट त के? लेखेको कै भए पनि भाँती पुराएर विधिपुर्वक सम्पन्न गर्न समेत चुनौती हुने देखिएको छ ।

अन्त्यमा, वरिष्ठ गीतकार श्रवण मुकारुङद्धारा रचित तथा हालसालै चार्चित “राई माइला” गीतमा भनिएको शब्द “मान्छे जाँदा एक्लै कहाँ जान्छ। उसले गाउने गीत पनि सँगै लान्छ” भनेझैँ एउटा समय जाँदा धेरै थोक लगेर जाँदो रहेछ । त्यसैगरी “एउटा समय पनि आउदा एक्लै कहाँ आउदो रहेछ र? साथमा उसले ल्याउने अदृश्य धेरै कुराहरु लिएर आउदो रहेछ । जसले त्यहाँ स्थानीय स्तरमा रहेको रैथाने सभ्यातको सम्पदाहरुलाई सीमान्तकृत बनाउदो रहेछ ।” तथर्स यस विषयमा एउटा मुलवासी÷आदिवासी÷जनजातिको भाषा, धर्म, कला, दर्शन, संस्कार र संस्कृति भनेको सम्बन्धित समुदायको पहिचान र सम्पत्ति त हो नै साथै यी कुराहरु भनेको सिंगो राष्ट्रकै सम्पत्ति पनि हो । तसर्थ राष्ट्रियस्तरबाट नै यस्ता सम्पत्तिहरुको संरक्षण, संवद्र्धन र विकासमा ध्यान दिनु जरुरी छ ।