November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

निकेश खड्का मेरो ‘लक्की चार्म’-यशकुमार

1.5K

काठमाडौं । गायक यशकुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘हिरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार काठमाडौंको कमलादीस्थित राइजिङ मलमा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो ।

निकेश खड्काको निर्देशन रहेको यस भिडियोमा गरिमा शर्मा, दीपेन्द्र सोनम र रोजेन सुन्दासको अभिनय रहेको छ । भिडियोमा त्रिकोणत्मक प्रेम सम्बन्धलाई देखाएको छ । यशकुमार अतिथि भूमिकामा रहेको यस भिडियो सन्देशमूलक पनि रहेको छ । भिडियो यशकुमार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै गायक यशकुमारले आफूलाई सधैं पत्रकारहरुको साथ रहेको बताए । “मलाई हिजो पनि तपाईँहरुको साथ थियो, आज पनि छ र भोली पनि रहने विश्वास छ”, उनले भने, “मैले गर्ने सानासाना कार्यक्रममा पनि उपस्थित भएर सहयोग गर्नुहुन्छ, यशकुमारले यही देशमा टिकाउनुपर्छ भनेर पनि हुनुसक्छ, माया पाएको ।”

Advertisement

यस्तै निर्देशक निकेश खड्कासँगको सहकार्य राम्रो बनेको पनि यशकुमारको दाबी थियो । उनले भने, “निकेश खड्कालाई म लक्की चार्म ठान्छु, जोसँगको कुनैपनि सिर्जना त्यसै खेर गएको छैन । सबै सिर्जनाले उत्तिकै माया पाउन सफल भएको छ ।”, उनले थपे, “सिर्जना उत्कृष्ट भएर मात्र हुँदैन, ग्रह पनि मिल्नुपर्छ । त्यसैले पनि म निकेशलाई लक्की चार्म भन्न रुचाउँछु ।” गरिमा शर्मासँग भने पहिलोपटक सहकार्य भएको उनको भनाइ थियो ।

निर्देशक निकेश खड्काले पनि यशकुमारसँगको सबै सहकार्य सफल भएको स्वीकार गरे । “यश दाइ र मेरो सहकार्य ‘तिम्रो मन बदलिएछ’ पछि सुरु भई निरन्तर ‘हिरो’ सम्म आइपुगेको छ । दाइ र मेरो सबै सहकार्य अहिलेसम्म राम्रै भएको छ ।”, खड्का थप्छन् “दाइ पनि मेरो लक्की चार्म हुनुहुन्छ । मैले वहाँको गीत ‘तिम्रो मन बदलिएछ’ बाट फड्को मारेको हो । त्यसमा काम गरेपछि मलाई धेरै अफर आएको थियो । यसलाई म मेरो म्युजिक करियरको टनिङ पोइन्ट भन्छु ।”

भिडियोबारे बोल्दै अभिनेत्री गरिमा शर्माले यशकुमार आफैमा ब्राण्ड रहेको बताइन् । “अडियोको त के कुरा गर्नु ? यश दाइ जोडिने वित्तिकै एउटा ब्रान्ड बनिहाल्छ । त्यसमा कन्सेप्चुवल काम गर्दा म अलिक मज्जा फिल गर्छु । वहाँको धेरैजसो भिडियो यस्तै कन्सेप्चुअल र स्टोरी बेसको भिडियोहरू हुन्छन् । यो भिडियोको कन्सेप्ट सुनेर म एक्साइटेड थिएँ, त्यसमाथि यश दाइको गीत भनेपछि एक्साइटमेन्ट थपियो ।”

यस्तै, भिडियोका मोडल दीपेन्द्र सुन्दासले यो आफ्नो पहिलो भिडियो रहेको र पहिलो प्रोजेक्ट नै यशकुमारसँग गर्न पाउदा खुशी भएको बताए । उनले भने, “यस क्षेत्रमा यो मेरो पहिलो पाइला हो, पहिलो पाइलामै मैले यश दाइको हात समाउन पाएँ । म खुशी छु ।” उनले आफू नयाँ भएको हुँदा भर्खरै सिकिरहेको बताउदै सहयोगको अपेक्षा पनि राखेका थिए ।

अर्का मोडल रोजेनले पनि आफू बच्चैदेखि यशकुमारको फ्यान भएको उल्लेख गरे । उनले भने, “जबदेखि मैले म्युजिक जाने÷बुझें, तबदेखि मैले यशकुमारको गीत जानीनजानी धेरै टाउँ गाएको छु । यशकुमारलाई भेट्ने ठूलो सपना थियो, आज यही क्षेत्रमा काम गर्दागर्दा वहाँको यत्ति ठूलो प्रोजेक्टमा काम गर्न पाएँ, म दाइलाई एकदम धन्यवाद दिन चाहन्छु ।”
कार्यक्रममा यशकुमारकै शब्द, संगीत तथा स्वर रहेको गीत ‘हिजो अर्कैसँग देखें’ को फिमेल भर्सनको स्टुडियो भिडियो पनि सार्वजनिक गरिएको छ । यस गीतलाई गायिका स्मिता प्रधानले गाएकी छन् ।

यस भिडियो पनि यशकुमार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।