काठमाडौं । नेपाल पूर्वप्रहरी कलाकार संघले स्रष्टाहरूलाई सम्मान गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर संघले गीतसंगीत र कलाका गुरुहरूको स्मृतिमा कला, साहित्य साधनामा स्थापित स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
आइतबार नेपाल प्रज्ञाभवनमा आयोजित उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभकुमार थापा रहेका थिए ।
उनले चेतन कार्की गीति वाङ्मय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई, गोपाल योन्जन संगीत साधना पुरस्कार संगीतकार शिलाबहादुर मोक्तानलाई, हाडा एन्ड पाल हास्री वाङ्मय पुरस्कार कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरेका थिए।
कार्यक्रममा सर्जक कलाकार गुरुका परिवारका तर्फबाट श्रीमती गंगा कार्की, श्रीमती रेन्चन योन्जन, राजपाल थापाका सुपुत्र कपिल थापा र श्रीमती हाडाको उपस्थिति रहेको थियो ।
यसैगरी कलाकार नीर शाह, बसुन्धरा भुषाल र भूवन चन्द थापाले पुरस्कृत साधकहरूलाई क्रमशः सम्मान गरेका थिए ।
सो सम्मान संस्थाका संस्थापक संरक्षक क्षेत्रबहादुर गुरुङबाट भएको थियो भने संस्थाको वरिष्ठ सल्लाहकार कलाकार तथा पुरस्कार संस्थापक मिथिला शर्मा बोहराले सम्पूर्ण गुरुहरूप्रति आभार र श्रद्धा व्यक्त गर्दै गुरुहरूको ऋण कहिल्यै पनि तिर्न नसकिने बताउँदै गुरुभेटी चढाएर उनीहरूले देखाएको मार्गमा हिड्ने प्रयास मात्रै भएको बताएका थिए ।
कार्यक्रममा कोषाध्यक्ष गीता गुरुङबाट कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिएको थियो ।
राष्ट्रगानबाट प्रारम्भ गरिएको कार्यक्रममा दिवंगत पूर्वप्रहरी कलाकारहरूलाई सम्झदै एक मिनेट मौनधारण गरिएको थियो ।
अभिनन्दन र पुरस्कार वितरण पछि संस्थाका संरक्षक कलाकार क्षेत्रबहादुर गुरुङको टिमले नेपाली शिरपोश टोपीको गीत गाएर कार्यक्रम समाप्त भएको थियो ।